तीज गीतको सांस्कृतिक रुपान्तरण

तीज नारीहरूको मौलिक पर्व हो । यसको धार्मिक, पौराणिक ,सांस्कृतिक, सामाजिक ऐतिहासिक महत्त्व रहेको छ । पौराणिक कालदेखि मनाउँदै आएको यस पर्वको स्वरूप समयको प्रवाहसँगै परिवर्तन हुँदै गएको छ । वैदिक कालमा वेदको सन्देश बाहकका रूपमा पहिचान दिलाइएका नारीलाई पौराणिक कालमा आएपछि धर्म र संस्कृतिका नाममा पितृसत्ताका माध्यमबाट पुरुष अधीनस्थ बनाइयो । समयको यही प्रवाहमा गतिशील हुँदै जाँदा विवाह संस्थाले यसको स्वरूपमा प्रभाव पार्‍यो ।

परम्परित तीज गीतको स्वरूपलाई नियाल्ने हो भने प्रारम्भिक कालका तीज गीत शिव र पार्वतीको आत्मिक प्रेम, त्याग, समर्पण, दृढ सङ्कल्प र प्रतिरोधी चेतनाासङ्ग सम्बन्धित छन् । त्यसपछिका गीत पितृसत्तात्मक समाजमा विवाह संस्थाले नारीलाई आर्जित सम्पत्तिका रूपमा हेर्दा तिनले भोग्नु परेको उत्पीडनलाई व्यक्त गर्ने माध्यम बनेका छन् । ती दिनमा पति रूप जति क्रूर भए पनि तिनका निम्ति पानी पनि नखाई व्रत बस्नुपर्ने, तिनको दीर्घायुको कामनासहित पूजाआजा गर्नुपर्ने परम्पराले थिचिएको तीज पर्वले बिस्तारै नयाँ स्वरूप प्राप्त गर्दै गतिशील भएको छ । समकालीन तीज गीतमा चेतनशील महिलाका परिवर्तित स्वर गुन्जिन थालेका छन् ।

व्यवस्था र व्यवहारको विरोधाभासप्रति औँला उठाइएका छन्, खबरदारी गरेका छन्, लैङ्गिक समता र समानताका भावना अभिव्यञ्जित भएका छन् । अहिले यो सबै जाति, लिङ्ग, धर्म, वर्ग र भूगोलका नेपालीको साझा पर्व बनेको छ । हरेक किसिमले तीजको दायरा फराकिलो हुँदै गएको छ । नारी जीवनका विविध पक्षसँग सम्बन्धित कतिपय तीज गीत धार्मिक तथा पौराणिक मूल्यमान्यतासँग सम्बन्धित छन् ।

तीज गीतको दीर्घ परम्परालाई अवलोकन गर्दा पितृसत्तात्मक सामन्तवादी समाज व्यवस्थाले विवाहजस्ता संस्थाका कारण महिला अधीनस्थ बनेर रहँदा हुने अन्याय, अत्याचार, दमन, शोषण, पीडा, व्यथा, पोख्ने माध्यम बनेका छन् ,घर न माइत हुँदाका विरह पोख्ने माध्यम बनेका छन् ,घर बस्न नसक्दा र माइत बस्न नपाउँदाका छोरी भएकै कारण भोग्नु पर्ने उत्पीडनमा समाज र संस्कारसँग न्याय माग्ने आधार बनेका छन् ,घरमा भोगेका उत्पीडनलाई माइती सामु व्यक्त गर्ने आधार बनेका छन् ।

लामो समयसम्म भेटघाट नभएका साथीसँगी, माइतमावली र आफन्तलाई एउटै मालामा उनेर सुखदुख बाँड्ने र मीठोमसिनो खाने, नाचगान गरी रमाउने र सम्बन्धलाई अझ सुदीर्घ बनाउने चाडका पहिचान बनेका छन् ,समकालीन तीजे गीत राजनीतिक, ऐतिहासिक, सामाजिक, सांस्कृतिक परिवर्तनका संवाहक बनेका छन्, सबै जाति वर्ग र समुदायका मनोरञ्जनका माध्यम बनेका छन्, समसामयिक घटना परिघटना सार्वजनिक गर्ने माध्यम बनेका छन् ।

तीज पर्व नेपाली संस्कृतिको अभिन्न अङ्ग हो । संस्कृति समग्र जीवन पद्धतिको अध्ययन गर्ने आधार हो । संस्कृतिसँग दैनिक जीवनका क्रियाकलापसँगै विशेष अवसरमा मनाइने अनेक चाडपर्वहरूका शृङ्खला पनि जोडिएर आउँछन् । यो पर्व विशेषतः  नेपाली नारीसँग सम्बन्धित छ । यस पर्वमा नारीहरू माइत जाने, मीठो दर खाने, रातो परिधानमा सजिने, शिवको आराधनासहित व्रत बस्ने र नाचगान गरी मनाउने गर्दछन् ।

तीजको व्रतकथा शिवपुराणसँग सम्बन्धित छ । हिमालयकी पुत्री पार्वतीले विष्णुकी विवाहित हुनु नपरोस् र आफ्ना प्रियतम शिवलाई पति वरण गर्न पाऊँ भन्ने चाहना राखी यही उद्देश्य प्राप्तिका निम्ति पार्वतीलाई सखीहरूले लुकाएर जङ्गलमा पुर्‍याएपछि उनले गरेको दृढ सङ्कल्प, सङ्घर्ष (तपस्या) र शिवप्राप्तिको कथासँग जोडिएको छ । यो पर्व हरेक वर्ष भाद्र शुक्ल तृतीयाको दिन व्रत बसी आफ्ना पतिको दीर्घायु हुने विश्वासका साथ मनाउने गरिन्छ । त्यसैले तीजको ऐतिहासिक महत्त्व संस्कृतिसँग जोडिएको छ ।

संस्कृति सामाजिक संस्कारको निर्मित हो । यो प्रतीकात्मक र परिवर्तनशील हुन्छ । तीजको संस्कृति पनि रूपान्तरण भएको छ । हिजोका दिनमा पति जतिसुकै खराब भए पनि तिनका निम्ति व्रत बसेर पूजाआरधना गर्नुपर्ने परम्पराले थिचिएको तीज पर्वले आज नयाँ स्वरूप प्राप्त गरेको छ ।

संस्कृतिमा हुने परिवर्तन नै सांस्कृतिक रूपान्तरण हो । हिजोका हिन्दू नारीको पर्व आज सबै नारीको पर्व बनेको छ । सबै जाति, वर्ग, धर्म र भूगोलका दमित नारीहरूलाई शक्ति ,स्वतन्त्रता र उमङ्ग प्रदान गर्ने पर्व बनेको छ ,नारी उत्पीडनको संवाहक बनेको छ,प्रतिरोधी चेतनाको माध्यम बनेको छ , समकालीन घटना परिघटनाको परिसूचक तथा मनोरञ्जनको माध्यम बनेको छ । हिजो उत्पीडनमा बाँचेका चेली आज स्वतन्त्र जीवन जिउन पाएका छन् । शिक्षा र चेतनाले चिन्तनशील बनाएको छ, नारीका हिजोका भूमिका र आजका भूमिका परिवर्तन भएका छन् ।

व्यवस्था र व्यवहार परिवर्तन भएका छन्, सामाजिक सांस्कृतिक मूल्यमान्यता परिवर्तन भएका छन्, अहिले नारी उत्पीडन पोख्न तीज कुर्नु पर्दैन । नारीको पहिचान र प्रतिनिधित्वमा केही परिवर्तन आएको छ, आफूमाथि भएको उत्पीडन बुझ्न र प्रतिरोध गर्न सक्ने भएका छन् । लैङगिक समता र समानताको आवाज उठाउँदै हिँडेका नारीका कार्यतालिका परिवर्तन भएको छ । पढाइलेखाइ, जागिरे जीवन, नैसर्गिक रूपमा प्राप्त पारिवारिक जिम्मेवारीका कारण नारीका भूमिका फराकिला भएका पनि छन् ।

अहिले एक आपसमा सहयोग, सद्भाव र मित्रता बढ्दै जाओस् भन्ने हेतुले विभिन्न संघसंस्थामा संम्वद्ध सदस्यलाई दर ख्वाउने प्रचलन बढेको छ । तीज पितृसत्तात्मक समाजमा उत्पीडित नारीका प्रतिरोधी चेतना व्यक्त गर्ने आधार बनेको छ । परम्परित सामन्तवादी पितृसत्तात्मक समाजमा विद्यमान असमान शक्ति सम्बन्धका कारण किनारामा पुर्‍याइएका नारीहरूले भोगेका हिंसा, विभेद, अन्याय, अत्याचार, व्यथा र वेदना पोख्ने माध्यम बनेको छ । विकास निर्माणका काम, परिवर्तित गतिविधि, पितृसत्तात्मक सामन्तवादी समाज व्यवस्थामा समाज र संस्कारका नाममा हुने हरेक किसिमका उत्पीडनलाई सार्वजनिक गर्ने माध्यम बनेको छ ।

लोकप्रिय संस्कृतिका रूपमा तीज रूपान्तरित हुँदै गर्दा समकालीन समयमा यो पर्वका मौलिक खाना, नाना ,गाना परिवर्तन भएका छन् । युट्युबमा सस्क्राइभ र भ्यूज बढाउने नाममा अश्लील गीत, नृत्य आउन लागेका छन् । मनोरञ्जनका नाममा बढ्दै गएका विकृति र त्यसले समाज तथा भावी पुस्तालाई पार्ने नकारात्मक प्रभाव सोचनीय विषय बनेको छ । पुँजीवादी उपभोक्तावादी संस्कृतिका कारण तीज पर्व भड्किलो हुँदै गएको छ । एउटै रङ्गका सारी, पोते, चुरालगायतका शृङ्गारका सामग्री र गहनाको उपभोगले विदेशी बजार चम्केको छ ।

सामाजिक सञ्जालमा फरक फरक परिधानका चमकधमकसहितका तस्बिरका पोष्टले पनि अस्वस्थ प्रतिस्पर्धा बढाएको छ । तीज मान्ने समयको दायरा फराकिलो भएको छ । महिना दिन अघिबाट दर खाने परम्पराले पनि हुँदा खाने र हुनेखाने बीचको विभेद बढाएको छ । यस प्रकारको सांस्कृतिक रूपान्तरणका कारण परम्परागत खानपान, रहनसहन, चालचलन र सोचमा पनि परिवर्तन भएको नेपाली संस्कृतिमा स्थापित रहेको तीज पर्वसम्बन्धी परम्परागत मान्यतामा समेत परिवर्तन भएको छ ।

माइती घरको आँगनमा दुई चार दिन ढल्केर नाच्ने दिदीबहिनी महिना दिन अघिबाट आफू सम्बद्ध संघसंस्था, टोलसमाज, पार्टी आदिबाट दर खान जम्मा हुने, नाच्ने गाउने परम्पराले यसको दायरा फराकिलो बनाए पनि यसको मौलिकताको संरक्षणमा सचेत हुनु जरुरी छ । दमित आवाजलाई महत्त्व दिने यो पर्व सबैलाई मनोरञ्जन प्रदान गर्ने र सबैको मनमस्तिष्कमा बस्ने हुनाले लोकप्रिय संस्कृतिका रूपमा विकसित भएको छ । तीज गीतमा भएको सांस्कृतिक रूपान्तरणलाई निम्नानुसारका गीतका माध्यमबाट विश्लेषण गरिएको छ:

कहाँमा जान्छौ रानी चरी बगाल ।
बरिलै भगवानलाई भेट्न ।।
भगवानलाई भेट्न के के पागुर चाहिन्छ ?
बरिलै फूलपाती अक्षता ।।
एकुमा चाहिन्छ श्रीखण्ड चन्दन ।
बरिलै दोसरी बेलपत्र ।।
(राधा आचार्य, सन्धिखर्क नगरपालिका)

प्रस्तुत गीत धार्मिक तथा आध्यात्मिक चिन्तनसँग सम्बन्धित छ । यस गीतमा हिमालय पुत्री पार्वतीले शिवलाई पतिका रूपमा प्राप्त गर्न गरेको तपस्या र शिवजीको आकृति बनाई पूजा गरेको प्रसङ्गले तीजको पारम्परिक धार्मिक तथा सांस्कृतिक महत्त्वलाई स्मरण गराएको छ । गीतमा यो पर्व शिव पुराणसँग सम्बन्धित भएको विषय स्मरणीय बनेर आएको छ ।

हिमालयकी पुत्री पार्वतीले विष्णुकी विवाहित हुन नपरोस् आफूले चयन गरेको शिवलाई जीवनसाथीका रूपमा वरण गर्न पाइयोस् भनी साथीहरूको साथ सहयोगमा गरेको भोक हडताल, पूजा अर्चना र त्यसबाट प्राप्त सफलतालाई गीतले साङ्केतिक रूपमा बोध गराएको छ ।

शिव भगवानलाई भेट्न के के पागुर चाहिन्छ भनी प्रश्न गरिएको र फूलपाती, चन्दन अक्षता, बेलपत्र चाहिने विषयका माध्यमबाट पार्वतीको दृढ सङ्कल्प धार्मिक तथा आध्यात्मिक कार्यबाट पूरा भएको प्रतीकात्मक अभिव्यक्ति यस गीतका माध्यमबाट प्रतिबिम्बन गरिएको छ । धार्मिक तथा आध्यात्मिक चिन्तन बोकेको यो पर्वको सांस्कृतिक रूपान्तरण भएको प्रसङ्गलाई गीतका माध्यमबाट यसरी जोडिएको छ:

सबैले ल्याए चेली र बेटी,
तीजको दिनलाई, निरजाले हो तीजको दिनलाई ।।
हाम्री नि छोरी आत्तिकी होली,
जानुस् भो लिनलाई ।
निरजाले हो, जानुस् भो लिनलाई ।
पारिदेऊ पोको खै के हो लाने
लेऊ मलाई बस भाडा ।

प्रस्तुत गीतमा चेली माइती बीचको आत्मीय तथा सुमधुर सम्बन्धलाई प्रस्तुत भएको छ । तीज आएको र तीजमा छोरी आत्तिएकी होली भनी बाबा लिन जाँदा गरेको तयारीलाई गीतका माध्यमबाट प्रस्तुत गरिएको छ ।

हाम्रा बाबाले दिएको दाइजो ।
थाल र बटुको झालेमाले गाई ।।
कहिले काहीँ म माइत आउँदा ।
हाँसेर बोले है कान्छा मेरा भाइ ।।
पारि पारि आएका ढाका टोपी लाएका ।
तिनै होलान् हाम्रा बाबा लिन आएका ।।
(राधा आचार्य ः तिलोत्तमा नगरपालिका)

प्रस्तुत गीतमा नेपाली समाजमा प्रचलित दाइजो प्रथाको बारेमा सङ्केत गर्दै घर गएका दिदीबहिनी आउँदा भाइलाई हाँसेर बोल्न अनुरोध गर्नुले विवाहपछि छोरीचेली टाढा हुन्छन् भन्ने विषयलाई सङ्केत गरिएको छ । गीतमा तीजा प्रायः पिता छोरी लिन जाने प्रसङ्गलाई मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ ।

सबै नारी खुसी छन् आज ।
मनका पीर मनैमा नराख ।।
चेलीबेटी गैसके डाँडामा ।
लगाइदेऊ कोठीमा ताला बरिलै ।।
बाँकी काम गरौँला गोठको ।
फर्केर साँझ घर बरिलै ।।
तीज आयो मादल नि बज्यो ।
रमाएन खै मेरो मन बरिलै ।।
(कविता पन्थी, तिलोत्तमा नगरपालिका)

प्रस्तुत गीतले तीज पर्वको परिवर्तित सामाजिक चेतनालाई अभिव्यक्त गरेको छ । तीज पर्व हिन्दू नारीलाई माइत जान, दर खान ,डाँडामा गएर नाच्न, गाउन, रमाउन र गीतका माध्यमबाट नारीका उत्पीडनलाई सार्वजनिक गरी प्रतिरोधी चेतना विस्तार गर्न आउने विषयमा विमर्श गरिएको छ ।

यो नारीलाई शक्ति, स्वतन्त्रता र उमङ्ग प्रदान गर्ने पर्व पनि हो । यस गीतमा घरको काम थाँति राखेर भए पनि नारीहरू एकजुट भएर नारीपक्षीय भाव गीतका माध्यमबाट प्रस्तुत गर्न तयार भएको परिवर्तित परिवेश अभिव्यक्त भएको छ । गीतमा नेपाली समाजको समकालीन समस्यालाई यसरी प्रस्तुत गरिएको छ:

तीज आयो तीज आयो भन्छ चरी वनमा ।
कति राखु वेदनाको पोको मनमा ।।
बाबाआमा बुढाबुढी विदेशमा दाजुभाइ ।
किन आयो पापी तीज दुःख दिनलाई ।।
दाजुभाउजू अमेरिका लण्डन छ कान्छो भाइ ।
आमालाई सुगर छ बालाई बि पी हाइ ।।
(सिन्धु आचार्य, सन्धिखर्क, नगरपालिका )

प्रस्तुत गीतमा तीजमा वेदनाको पोको पोख्न आतुर नारीको परिवर्तित भाव प्रस्तुत भएको छ । युवाहरू दिनप्रतिदिन विदेश पलायन हुने हुँदा घरमा बुढाबुढी बाआमा मात्र बाँकी रहेको दुखेसो गीतमा प्रस्तुत भएको छ । दाजुभाइ विदेशमा हुँदा घर रोगी बाबाआमा सहाराविहीन भएको भाव गीतमा प्रस्तुत भएको छ । अमेरिका बेलायतजस्ता मुलुकमा सन्तान हुने बुवाआमाले सुगर प्रेसरजस्ता रोगले थला पर्दा पनि सन्तानको साथ नपाएको गुनासो गीतले अभिव्यञ्जित गरेको छ । संस्कृतिमा भएको परिवर्तनलाई नारीका प्रतिरोधी चिन्तनका भावनामा समन्वित गरी तीज गीतका माध्यमबाट यसरी अभिव्यक्त गरिएको छ ः

दाइजो पनि ल्याइन रे छोरो पनि पाइन रे ।
अरूले झैँ गरेर घर खाइन रे ।।
नानाथरि आक्षेप लाउँछ सुक्यो पिरले मेरो जिउ ।
जाड रक्सी खाएर सधैँ खोज्छ निहुँ ।।
बोल्न केही हुँदैन हातैहाली कुट्छ नि ।
रातभरि रोएर भिज्यो सिरानी ।।
घरका जहान एक हुन्छन् आफ्नो भन्ने कोही छैन ।
मरूँ भने काल आएन बाँच्न मन छैन ।।
(लक्ष्मी घिमिरे, तिलोत्तमा नगरपालिका)

प्रस्तुत गीतमा तीजमा महिलाहरू अभिव्यक्तिका लागि स्वतन्त्र हुने विषय अभिव्यञ्जित भएको छ । उनीहरू तीजको अल्पकालीन समयका लागि भए पनि आफ्ना इच्छा, चाहना, नारीमाथि हुने उत्पीडनका विरुद्ध विद्रोहको आवाज तीजगीतका माध्यमबाट सार्वजनिक गर्दछन्, स्वतन्त्र भएर बोल्छन् । तीजमा नारीहरू माइत जान, जम्मा हुन, नाच्न गाउन, वाद्यवादन गर्न, व्यङ्ग्य गर्न र अन्यायका विरुद्ध विद्रोही अभिव्यक्ति पस्कन स्वतन्त्र हुन्छन् । त्यस समय कसैले पनि उनीहरूको स्वतन्त्र अभिव्यक्तिमाथि प्रत्यक्ष रोक लगाउन सक्दैन ।

पुरुषवादी सत्ताले थोपरिदिएको अन्याय, अत्याचार, दमन विरूद्ध तीजेगीतमा नारीहरू जोडदार रूपले आवाज बुलन्द गर्छन् । यो समयमा वैवाहिक, सामाजिक, सांस्कृतिक मूल्य र मान्यताद्वारा निर्मित केही सामाजिक सांस्कृतिक मानक भत्किन्छन् । नारीहरू एकाकार भएर जाँडरक्सी खाएर पीडा दिने श्रीमान्को हैकम विरुद्ध विद्रोही भाव अभिव्यक्त गर्दछन् । बुहारीहरू सासूको दमनकारी व्यवहार विरूद्ध पनि बोल्छन् । सारा महिला पितृसत्तात्मक विभेदकारी संरचना र त्यसले स्थापित गरिदिएको दमन र अत्याचार विरूद्ध एकजुट हुन्छन् । दबेर रहेको उत्पीडन एक एक गरी बाहिर आउँदा संस्कृतिमा रूपान्तरण भएको भाव गीतमा यसरी अभिव्यञ्जित भएको छ:

ओम नमः शिवाय ओम नमोनम:
जेलैमा हो जेलैमा चरी जेलैमा ।
जेलैमा हो जेलैमा चरी जेलैमा ।।
मै छोरी रुँदै रुँदै बेसी मेलैमा ।
तीजको दर खान मन थ्यो ।।
माइती घर जान मन थ्यो ।
जेलैमा हो जेलैमा चरी जेलैमा ।।
मै छोरी रुँदै रुँदै बेसी मेलामा ।
गाउँकी केटी शहरैमा ।।
दियौ बाबा रहरैमा ।

प्रस्तुत गीतमा नारी उत्पीडनको चरम रूपलाई विष्णु माझीले गीतका माध्यमबाट अभिव्यञ्जित गरेकी छन् । शिवको आरधनासहित आरम्भ गरिएको यस गीतमा चेलीलाई तीजमा माइत गएर, दरसहित आफन्त तथा साथीसँगीसँग रमाउने छुट हुँदाहुँदै पनि रुँदारुँदै बेसी मेलामा जान बाध्य भएको भाव मुखर भएको छ । गीतमा तीजमा छोरीलाई माइतीको आँगन टेक्ने छुट भए पनि रुँदारुँदै बेसी मेलामा जान बाध्य भएकी चेलीको अन्तर मनको दुखेसोलाई प्रस्तुत भएको छ ।

गीतमा नारीको पराइ घरको उत्पीडनलाई जेलको पीडाका रूपमा चित्रण गरिएको छ । एउटा पिताले गाउँमा हुर्केकी छोरीलाई सुख सुविधाको लागि सहरमा दिएको तर छोरी दुःखको भुमरीमा परेको अवस्थालाई जेलमा परेको चरीसँग तुलना गरिएको छ । तीजको दर खाने मन हुँदाहुँदै माइती घर जाने मन हुँदाहुँदै पनि पितृसत्तात्मक सामन्तवादी युगमा निगमनकारी निकायको नियन्त्रणका कारण नियन्त्रित हुँदाको उत्पीडन गीतमा प्रस्तुत भएको छ ।

परिवर्तित सामाजिक चेतनाको अभिव्यक्तिलाई यस गीतले प्रतीकात्मक रूपमा प्रस्तुत गरी नारी उत्पीडनका विरुद्ध प्रतिरोधी भावका माध्यमबाट सांस्कृतिक रूपान्तरण अभिव्यञ्जित गरेको छ । चेलीको वेदना शीर्षकमा नेपाली लोक मानसमा प्रचलित निम्नलिखित गीत्यांशमा नारी समस्याको प्रस्तुतीकरण यसरी भएको छ:

आज मलाई सन्चो छैन बिहानका चिसोले ।
बजै उठी दैलो पोतिन् मेरै रिसले ।।
एकाबिहानै उठेर दैलो कुचो गरेर ।
सिसबेसी घाँस काट्न गैयो बरिलै ।।
गरुँगो भारी बाबा असिनधारे पानी ।
बिसौनामा बिसाएर रोइयो बरिलै ।।
(सरिता पोख्रेल, बाणगङ्गा नगरपालिका)

प्रस्तुत गीतमा बुहारीको पीडा र मर्म मुख्य विषयवस्तुका रूपमा मुखरित भएको छ । सासू र बुहारीको सम्बन्ध आमा र छोरीको जस्तो हुनु पर्ने हो तर अधिकांश सासू बुहारी बिचको सम्बन्ध चिसोहुने विषय गीतमा आएको छ । सासूले बुहारीमाथि बढी दमन र हैकम लाद्न खोज्ने गुनासो गीतका माध्यमबाट प्रस्तुत भएको छ ।

शक्ति सम्बन्धका आधारमा किनारामा रहेका बुहारीको विद्रोही अभिव्यक्तिले स्थापित वैवाहिक, सामाजिक र सांस्कृतिक मानकको विनिर्माण गर्दै सबाल्टर्न महिला बोलेको देखिन्छ । किनारामा रहेका बुहारीले आफ्ना व्यथा, वेदना र उत्पीडनजस्ता वर्षोंदेखि दबिएका आवाज गीतका माध्यमबाट प्रस्फुटन भएका छन् ।

बाबाका दैलामुनी ठुलो पाटो रापटा ।
कति राम्रो फुलेको तोरी बरिलै ।।
बुझिदिनुस् बाबाले सोचिदिनुस् सबैले ।
किन हेला हुनुपर्यो छोरी बरिलै ।।
छोरी भनी हेला गर्ने सबै हुन्नन् पशु त ।
यो मनको विरह भनु को सित ।।
सूर्यबिना कस्तो हुन्छ दिउँसोको दृष्टि ।
छोरीबिना यो धरतीमा हुन्न सिरिस्टि ।।
म अभागी भएर छोरी जन्म लिएको ।
छोरो पनि त्यै छोरीले जन्म दिएको ।।
(गङ्गा पन्थी, रेसुङगा नगरपालिका)

प्रस्तुत गीतमा नारीको शक्ति र उन्मुक्ति अभिव्यञ्जित भएको छ । यही शक्तिमाथि टेकेर महिलाले विद्रोही इतिहासको निर्माण गर्दै मानवीय व्यवहार, समानता, स्वतन्त्रता र मुक्तिको उद्घोष गर्छन् । यस अवसरमा उनीहरुले परम्परित सामाजिक सांस्कृतिक मानकहरू भत्काउँदै पितृसत्ता विरूद्ध सार्वजनिक रूपमा सशक्त आवाज बुलन्द गरी सांस्कृतिक रूपान्तरण गीतमा गरेको भाव अभिव्यञ्जित भएको छ । पितृसत्तात्मक समाजमा सामाजिक सांस्कृतिक विकृतिका विरोधमा बोल्न तीज आउनु पर्ने भाव छोरीलाई विभेदको दृष्टिले हेरिने गीतका माध्यमबाट मुखर भएको छ ।

समाजमा अधीनस्थ छोरीबुहारीले दुःख पोख्ने ठाउँसमेत नपाएको भावलाई गीतका माध्यमबाट व्यङ्ग्यात्मक तथा सामाजिक सांस्कृतिक वर्ग चेतनाको विद्रोही आवाज बुलन्द भएको छ । यस गीतमा पितृसत्ताका कारण केन्द्रमा सत्तासीन छोराहरू पनि छोरीहरूकै काख र कोखबाट हुर्केको भाव प्रस्तुत गर्दै लैङ्गिक समता र समानताको आवाजलाई प्रतिरोधी चेतनाका माध्यमबाट प्रतिबिम्बन गरी तीज गीतका माध्यमबाट सांस्कृतिक रूपान्तरण मुखर भएको छ:

कुसंस्कारलाई तोडेर फाल्न पनि नपाइने ।
स्वामीज्यूको हुकुमबिना डग्न नपाइने ।।
वैशाख मासको सुकेका पँधेरा ।
पालैपालो रुघेर आएँ म घर ।।
पानी लेर आउँदाखेरि घरका जहान रिसाउने ।
यो घरमा छैन मेरो कोही टिठाउने ।।
स्वामीजी जानुहुन्छ जुवातास खेलन ।
पर्यो मलार्ई घरको काम एक्लै गरन ।।
(सीता भण्डारी, तिलोत्तमा नगरपालिका)

प्रस्तुत गीतले शोषण र अन्यायका विरोधमा गुञ्जिने तीज गीतका माध्यमबाट आजको सामाजिक सन्दर्भमा समाजमा विद्यमान पितृसत्ताको वर्चस्वलाई यथार्थ रूपमा अभिव्यञ्जित गरेको छ । यी गीत नेपाली समाजका लागि ज्ञान र चेतना विस्तारका आधारका रूपमा पनि रहेका छन् । पचासको दशकतिर गुञ्जने यस्ता तीज गीतमा व्यवस्थामा परिवर्तन आए पनि व्यवहारमा परिवर्तन आउन नसकेको भाव मुखरित भएको छ ।

गीतमा नारीको स्वतन्त्रतालाई नियमन र नियन्त्रण गर्न बनेको पितृसत्ताले धर्म संस्कृतिका माध्यमबाट होस् अथवा समकालीन अन्य सन्दर्भबाट होस् महिलालाई अधीनस्थ गर्न नछाडेको भाव प्रस्तुत भएको छ । नारीका कामको मूल्याङ्कन नहुने तर कामले कहिल्यै नछाड्ने परिस्थितिमा पनि पति रूपको आर्जित सम्पत्तिका रूपमा रहँदा उपभोग्य वस्तुका रूपमा रहनुपर्ने अवस्थालाई गीतका माध्यमबाट सार्वजनिक गरी प्रतिरोधी चेतनाका माध्यमबाट सांस्कृतिक रूपान्तरण मुखर भएर आएको छ ।

बरिलै कदमको छायाले, सुन्तलीको डालीमुनि, कहाँ जान हिँडेकी गङ्गाजी माई, हाम्रा बाबाले दिएको दाइजो, सासू मुख हेरम् भनी पोल्ने आगा झैँ, म एउटी छोरीलाई डाँडै कटौनी, मेरो माया बसेको ठाउँमा ,अरेली काँडैले, चरी जेलैमा, म त ननाउरी आमै, हाम्रा बाबाका तेह्र भैनी छोरी…. , छन त म राम्री छैन भन त मन पर्छै पर्दैन, मै मोटी भएको दुनियाँलाई पिर, म त मसक्कै…,तीजको लहर, अचम्मै राम्रो नाच्छे मोरीले, निरजाले हो टेबलमा ऐना छ, माछामासु खाने हो माइती घरैमा, लौरी हरायो, सानो भयो मादलु मादलुको आइन मलाई ताल, बाटुलो निधारमा लाउँछु टपक्कै, टोपी खस्यो मेरो पोखरा फेवा तालमा, फाटिदे बादलु हेर्छु म माइतीको देशजस्ता गीतले परम्परित संस्कृतिसहित सांस्कृतिक रूपान्तरणको बोध गराई लोकप्रिय संस्कृतिको मार्ग प्रशस्त गरेका छन् ।

यसरी तीज गीतमा अभिव्यक्त सांस्कृतिक रूपान्तरण नेपाली समाजले अङ्गीकार गरेको सामाजिक, राजनीतिक र शैक्षिक परिवर्तनका साथै परम्पराका नाममा नारीमाथि हुने विभेदकारी भाष्य विरोधी मान्यताका रूपमा विकास भएको छ । संस्कृति समयसापेक्ष परिवर्तन र संशोधन भइरहने मानवीय विषय रहेकाले यो कालक्रमिक रूपमा परिवर्तित हुने पक्ष संस्कृतिमा पनि लागु हुन्छ ।

नेपाली समाजमा भएका सांस्कृतिक रूपान्तरणका कारण नेपाली तीज गीतले लोकप्रिय संस्कृतिको स्वरूप ग्रहण गरेको छ । लोकप्रिय संस्कृति अल्पकालीन समयमा स्थापित भई विलयन हुने सांस्कृतिकता हो । सांस्कृतिक अध्ययनमा लोकप्रिय संस्कृति परम्परागत दमन र विभेदका कारण अप्रतिनिधित्वको मारमा परेका समूहको प्रतिनिधित्वलाई सुनिश्चित गर्ने माध्यम रहेको छ भने यसको प्रवर्द्धन गर्नका लागि सामाजिक सञ्जाल तथा सञ्चार माध्यमको मुख्य भूमिका रहेको हुन्छ ।

(लेखक राममणि बहुमुखी क्याम्पस रुपन्देहीमा अध्यापन गर्छिन् ।)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *