रेखा र पुजाको चलचित्र ‘३६ को आँकडा’ मा काम गर्न नेपाल आइपुगिन निरुता सिंह

काठमाडौं । नायिकाद्वय रेखा थापा र पूजा शर्माको चलचित्र ‘३६ को आँकडा’ मा काम गर्नका लागि निरुता सिंह नेपाल आइपुगेकी छिन् । उनी यहीँ चलचित्रको लागी आइतबार राती मुम्बईबाट नेपाल आएकी हुन।

नेपाल आएपछि निरुताले पत्रकारहरूसँग कुरा गर्दै आफू अत्यन्तै उत्साहित रहेको बताइन् । उनले भनिन, ‘अब म कतै पनि नगई निरन्तर नेपाली फिल्ममा काम गर्छु । बिचमा मेरो व्यक्तिगत कारण र विभिन्न कुराहरू नमिलेर चलचित्रबाट अफर आए पनि काम गर्न पाइनँ । अब चाहिँ म निरन्तर काम गर्छु।’

निरुताले आफू नेपाली चलचित्र भन्दा टाढा बस्न नसक्ने पनि स्पष्ट पारिन् । यो चलचित्रमा निरुताको भूमिकाबारे अहिले केही खुलाइएको छैन । निरुतालाई लिन पुगेका चलचित्रका निर्देशक सविर श्रेष्ठले पनि उनको भूमिका अहिले खुलाउन नमिल्ने बताए।

निरुतालाई चलचित्रमा लिनुको कारणबारे निर्देशक सविर भन्छन्,‘मैले सहायक निर्देशकको रूपमा निरुता सिंहसँग केही चलचित्रमा काम गरेको थिएँ । तर, निर्देशक भएपछि काम गर्न पाएको थिइनँ । कुनै भूमिकामा विशेष कोही कलाकारको मात्र आवश्यकता पर्ने रहेछ । यो चलचित्रमा पनि निरुता दिदी नै चाहिने भूमिका छ । यसैले, उहाँलाई हामीले बोलाएका हौँ ।’

रेखा थापा र निरुता सिंहले चलचित्र ‘दुई पल’ पछि एकसाथ पर्दा शेयर गरेका छैनन् । रेखा अहिले पनि सिने क्षेत्रमा सक्रिय भई काम गरिरहेकी छिन् भने निरुताले चलचित्र ‘दाल भात तरकारी’ पछि नयाँ चलचित्रमा काम गरेकी छैनन् । धेरै लामो ग्यापपछि यी दुई स्टार नायिकाले फेरि एकपटक स्क्रिन शेयर गर्ने पक्का भएको हो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *