काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकरणाशरण महतले अहिले पनि सिद्धान्त, नीति र समर्पणले हिसाबले कांग्रेसलाई चुनौती दिने अर्को पार्टी नभएको जिकिर गरेका छन् । कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको कार्यक्रमलाई सम्बोधन गर्दै नयाँ या अरू पार्टीको तुलनामा कांग्रेस नै बेस्ट भएको जिकिर गरे ।
उनले भने, ‘कुनै दुविधा राख्न आवश्यक छैन । ढुक्क भएर लाग्नुस् । कांग्रेस अहिले पनि सान्दर्भिक छ । र भोलि पनि रहन्छ । अहिले पनि सिद्धान्त, नीति र समर्पणले चुनौती दिने अर्को पार्टी छैन । मिसन ०८४ एक्लै सफल पार्न लाग्नुपर्छ । व्यवहारिक रूपमा एक्लै बहुमत ल्याउन अफ्ठेरो छ। तर पनि सर्वाधिक लोकप्रिय पार्टी बनाउने उत्साहका साथ लाग्नुपर्छ। तर हामी संगठनको सवालमा कमजोर छौँ। हामी व्यक्तिवादी भएका छौँ ।’
उनले अहिले सामाजिक सञ्जालमा कांग्रेससहित अन्य पार्टीहरू काम छैन भनेर भ्रम चलाइरहेको बताए । उनले सामाजिक सञ्जालमा भइरहेको झूटा कुराको प्रतिवाद गर्नको लागि नेता कार्यकर्तालाई निर्देशन दिए ।
उनले भने, ‘अहिले झूटो कुराको प्रचार भइरहेको छ। सत्य कुरा उल्टो गाली खाइन्छ भनेर बोल्दैनन् । अब सामाजिक सञ्जालमा होस् वा जनताको बीचमा जाँदा बोल्न थालौँ ।’
उनले अहिले बाध्य भएर एमालेसँग मिलेर सरकार बनाउनुपरेको बताए ।
उनले पार्टीका असन्तुष्ट नेताहरूलाई भने, ‘अरूसँग मिलेर सरकार बनाउन परेपछि सबै त कहाँ पाइन्छ। ५० प्रतिशत मात्रै भए पनि हुन्छ भनेर गएका हौँ नि। एक्लै बनाउने अवस्था छैन। त्यो कुरालाई आत्मसाथ गर्नुपर्छ। हामीले भनेजस्तो भएन भने नेतृत्वले अडान लिन्छ। लिइराखेको पनि छ।’

Leave a Reply