काठमाडाैं । आज १९ अगस्ट, विश्व फोटोग्राफी दिवस । यो दिवस केवल क्यामेराको क्लिक वा सुन्दर तस्बिरहरुको संग्रह मात्रै होइन, यो त एउटै तस्बिरले हजारौं शब्दभन्दा बढी बोल्न सक्छ भन्ने विश्वासको दिवस हो ।
इतिहासमा फोटोग्राफरको एउटा फोटोले ठूल्ठूला युद्धहरु रोक्न बाध्य मात्रै बनाएको छैन, आमनागरिकको मौन विद्रोहलाई विश्वव्यापी आवाज समेत दिएको छ ।
यो दिनलाई संसारभरका फोटोग्राफरहरूले आफ्नो कलाको सम्मानको दिनको रुपमा मनाउँछन् । उनीहरु तस्बिरमार्फत् आफ्नो दृष्टिकोण र विचार विश्वलार्य बताउँछन्, तस्बिरको माध्यमबाट मानवताको कथा सुनाउँछन् ।
आज यही विश्व फोटोग्राफी दिवसको अवसरमा रुकुम पूर्वका फोटोग्राफर दिलचन पुनले आज बिहानै लेकको जीवनलाई आफ्नो क्यामेरामा कैद गरेका छन् ।
समुद्री सतहबाट ४,००० मिटरभन्दा अग्लो चुङरी बुकीको निर्मल आकाशमुनि रहेको भेडीगोठका तस्बिरहरु पुनले खिचेका छन् । उनका तस्बिरहरुले प्राकृतिक सुन्दरता र ग्रामीण जीवनबीचको तादम्यताको कथा भन्छन् ।
पुथा उत्तरगंगा गाउँपालिका–११ का धर्मशीर बुढा लगायत आठ परिवार अहिले चुङरी बुकिमा भेडाहरु लिएर पुगेका छन् । उनीहरू हरेक वर्ष जेठको हरियालीसँगै आफ्ना सयौं भेडाहरूलाई लेक पुर्याउँछन् । भदौको चिसो सुरु भएपछि मात्रै उनीहरू औलतिर झर्छन् ।
दिलचन पुनका यी तस्बिरहरूमा तपाईं कुहिरोको घुम्टो ओढेर बसेका पहाडहरू, हरियो बुकीमा छरिएका मोतीजस्ता भेडाहरू र गोठालाहरूको सादगीपूर्ण तर संघर्षशील जीवनको प्रतिबिम्ब देख्न सक्नुहुन्छ । तस्बिरहरुमार्फत् हेर्नुहोस् भेडीगोठका जीवन्त दृष्य :
तस्बिर : दिलचन पुन


Leave a Reply