तातोपानी स्थित इकु पहिरो व्यवस्थापन गरी नाका खोल्न अर्थमन्त्रीलाई रास्वपाको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तातोपानी नाका जोड्ने कोदारी राजमार्ग अन्तरगत इकुमा पहिरो गएर सडक अवरुद्ध भएकोप्रति अर्थमन्त्रीको ध्यानाकर्षण गराएका छन्। रास्वपा सांसद तथा उद्योग वाणिज्य विभाग प्रमुख गणेश पराजुलीले अर्थमन्त्री विष्णु पौडेललाई भेटेर ६००–७०० कन्टेनर नाकामा अलपत्र परेको जानकारी गराएका हुन्।

ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘उक्त परिस्थितिबाट हजारौँ उद्यमी व्यवसायीहरूले चाडपर्व लक्षित आयातित सामान समयमा बजारमा पुराउन नसक्दा अरबौँ रूपैँयाको क्षति बेहोर्नु परेको छ, साथै कयौँ व्यवसायीहरू बैङ्कको कालोसूचीमा पर्न बाध्य भएको छन भने मानसिक पीडाका कारण केही व्यवसायीहरूले जीवन त्याग्न बाध्य भएको दुखद खबर सुन्नमा आएको छ।’

विपद्का कारण, प्रत्यक्ष रूपमा राज्यको राजस्व र समग्र अर्थतन्त्रमा नकारात्मक असर मात्रै परेको नभई चाडपर्व नजिकिँदै गर्दा उपभोक्ता मुल्यवृद्धसँगै कालोबजारीको मारमा पर्न बाध्य हुने अवस्था सिर्जित भएको उल्लेख गरेका छन्।

तत्कालका लागी तातोपानी स्थित इकु पहिरोको व्यवस्थापन गरी उत्तरी नाका र नाका–पारि रहेका कन्टेनरलाई काठमाडौंस्थित चोभारको सुख्खा बन्दरगाहमा ल्याएर भन्सार जाँच–पास गरी व्यवसायीलाई राहत दिलाई समयमानै बजारमा सामान पुर्‍याउने सुनिश्चितता गर्न रास्वपाको माग छ।

यस्तै, बाढीले नोक्सान पुर्‍याएका टिमुरे भन्सार यार्डमा पुरिएका १८ कन्टेनरको क्षतिपूर्ति सम्बन्धित व्यवसायीहरूले समयमा पाउने व्यवस्था मिलाउन र चिन सरकारले निर्माण गर्न लागेको केरुङ राजमार्गको बेलिब्रिज तथा नेपाल– चीन मितेरी पुल समयमै सम्पन्न गरी रसुवागढी नाका स्थित सुख्खा बन्दरगाहलाई यथाशक्य चाँडो सञ्चालनमा ल्याउने समेत माग गरेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *