काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीलाई प्राधिकरणमा अनिवार्य दर्ता गर्नुपर्ने व्यवस्था गर्ने तयारी थालेको छ । प्राधिकरणले यही भदौदेखि नै दर्ता प्रक्रिया थाल्ने भएको हो ।
जसका लागि मापदण्ड तर्जुमा गरि कार्यान्वयनको चरणमा रहेको प्राधिकरणका बोर्ड सदस्य तथा कार्यकारी निर्देशक शेषनारायण पौडेलले जानकारी दिए । उनले भने, ‘बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता मापदण्ड, २०८२ तर्जुमा भई कार्यान्वयनको तयारीमा रहेको छ । सहकारी दर्ताको लागि एक अलग्गै दर्ता सफ्टवेयरको निर्माण भई लन्च गर्ने तयारी भइरहेको छ । २०८२ भाद्र महिना भित्रमा दर्ता प्रक्रियाको थालनी गरिने योजना रहेको छ ।’
सोमबार आयोजना गरिएको पत्रकार सम्मेलनमा पौडेलले दिएको जानकारी अनुसार बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको सञ्चालन सम्बन्धमा जारी गरिएको नियमाकीय मापदण्ड, २०८२ जारी भई कार्यान्वयनको चरणमा रहेको छ ।
यही भदौ महिनामा नै ऐनको व्यवस्था अनुसारको मुख्य कारोबार गर्ने सहकारी संघ संस्थाको प्राधिकरणमा दर्ताका लागि दर्ता मापदण्ड जारी गरिनेछ । सहकारी संस्थाहरूलाई अनलाइनबाट नै दर्ता गरिने तयारी रहेको छ ।

छिटै नै सहकारी संस्थाहरूको नियमन तथा सुपरिवेक्षण कार्यविधि र आवश्यक प्रविधिको तयार गरी समस्या उन्मुख सहकारी संस्थाहरूलाई स्थलगत र अन्य सहकारी संघसंस्थाहरूलाई गैर स्थलगत नियमन प्रारम्भ गरिने समेत प्राधिकरणको तयारी रहेको छ ।
प्राधिकरणले नियम बमोजिम कुनै विषयमा पालना नगर्ने नगराउने बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थालाई पाँच लाख रुपैयाँदेखि १५ लाख रुपैयाँसम्म जरिवाना गर्ने समेत जनाएको छ ।

Leave a Reply