काठमाडौं । विवेकशील साझा पार्टीले समान विचार भएकाहरुसँग सहकार्य, कार्यगत एकता, मोर्चाबन्दी, ध्रुवीकरण एवम् एकीकरणको नीति लिँदै संवादका लागि पाँच सदस्यीय संवाद समिति गठन गरेको छ ।
पार्टीले उपाध्यक्ष प्रकाशचन्द्र परियारको नेतृत्वमा समान विचार भएका व्यक्तित्व, समूह, अभियान, संस्था र दलहरुसंग सहकार्य,ध्रुबिकरण, कार्यगत एकता, एकीकरण र मोर्चाबन्दी गर्न भन्दै राजनीतिक संवाद समिति गठन गरेको हो ।
समितिमा उपाध्यक्ष विमला घिमिरे अधिकारी, महासचिव रञ्जु दर्शना, सचिव समुन्द्र केसी र प्रवक्ता आशुतोष प्रधान सदस्य रहेका छन् ।
हालै सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकले मुलुकमा वैकल्पिक राजनीतिको उपादेयता अझ बढीरहेका बेला समान विचार भएका दल, समूह र अभियानकर्मीहरुको वृहत ध्रुवीकरण, कार्यगत एकतादेखि एकीकरणसम्मको आवश्यकतालाई केन्द्रमा राखी ‘मिशन ८४’ लाई सफल बनाउन राजनीतिक संवाद समिति गठन गरेको जनाएको छ ।
समितिले राजनीतिक छलफल, भेटवार्ता, सामुहिक कार्यक्रम, मोर्चाबन्दी र सहकार्य संस्कृतिलाई सकृय अभ्यासमा ल्याउन पहलकदमी गर्दै ‘अल्टरनेटिभ्स अलाईन्स’ मा काम गर्ने पार्टीका कार्यालय व्यवस्थापन विभागका प्रमुख नवराज थापाले जानकारी दिए ।

Leave a Reply