रुपन्देही । भैरहवा भन्सार कार्यालयले यो आर्थिक वर्षको पहिलो महिनामै लक्ष्यभन्दा २ प्रतिशत बढी राजस्व संकलन गरेर केही वर्षयता घटिरहेको राजश्व लक्ष्यमा सुधार देखाएको छ ।
देशकै दोस्रो ठूलो भन्सार नाकामा राजश्व संकलनमा सुधार आएपछि व्यवसायीहरु खुसी देखिएका छन् । यो कार्यालयले ४ वर्षदेखि वार्षिक राजश्व लक्ष्य पार गर्न सकिरहेको थिएन ।
भन्सार कार्यालयको तथ्यांकहनुसार आव २०८२–८३ को पहिलो महिनामा ८ अर्ब ८४ करोड ८५ लाख लक्ष्य रहेकोमा ९ अर्ब २ करोड ७२ लाख अर्थात् १ सय २ प्रतिशत राजस्व संकलन भएको छ । व्यवसायीहरूका अनुसार सरकारले ल्याएको केही नीतिगत सुधार र बजेटमा राखिएका सुधारले यस्तो अवस्था आएको आंकलन गरेका छन् ।
२०७८ पुस ५ गतेबाट लागू भएको अनिवार्य प्रतित पत्र (एलसी) खोलेर शतप्रतिशत र दुई वटा शीर्षकमा ५० प्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेसँगै आयातमा कमी हुँदै आएको थियो । देशका अधिकांश भन्सार कार्यालयबाट करिब ८४ प्रतिशत राजस्व असुली भइरहँदा यहाँ भने पहिलो महिनामा लक्ष्य पार भएको हो ।
गत वर्षको यही महिनाभन्दा अहिले २३ प्रतिशत बढी राजस्व संकलन भएको हो । भन्सार कार्यालयका अनुसार लगत्तै चाडपर्व आएकाले धेरै गाडी तथा कपडाहरु आयात भएका छन् भने धेरै मोटरसाइकल पनि आयात भएका छन् ।
मधेश आन्दोलन र नाकाबन्दीका बेला सहज मानिएको यो भन्सार नाका राज्यको लागि ठूलो योगदान गरेको थियो । बिस्तारै अन्य नाका सहज हुँदा सामानहरू पनि डाइभर्ट भएको छ । यहाँबाट लक्ष्य पार नहुनुको मुख्य कारण नै बाटोको समस्या रहेको भन्सारको बुझाई छ । पुल भाँचिदा र सडक निर्माणको कार्यले गर्दा पनि केही अवरोध भएको हो । राजस्वमा मुख्य योगदान दिने वस्तु आयत घट्दा राजस्व लक्ष्य प्रभावित हुने गरेको छ ।
भन्सार विभागले आर्थिक वर्ष २०८२–०८३ मा भने १ खर्ब १३ अर्ब ६६ करोड ६८ लाख १९ हजारको लक्ष्य तोकेको छ । वार्षिक लक्ष्यको आधारमा अहिलेको संकलनले ७ दशमलव ९५ प्रतिशत योगदान गरेको छ । २०८१ असोज मा ८ अर्ब ७८ करोड १६ लाख लक्ष्यमा ८ अर्ब ८१ करोड ५१ लाख अर्थात १ सय दशमलव ३९ प्रतिशत राजस्व संकलन गरेको थियो, त्यसपछि अहिले लक्ष्य पार भएको छ ।
कार्यालयलाई भन्सार विभागले आर्थिक वर्ष २०८१–८२ का लागि एक खर्ब ९ अर्ब ३३ करोड २२ लाख ५२ हजार राजस्व संकलन लक्ष्य दिएकोमा ९५ अर्ब १९ करोड ३८ लाख ९९ हजार रुपैयाँ अर्थात् ८७ दशमलव ०७ प्रतिशत राजस्व संकलन गरेको थियो । राजस्व लक्ष्य पूरा नभए पनि अघिल्लो वर्षभन्दा १४ अर्ब ३५ करोड अर्थात १७ दशमलव ७५ प्रतिशत बढी राजस्व संकलन गरेको छ ।
कार्यालयका अनुसार आर्थिक वर्ष २०७७÷७८ मा लक्ष्यभन्दा १३ प्रतिशत बढी राजस्व संकलन भए पनि त्यसयता यो अनुपात घट्दै गएको थियो । आर्थिक वर्ष २०७८–०७९ मा लक्ष्यको ९१ प्रतिशत, २०७९–८० लक्ष्यको ४९ प्रतिशत, आर्थिक वर्ष २०८०–०८१ मा लक्ष्यको ६३ प्रतिशत, आर्थिक वर्ष २०८१–०८२ मा लक्ष्यको ८७ प्रतिशत मात्रै राजस्व संकलन भएको भन्सार कार्यालयका सूचना अधिकारी नरेन्द्रप्रसाद चौधरीले जानकारी दिए ।
राजस्व संकलनमा योगदान दिने मुख्य वस्तुको आयात नै खुम्चिँदा पछिल्ला आर्थिक वर्षमा लक्ष्यअनुसार राजस्व संलकन गर्न नसकेको उनको भनाइ छ । कार्यालयले २०७८ मंसिरसम्म लक्ष्यअनुरूप सफलता हासिल गर्दै गए पनि पुस ५ गतेबाट लागू भएको प्रावधानले आयातमा कमी हँुदै आएको चौधरीको भनाइ छ ।
‘केही नीतिगत सुधार पनि भए, चाडपर्व पनि नजिक आइसकेका छन्, कपडा र गाडीहरूको आयात बढी देखिएको छ, औद्योगिक कच्चा पदार्थहरूको पनि आयात बढेको छ । चार वर्षयता लक्ष्य पार गर्न सकेका थिएनौँ, यो महिनामा पार भएको छ’ उनले नेपाल प्रेससँग भने ।
भन्सार एजेन्ट संघका अध्यक्ष मधु पन्थीका अनुसार देशभरका भन्सार कार्यालयबाट सरदर ८४ प्रतिशत राजश्व असुली भएकोको अवस्थामा भैरहवा भन्सारद्वारा लक्ष्यको १०२ प्रतिशत राजश्व असुली निकै राम्रो पक्ष हो ।
‘भैरहवा भन्सारको श्रावणको राजस्व लक्ष्य ८ अर्ब ८४ करोड ८५ लाखमा ९ अर्ब २ करोड ७२ लाख असुली जुन गत वर्षको २३ प्रतिशतले बढी बढी असुली भएको छ’ उनले भने ‘यसले यहाँको व्यापारमा सुधारको संकेत, व्यवसायीमा आत्मविश्वास बढ्नु, ब्याज घट्दो अवस्था, सरकारद्वारा नीतिगत लचकता, भारबहनको नाममा प्रशासनको सहजता खादी यसको सहजताका कारण हुन्’ उनले भने ।

Leave a Reply