काठमाडौैं । अष्ट्रेलियाको नर्दर्न टेरिटोरीमा जारी टप इन्ड टी- २० सिरिज अन्तरगत आफ्ना तीन खेलमा नेपालले लगातार हारको सामना गरेको छ । अन्य देशका मामूली टीमसँग नेपालको राष्ट्रिय टीमले लज्जास्पद प्रदर्शन गरेको भन्दै समर्थकहरु सामाजिक सञ्जालमा खेलाडीहरुलाई गालीगलौज गरिरहेका छन् ।
पछिल्लोपटक त्रिकोणात्मक प्रतिस्पर्धामा नेपालले नेदरल्यान्ड्स र स्कटल्यान्ड्सजस्ता बलिया टीमलाई घुडा टेकाइदिएपछि समर्थकहरुको महत्वाकांक्षा ह्वात्तै बढेको थियो । यो सिरिजमा नेपालकाे प्रदर्शनले उनीहरुलाई निराश बनाउनु स्वाभाविक हो । तर, यो सिरिजमा नेपालका प्रतिद्वन्द्वीहरु त्यति मामूली छैनन्, जति ठानिएको छ । साथै, अष्ट्रेलियाको कन्डिसनमा नेपालको ब्याटिङ र बलिङ त्यति अभ्यस्त हुन नसकेको पनि यथार्थ हो ।
नेपालले तीनवटै खेलमा पहिले बलिङ गर्यो । पहिलाे खेलमा नेपालले टस जितेर बलिङ रोजेको थियो भने दाेस्राे तेस्रो खेलमा टस हारेर पनि बलिङकै निम्ता दियो । तीनवटै खेलमा नेपालको हारको प्रकृति उस्तै उस्तै छ । प्रतिद्वन्द्वी टीमलाई बलियो स्कोरबाट रोक्न नसक्नु र पछ्याउने क्रममा रन रेट मेन्टेन गर्न नसक्नु नेपालको कमजोरी देखिन्छ । नेपालको प्रदर्शन ब्याटिङ र बलिङ दुवैमा अपेक्षित छैन, यद्यपि व्यक्तिगत स्तरमा केही ब्याटर र बलरले राम्रो खेलिरहेका छन् । म्याचविनिङ पारी भने कसैले पनि खेल्न सकेका छैनन् ।
पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ४२ रनले पराजित भयो । टी- २० म्याचमा यो फराकिलो हार हो । एनटीएसले दिएको १७८ रनको टार्गेट पछ्याउने क्रममा नेपालले ८ विकेट क्षतिमा ३८ रनमात्र जोड्न सक्यो । यो म्याचमा नेपालको टप अर्डर फ्लप भएको थियो भने मध्यक्रमले अलिकति इज्जत जोगायो ।

एनटीएस एउटा सशक्त टीम हो, जहाँ कम्तिमा दुईजना अष्ट्रेलियाको राष्ट्रिय टीमबाट समेत खेलिसकेका दुईजना खेलाडीहरु छन् । कप्तान डि आर्सी सर्टले अष्ट्रेलियाबाट ८ ओडिआइ र २३ टि २० खेलेका थिए । उनी अहिले एनटीएसको ओपनिङ ब्याट्सम्यान हुन् । यस्तै फास्ट बलर केन
रिचार्डसनसँग पनि अष्ट्रेलियाको नेसनल टीमबाट २५ ओडिआइ र ३६ टि २० म्याच खेलेको अनुभव छ । अन्य खेलाडीहरु पनि धेरै बिबिएल लगायत ठूला लिगहरु खेलेका छन् ।
दोस्रो म्याचमा नेपालले बंगलादेशको ‘ए’ टीमसँग उस्तै खालको पराजय व्यहोर्नुपर्यो । बंगलादेशको ‘ए’ टीम लर्तरो छैन । यसमा अधिकांस बंगलादेशको राष्ट्रिय टीमबाट खेलिसकेका खेलाडीहरु छन् । टेस्ट राष्ट्रको ‘ए’ टीम भनेको बैकल्पिक राष्ट्रिय टीम पनि हो । यदि राष्ट्रिय टीममा कुनै स्थान खाली भयो भने ए टीमबाटै जाने हुन् । त्यसैले ‘ए टीम पनि हार्यो’ भनेर मुख खुम्च्याउनुपर्ने आवश्यकता छैन ।

बंगलादेशविरुद्धको खेलमा नेपालले आक्रमक सुरुवा तगरेको थियो । ४.५ ओभरमा एक विकेट गुमाउँदा नेपालले ४४ रन जोडिसकेको थियो । तर, पावरप्लेपछि नेपालले नियमित विकेट गुमाउँदै गयो र रनरेटमा पनि ब्रेक लाग्यो । पछि आउने ब्याटरहरुले प्रेसर थाम्न सकेनन् । कुशल मल्ले प्रयास गरेका थिए । तर उनले ४७ बलमा बनाएको ५९ रन नेपाललाई जितसम्म पुर्याउन पर्याप्त भए ।
आजको म्याचमा पनि मेलबर्न स्टार्स एकेडेमीसँग नेपालले रनरेटमै मार खायो । आज पनि भुर्तेलले आक्रमक सुरुवात दिलाए । तर, उनी आउट भएपछि नेपालको रनगति ओरालो लाग्यो । आसिफ शेखले सुरुमा टेस्ट शैलीमा ब्याटिङ गरेर टीममाथि दबाब बढाए । यद्यपि, आसिफ र कप्तान रोहित पौडेलको पार्टनरसीपले नेपालको आशा जगाएको थियो । तर नेपालले चाहिएको बेला बाउन्ड्री निकाल्न सकिरहेको थिएन । बाउन्ड्रीकै चक्करमा रोहित आउट भए भने दीपेन्द्र सिंह ऐरी आज पनि चलेनन् । आसिफ पनि दुर्भाग्यपूर्णरुपमा रनआउट भएपछि नेपालको सम्भावना समाप्त भयो ।

यो सिरिजमा अहिलेसम्म नेपालका ब्याटरहरुले आफ्नो स्तरअनुसार प्रदर्शन गर्न नसकेको सत्य हो । तर, एकदमै झुर खेलिरहेका छन् भन्ने पनि होइन । तीन म्याचमध्ये आजको तेस्रो म्याचमा नेपालले अलि फाइट गर्यो । कन्डिसनमा अभ्यस्त भएसँगै आगामी म्याचमा नेपालको प्रदर्शन सुधारिँदै जाने आशा राख्न सकिन्छ ।
समग्रमा हेर्दा नेपालको प्रदर्शनमा बलिङमा औसत र ब्याटिङमा केही फितलो देखिएको छ । बलिङतर्फ सन्दीप लामिछाने राम्रो लयमा देखिएका छन् । उनले तीन खेलमा ७ विकेट लिइसके । तर अन्य बलरहरुको प्रदर्शन त्यति सन्तोषजनक छैन । नेपालका अनुभवि फास्ट बलरद्वय सोमपाल कामी र करण केसी पिटिएका छन् । उनीहरुको विकल्पका रुपमा उदाएका दुई युवा बलर नन्दन यादव र रिजन ढकाललाई पनि नेपालले ट्राइ गरिरहेको छ ।
ब्याटिङतर्फ कुशल मल्लले राम्रो लयमा देखिएका छन् । यसअघि खराब फर्मका कारण टीमबाट आफ्नो स्थान गुमाएका उनी आफूलाई फेरि एकपटक सावित गर्न चाहन्छन् । यो प्रतियोगितामा सर्वाधिक रन बनाउने नेपाली ब्याटरमा कुशल अहिलेसम्म अगाडि छन् ।
मध्यक्रमका पिल्लर दिपेन्द्रसिंह ऐरीले भने निराश बनाइरहेका छन् । प्रारम्भिक तीनवटै खेलमा प्रदर्शन चित्तबुझ्दो नभएपछि फ्यानहरुको निशानामा परिरहेका छन् उनी । दीपेन्द्रलाई आफ्नो आत्मविश्वास फर्काउनका लागि एउटा लामो इनिङको आवश्यकता छ । अन्तर्राष्ट्रिय म्याचमा उनको खराब फर्म नेपालका लागि टाउकोदुखाइ बनिरहेको छ । यद्यपि, दिपेन्द्र नेपाली क्रिकेटको अपरिहार्य हिस्सा हुन् भन्नेमा दुई मत नहोला । ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्षबाट योगदान दिन सक्ने हुँदा उनलाई रिप्लेस गर्न नेपालले धेरै सोच्नुपर्ने हुन्छ ।
नेपालले यो प्रतियोगितालाई टि २० विश्वकप छनोटको तयारीका लिएको छ । त्यसैले प्रशिक्षकले सबै खेलाडीहरुलाई पालैपालो ‘टेस्ट’ गर्न खोजेका हुन सक्छन् । विश्वकप छनोटका लागि उत्कृष्ट टीम यसबाट निकाल्ने नेपालको ध्येय पनि हो । नेपालको ब्याटिङ पंति लगभग स्थिर नै भए तेस्रो नम्बरमा कसलाई खेलाउने भन्ने अन्योल देखिएको छ । यो निकै महत्वपूर्ण स्थान हो । लोकेश बमलाई यो स्थानका लागि तयार पार्न खोजिएको बुझिन्छ । तर, दुई वटा म्याचमा उनले त्यति प्रभाव पार्न सकेनन् । ठूला सटहरु खेल्ने क्षमता भए पनि स्ट्राइक रोटेट गर्ने क्षमताको उनीसँग अभाव छ ।
आजको म्याचमा लोकेशलाई बाहिर राखेर भीम सार्कीलाई स्थान दिइयो । उनको समस्या चाहिँ लोकेशको भन्दा फरक छ । एकदिवसीय शैलीमा ब्याटिङ गर्ने उनी ठूला सटहरुमा त्यति रुची राख्दैनन् । यद्यपि उनीसँग लामो ब्याटिङ गर्ने र पार्टनरसीप बिल्ड अप गर्ने क्षमता छ । आज पाएको अवसरलाई उनले सदुपयोग गर्न सकेनन् ।
आजको म्याचमा आरिफ शेख पनि प्लेइङ ११ भित्र अटाए । तर, उनलाई ठाउँ नभए पनि जबरजस्ति कोचिएको महसुस हुन्छ । आरिफ टिपिकल एक दिवसीय खेलाडी हुन् जो स्ट्राइक रोटेट गर्नमा रुची राख्छन् । नेपाल हारको संघारमा पुगिसकेपछि सातौं नम्बरमा बल्ल उनको पालो आयो । यस्तो सिचुयसनमा सुहाउँदो ब्याट्सम्यान होइनन् उनी ।
अन्याय त गुल्शन झामाथि पनि भइरहेको छ । म्याचविनरका रुपमा चिनिने गुल्शन ब्याटिङ लाइनअपमा धेरै पछाडि हुँदा पर्याप्त बल खेल्नै पाइरहेका छैनन् । आउनासाथ ब्याट घुमाइहाल्नुपर्ने दवाव उनलाई पर्ने गरेको छ । आज त उनको पालो आठौं नम्बरमा आयो जतिबेला खेल नेपालको हातबाट फुत्किसकेको थियो ।
यो प्रतियोगितामा नेपालले अब कम्तिमा ३ वटा म्याच खेल्न बाँकी छ । अबका प्रतिद्वन्द्वीहरु पनि उस्तै बलिया छन् । भोलि नेपालले होबार्ट हुरिकन्ससँग खेल्ने छ भने पर्सी मेर्लबोर्न रिनेगेड्स एकेडेमीसँग । यस्तै, २२ अगष्टमा पाकिस्तान साहिन्ससँग भिडन्त छ । पाकिस्तान साहिन्स भनेको पाकिस्तानको ए टीम हो । अघिल्ला तीन म्याचको पराजयबाट पाठ सिकेर बाँकी तीन म्याचमा आफ्नो उत्कृष्टता प्रस्तुत गर्न सके नेपालले उपाधि जित्न नसके पनि प्रतियोगितमा बलियो छाप छोड्न सक्छ ।

Leave a Reply