धनगढी । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रियसभामा सत्तारूढ दलहरूको बहुमत सुनिश्चित भएपछि संविधान संशोधन प्रक्रिया अघि बढ्ने बताएका छन् ।
नेपाल कांग्रेस र एमालेबीच सरकार गठनका बेला भएको सात बुँदे सहमतिअनुसार नै सरकार अघि बढिरहेको उल्लेख गर्दै उनले चाँडै संविधान संशोधनको काम पनि अघि बढ्ने बताए ।
सोमबार प्रेस चौतारी नेपालले कैलालीको अत्तरियामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले हाल संविधान संशोधनको वातावरण तयार नभएको बताए ।
उनले भने, ‘संविधान संशोधनजस्तो विषय एकैपटक अघि बढाउने कुरा होइन । त्यसका लागि आवश्यक वातावरण बनाउनुपर्छ । अहिले राष्ट्रियसभामा सरकारमा रहेका दलहरूको बहुमत सुनिश्चित छैन। पाँच-छ महिनापछि राष्ट्रिय सभामा १९ सिट खाली हुन्छन् । दुवै दल मिलेर सफलता प्राप्त गर्छौं, अनुकूलता निर्माण गर्छौं, त्यसपछि संविधान संशोधनको विषयमा प्रवेश गर्छौं ।’
उनले संविधान संशोधनमार्फत मुलुकमा देखिएको अस्थिरताको चिन्ता हटाउने काम गरिने स्पष्ट पारे ।

Leave a Reply