काठमाडौं । स्थापनाको ६ महिनापछि राष्ट्रिय सहकारी नियमन प्राधिकरणको बोर्डले पूर्णता पाएको छ । सोमबार नवनियुक्त दुई सदस्यले पद तथा गोपनीयताको शपथ लिएसँगै प्राधिकरणले पूर्णता पाएको हो ।
२०८१ माघ १४ गते स्थापना भएको प्राधिकरणको अध्यक्ष डा. खगराज शर्मा रहेका छन् । उनलाई प्राधिकरणको अध्यक्षमा गएको असार ३१ गते नियुक्त गरिएको थियो । त्यसबाहेक सदस्यमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल र सदस्यमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव मदन कोइराला रहेका छन् ।
सहकारी विज्ञ सदस्यमा डा. रमेश चौलागाई र चार्टर्ड एकाउन्टेन्टको तफएबाट सदस्यमा सी.ए महेश खनाल नियुक्त भएका छन् । सोमबार उनीहरूलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पद तथा गोपनीयताको शपथ खुवाएका थिए ।
अब प्राधिकरणले पूर्ण क्षमताका साथ काम गर्न थाल्ने प्राधिकरणका अध्यक्ष डा. खगराज शर्माले बताए । ‘विभागले निकालेको तथ्यांक हेर्दा पनि करिब ३३ हजार सहकारी छन् भनेका छौँ । बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरू ७५ प्रतिशत छन् भन्ने पनि विभिन्न भनाइ छन् । सुरुवातमा हामी दर्ता गर्दै छौँ र त्यो आधारमा यकिन सङ्ख्या आउला’, उनले भने, ‘यी सबै सहकारीमा गएर स्थलगत अनुगमन गर्न थाल्ने हो भने यो कति सम्भव होला ? यो पनि विश्लेषण गर्नुपर्ने अवस्था छ । त्यसैले हामीले आवश्यक डकुमेन्टहरू र वित्तीय अवस्था सबै कुरालाई सिस्टममा इन्ट्री गराएर हेर्छौँ ।’

अध्यक्ष शर्माले क्षेत्राधिकारभित्र पर्ने सहकारीमा नियमन र सुपरिवेक्षण गर्ने जानकारी दिए । अध्यक्ष शर्माले भने, ‘ऐनले ३० प्रतिशतभन्दा बढी बचत तथा ऋणको कारोबार गरेका सहकारीहरू हाम्रो क्षेत्राधिकार भित्र पर्छन् । प्राधिकरणको विशुद्ध रूपमा बचत तथा ऋणको कारोबार गरिरहेका सहकारीहरूको नियमन र सुपरिवेक्षण गर्ने नै काम हो ।’
करिब एक वर्षमा खास नतिजा दिनेगरि काम अगाडी बढेको उनले जानकारी दिए ।

Leave a Reply