विद्याको वचन- एमालेको सदस्यकै रूपमा राष्ट्रिय एजेण्डामा काम गर्छु, मोरङ मेरो गृहजिल्ला हो

विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले मोरङको पार्टी कार्यालयमा कार्यकर्तालाई सम्बोधन गरेकी छन् । यद्यपि जिल्ला कमिटीका नेताले औपचारिक कार्यक्रम नराखिएको बताएका छन् ।

एमाले पूर्व उपाध्यक्षको हैसियतमा सम्बोधन गरेकी उनले देशको आर्थिक आत्मनिर्भरता र राष्ट्रिय हितलाई सर्वोपरि राखेर अगाडि बढ्न आग्रह गरिन् । आफू पुनः पार्टीको सदस्यको रूपमा सक्रिय रहेको बताउँदै भण्डारीले भनिन्, ‘राष्ट्रपतिमा निर्वाचित भएपछि राष्ट्रिय जिम्मेवारीका कारण पार्टी कार्यालयमा आउन पाइनँ । पदबाट निस्किएपछि पार्टी सदस्यता नवीकरण गरेँ ।’

४५ वर्षअघि एमालेको सदस्यता लिएको भन्दै उनले पार्टी सदस्य पनि विराटनगरबाटै भएको र शपथ खाएको स्मरण गर्दै विराटनगर, मोरङ गृहजिल्ला, गृहनगरजस्तो लाग्ने बताइन् ।

नेपालको राष्ट्रियता, सार्वभौमिकता र भौगोलिक अखण्डता कायम राख्न आर्थिकरूपमा आत्मनिर्भर हुनुपर्नेमा जोड दिँदै उनले एमालेको सामान्य सदस्यमात्रै भएर पनि राष्ट्रिय एजेन्डामा काम गर्ने बताइन् ।

उनलाई पार्टी कार्यालयमा केन्द्रीय सदस्य रामलाल साह, मोरङ अध्यक्ष अजम्बर राईसहितका नेता तथा कार्यकर्ताले स्वागत गरे । भण्डारीले पार्टी कार्यालय परिसरमा रहेको मदन-आश्रितको सालिकमा माल्यार्पण गरिन् ।

सो अवसरमा साह, राईसहित पार्टीका जिल्ला उपाध्यक्ष सागर थापा, सचिव सोमराज थापासहितका नेता पाञ्चाली पुगेका थिए ।

Comments

One response to “विद्याको वचन- एमालेको सदस्यकै रूपमा राष्ट्रिय एजेण्डामा काम गर्छु, मोरङ मेरो गृहजिल्ला हो”

  1. Ramesh Sharma Avatar
    Ramesh Sharma

    विद्याजीले साच्चै एमालेको राजनीतिमा आउने हो भने सवैभन्दा पहिले बन्दुक र बर्दीधारी अङ्गरक्षकलाई त्याग्नु पर्यो । राज्यको सवैभन्दा मर्यादित ओहोदाको सुबिधापनी चाहिने अनि राजनीति पनि गर्न खोज्ने! दुवै कुरा कसरी सम्भव छ र ? अब राजनीति पनि तल्लो तहको कमिटीबाटै त शुरु हुने होलानी त ! माथील्ला कमिटीमा त खासै संभावना देखिएन । राष्ट्रपतीबाट अवकाश अनि पुनः कार्यालय सहयोगी मा भर्ना !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *