काठमाडौं । गीतकार तथा साहित्यकार प्रेमविनोद नन्दनको ९१ वर्षको उमेरमा निधन भएको छ ।
उनका भतिजा तथा वामपन्थी नेता केशवलाल श्रेष्ठले फेसबुकमा स्ट्याटस लेख्दै आइतबार राति ९ः३० बजे उपचारका क्रममा चितवन मेडिकल कलेजमा निधन भएको उल्लेख गरेका छन् ।
तनहुँको बन्दीपुरमा १९९२ सालमा जन्मिएका नन्दनको वास्तविक नाम प्रेमलाल श्रेष्ठ हो । चितवनमा बसाइँ सरेर गएका हुन् । प्रगतिशील साहित्यकारका रुपमा उनको शुरुवाती पहिचान स्थापित थियो ।
उनी साहित्य लेखनसँगै नाटकको लेखन, निर्देशनसहित गीत गायनमा पनि तल्लीन थिए । उनले पहिलोपटक २०११ सालमा व्यवस्थाविरुद्ध ‘झटारो’ नामक कृति प्रकाशन गरेका थिए ।
उनले २०१८ सालदेखि गीत लेखनमा सक्रियता जनाएको वरिष्ठ संगीत विश्लेषक प्रकाश सायमी बताउँछन् । उनले लेखेको पहिलो गीतमा नगेन्द्र हाडाको संगीत र प्रकाश श्रेष्ठको स्वर थियो । गीतको बोल थियो, ‘त्यो चन्द्र मुहार…।’ नन्दनले प्रेमध्वज प्रधानका केही गीतको लेखन गरेका छन् । त्यसमध्ये ‘यही हो नेपाल, नेपालीको घर…’ निकै सुनिएको गीतमा पर्छ ।
चलचित्र निर्देशक विएस थापाको संगतपछि उनी चलचित्रको गीत लेखनमा तल्लिन भए । उनले चलचित्र कान्छीमा ‘छोरीको जन्म हारेको कर्म’ बोलको गीतबाट चलचित्र गीत लेखन प्रारम्भ गरेका हुन् । चलचित्र सन्तानमा उनले ‘गर्भको पीडा’ बोलको गीत लेखेका थिए ।
चलचित्र मोहनीमा अत्यधिक रुचाइएको गीत ‘यो गाउँको ठिटो म कान्छा मेरो नाम’ पनि उनले लेखेका हुन् । शम्भुजीत बास्कोटाको संगीत र उदीतनारायणको स्वरमा उक्त गीत तयार भएको थियो ।
चलचित्र कर्जामा उनले लेखेको गीत ‘ज्यानको माया नैनारेशम छ दायाँबायाँ, ज्यानले गर्दा नैनारेशम मैले पो गाल खाँया…’ पनि अत्यधिक रुचाइएको गीत थियो । उक्त गीतमा युजिन लामाको संगीत थियो ।
नन्दन एक अद्वीतीय गीतकार र साहित्यकार रहेको सायमी बताउँछन् । गीतबाट स्रोतालाई न्याय दिने उहाँका शव्द नेपाली संगीतको भण्डारमा कहिल्यै नमेटिने गरी लेखिएको उनी बताउँछन् ।

Leave a Reply