विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमाले मोरङको कार्यालय पुगेकी छन् ।
भण्डारी विराटनगर ओर्लिएसँगै भण्डारीलाई पार्टी कार्यालय लैजाने कार्यसूची बनेको थियो । एमाले मोरङ र कोशी प्रदेशको कार्यालय विराटनगरस्थित पाञ्चालीमा रहेको छ ।
एमालेकी पूर्वउपाध्यक्ष समेत रहेकी भण्डारी १० वर्षपछि मोरङको पार्टी कार्यालय पुगेकी हुन् । त्यहाँ उनले मदन-आश्रितको सालिकमा माल्यार्पण गरिन् । एमाले मोरङका सचिव सोमराज थापाले पूर्वराष्ट्रपति भण्डारीको औपचारिक कुनैपनि कार्यक्रम नरहेको बताए ।
‘उहाँले काठमाडौं फर्कनुअघि पार्टी कार्यालय भवन अवलोकन गर्ने कार्यक्रम राखिएको हो’, उनले भने ।

एमाले मोरङका अध्यक्ष अजम्बर राई, सचिव सोमराज थापालगायत पदाधिकारी सबै कार्यालयमा पुगेका छन् । जिल्ला कमिटीमा संस्थापन इतरको पकड छ ।
भण्डारी पार्टी कार्यालयमा पुग्दा एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राई र प्रदेश अध्यक्ष घनश्याम खतिवडा भने देखिएनन् । राई केही दिनदेखि काठमाडौंमा छन् । यस्तै खतिवडा एमाले सङ्खुवासभाको बैठकमा सहभागी हुन खाँदबारी गएका छन् ।
भण्डारी पाटी कार्यालय जाने विषयमा आफूहरूसँग औपचारिक जानकारी नआएको प्रदेश अध्यक्ष खतिवडाले बताए ।
जिल्ला समितिले भने पार्टी कार्यालयमा भण्डारी आउने भएकाले स्वागतमा सहभागी हुन भनेको थियो ।
महानगर इन्चार्ज परशुराम बस्नेतले पार्टी कार्यालयमा कार्यकर्ता भेला नभएको भन्दै त्यहाँ नजान सामाजिक सञ्जालबाट उर्दी जारी गरेका छन् ।


Leave a Reply