विराटनगर । साउन ३० गते शुक्रबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपति (भीसी) को पदभार ग्रहण गर्ने बित्तिकै पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै नवनियुक्त उपकुलपति प्राध्यापक डा. विक्रम श्रेष्ठले भने, ‘लगानी नगरी बीपीको भिसी हुन सकिन्न भन्ने हल्ला सुनेको थिए । तर, खर्च नगरी नै नियुक्ति पाएँ ।’
उनले सार्वजनिक कार्यक्रममा थपे, ‘मैले नेपाली कांग्रेसका सभापति (देउवा), भाउजू (आरजु राणा) र स्वास्थ्यमन्त्री समेतलाई सोधेको थिएँ । उहाँहरू सबैले ‘केही गर्नुपदैन’ भन्नु भयो । पैसा नबुझाई पनि उपकुलपति बन्न सम्भव हुँदो रहेछ । ‘
बीपी प्रतिष्ठानको भीसीका लागि उनीसँगै प्रा.डा. प्रह्लाद कार्की, प्रा.डा. रमेश कोइराला र प्रा.डा.रोहित यादवको नाम सर्च कमिटीले तय गरेको थियो ।
सिफारिसमा परेका ४ जनामध्ये कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बीपी प्रतिष्ठानको उपकुलपतिमा प्रा.डा. श्रेष्ठलाई साउन २७ मा नियुक्त गरे । स्वास्थ्यमन्त्रीको संयोजकत्वमा रहने सर्च कमिटीले भीसी नियुक्त गर्दा तीनजनाको नाममात्र सिफारिस गर्ने प्रचलन थियो ।
कमिटीका अन्य सदस्यमा स्वास्थ्य सचिव डा. विकास देवकोटा र राष्ट्रिय योजना आयोगका सदस्य डा. आरपी बिच्छा सदस्य थिए । सर्च कमिटीको सिफारिसमा नाम नपरेको सूचनापछि बीपी प्रतिष्ठानभित्रैबाट कर्मचारी र चिकित्सकहरूको दबाब दिएपछि भोलिपल्ट उनको नाम पनि समावेश गरेर सिफारिस पठाइएको थियो ।
विगतको अभ्यासविपरीत श्रेष्ठको पनि नाम थपेर चारजना सिफारिस भएपछि सामाजिक सञ्जालमा क्रिया, प्रतिक्रिया र बहस चलिरहेको छ । आकांक्षीहरू डा. रामेश कोइराला, डा. रोहितकुमार यादवले पनि असन्तुष्टि पोखेका थिए ।
अन्तर्वार्ता र प्रस्तुतीकरणको झन्झट किन गरेको ? भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेका यादवले पछि त्यसलाई हटाउँदै डा. विक्रम श्रेष्ठलाई बधाई दिएका छन् ।
उनले लेखेका छन्, ‘म छनोट नभए पनि, मैले दौडको पूर्ण आनन्द लिएँ- यो सिकाइले भरिएको यात्रा थियो । मैले हाम्रो देश, यसको राजनीतिक गतिशीलता र हाम्रो कर्मचारीतन्त्रको कामकारबाहीको बारेमा बहुमूल्य अन्तर्दृष्टि प्राप्त गरेँ । ‘
राजनीतिक संरक्षणका कारण सक्षम व्यक्तिलाई पाखा लगाइएको साथै पैसाको चलखेल भएको सामाजिक सञ्जालमा आलोचना बढेपछि नवनियुक्त उपकुलपति श्रेष्ठले पदभार ग्रहण गर्दै गर्दा कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणाको नाम लिँदै पैसा नबुझाएको प्रष्टीकरण नै दिनुपर्यो ।
बीपी प्रतिष्ठानमा गत चैतमा डा. ज्ञानेन्द्र गिरीको कार्यकाल सकिएपछि करिब साढे चार महिनादेखि उपकुलपतिको पद रिक्त थियो । राजनीतिक नियुक्ति खान दर्जन बढीले कसरत गरेका थिए ।
को हुन् श्रेष्ठ ?
धरान घर भएका श्रेष्ठले त्रिभुवन शिक्षण अस्पतालबाट एमबीबीएस गरेका छन् । उनले एमएस अर्थोपेडिक्स पोस्ट ग्र्याजुएट मेडिकल इन्स्टिच्युट लाहोर, पाकिस्तानबाट गरेका हुन् । उनी धरान बजारको संस्थापक राणाकलाका सुब्बा रत्नप्रसादका नाति हुन् । अर्थात् धरानका रैथाने ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान नहुँदै घोपा क्याम्प चिनेका श्रेष्ठले सन् २००१ मा सिनियर रेजिडेन्सीको पदमा नियुक्त भएर बीपी प्रतिष्ठानको हाड जोर्नी विभागमा जागिर सुरू गरे । सन् २०१२-२०१७ सम्म बीपीमा शिक्षाध्यक्ष (रेक्टर) भए । उनी दुई पटक बीपी प्रतिष्ठानको योजना, अनुगमन र मूल्याङ्कन कमिटीका संयोजक, हाड जोर्नी विभागको विभागीय प्रमुख, गुणस्तर नियन्त्रण संयोजक, कार्यकारिणी सदस्य, एकेडेमिक कमिटी सदस्य भएर काम गरेका छन् ।
भवानी खापुङको पालामा श्रेष्ठलाई उपकुलपति बनाउने प्रयास भएको थियो । तर, उपकुलपतिको मुद्दा अदालतमा विचाराधीन भएकाले उनी हच्किए । कांग्रेस निकटका श्रेष्ठलाई नेकपा एसले समेत उपकुलपति बनाउने प्रयास गरेको थियो । उनी माओवादीको सरकार भएका बेला शिक्षाध्यक्ष नियुक्त भएका थिए ।
नेकपा एमाले धरानका अध्यक्ष हर्कजंग ऐभेंगले धरान र बीपी प्रतिष्ठान बुझेका व्यक्त उपकुलपति नियुक्त भएको बताए । उनले भने, ‘धरानेले रुचाएका व्यक्ति भीसी हुनु भएको छ । आशा छ भ्रष्टाचारको दलदलमा फसेको प्रतिष्ठान अब बाहिर निस्कन्छ ।’
नेपाली कांग्रेस धरानका नगर सभापति श्याम पोखरेलले सुनाए, ‘हामीलाई बीपी सुधार्न धराने चाहिएको थियो । हामीले विक्रम श्रेष्ठ भिसी बनेको हेर्न चाहेका थियौं ।
अरुपनि हुनुहुन्थ्यो । तर, धरानमा जन्मेको र बीपी बुझेको विक्रम जति अरू थिएन ।’
भारतको अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) कै मोडल पछ्याउँदै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरिएको हो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०४९ र नियमावली ५५ ले यो प्रतिष्ठानलाई बाँधेको छ ।
कुनै समय दक्षिण एसियामै प्रतिष्ठित मानिएको बीपी प्रतिष्ठान पछिल्लो दशक भने कुशल नेतृत्वको अभावले जर्जर बन्दै गएको छ । पदाधिकारीहरूबीचको बेमेल, आर्थिक अनियमितता, मौलाइरहेको बेथिति, सेवाग्राहीहरूमा बढ्दो असन्तुष्टि, उपचारमा आवश्यक उपकरण तथा मेसिनको अभावले प्रतिष्ठानको प्रतिष्ठामा आँच आउनुमात्र नभई आर्थिकरूपमा धरासायी बनेको छ ।
सुध्रिएला बीपी ?
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका नवनियुक्त उपकुलपति प्रा.डा. विक्रम श्रेष्ठको स्वागतमा शुक्रबार अन्य तीनैजना पदाधिकारी आएका थिए । उपकुलपतिको पदभार ग्रहणमा सरिक भएका शिक्षाध्यक्ष प्रा.डा. सञ्जीव शर्मा, रजिस्ट्रार प्रा. डा. सूर्यप्रसाद सङ्ग्रौला र अस्पताल निर्देशक डा. जगतनारायण प्रसादले नयाँ नेतृत्वलाई सफल बनाउन साथ दिने र प्रतिष्ठानको पुरानै साख फर्कने आशा व्यक्त गरे ।
यसअघि नियुक्त भएका भीसीको पदभार ग्रहणमा पदाधिकारीले नै अवरोध गर्दै आएका थिए । पदाधिकारीबीचकै विवादले यसअघिका तीनैजना उपकुलपतिको बहिर्गमन विवादास्पद बनेको थियो ।
अघिल्ला उपकुलपतिहरूको अनेक काण्डले बदनाम भएको बीपीलाई सुधार्न चारै पदाधिकारीको समन्वय जरुरी रहेको शिक्षाध्यक्ष प्रा.डा. सञ्जीव शर्माले बताए ।
उनले पदभार कार्यक्रममा भने, ‘बीपी प्रतिष्ठान फेरि पुरानो बाटोमा जान्छ । धरानबासी र हामी सबैको इच्छाअनुसार उन्नति गर्नेछ । यसमा हामी सबैको साथ सहयोग हुनेछ । दिनरात काम गरेर भए पनि प्रतिष्ठानलाई माथि उकास्ने छौँ ।’
रजिस्टार प्रा. डा. सङ्ग्रौलाले बीपी प्रतिष्ठानले सफल र सक्षम नेतृत्व पाएको बताए । उनले प्रतिष्ठानलाई अघि बढाउन सधैँ साथ रहने प्रतिबद्धता जनाए ।
उनले भने, ‘हामी सबै तपाईँ (उपकुलपति) को छहारीमा बसेर नियमपूर्वक काम गर्न चाहन्छौँ । प्रतिष्ठानलाई अघि बढाउने दिशामा हाम्रो सधैँ साथ रहने कुरा प्रतिबद्धता जनाउँछु ।
प्रतिष्ठानमा बिरामीको उपचार सेवाबाट मात्रै दैनिक ५० लाख देखि ६० लाख रूपैयाँसम्म आम्दानी हुने गर्छ । यहाँ नेपालबाट मात्रै नभई भारत, भुटानबाट समेत बिरामी आउने गरेका छन् । प्रतिष्ठानको वार्षिक बजेट डेढदेखि दुई अर्ब रुपैयाँ हो ।

Leave a Reply