चितवन । चितवनका महिला शिक्षकले शिक्षा ऐन छिटो ल्याएर आफूहरूको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
तीज गीत प्रतियोगिता मार्फत यहाँका महिला शिक्षकहरूले सरकारलाई शिक्षा ऐन ल्याउन र महिला शिक्षकलाई विशेष सम्बोधन गर्न ध्यानाकर्षण गराएका हुन् ।
नेपाल राष्ट्रिय शिक्षक संगठन चितवन, महिला विभागले गरेको तीज गीत प्रतियोगितामा चितवनका सात पालिकाका महिला शिक्षकले प्रतिस्पर्धात्मक तीज गीत गाएका थिए ।
उनीहरूले तीजका भाका मार्फत सरकारले २९ दिनसम्म काठमाडौँमा भएका आन्दोलनमा ऐन ल्याउने सहमति गरे पनि अझै संसदमा टेबुल गर्न ढिलाइ गरेको भन्दै संसदमा जतिसक्दो चाँडो ऐन ल्याउन अनुरोध गरेका थिए ।
देशभरमा भएकामध्ये बालविकास, राहत शिक्षक बढी महिला रहेको भन्दै बालविकासका महिलाहरूमाथि सरकारले नै विभेद गरेको । अझ संघीय सरकार, स्थानीय तह र स्कूलबाट फरक फरक व्यवहार गरेको समेत उनीहरूले गुनासो गरेका थिए ।
आठ समूहमा विभाजित भएर पालिका स्तरमा गरिएको प्रतियोगितामा उनीहरूले शिक्षक संगठत तथा महासंघले पनि सरकारसँग गरिएको सहमति पालना गराउन इमान्दार नभएको भन्दै स्वार्थ केन्द्रित समूह शिक्षक ऐन बनाउन सक्रिय रहेको बताएका थिए ।
निजामती कर्मचारी र शिक्षकबीच भएको विभेद हटाउने गरी ऐन निर्माण गर्न समेत उनीहरूले माग गरे । प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिएर राप्ती नगरपालिकाको समूह प्रथम, रत्ननगर दोस्रो, इच्छाकामना समूह तेस्रो र माडी नगरपालिका चौथो भएको थियो ।
कार्यक्रमकी प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय सदस्य तथा शिक्षा तथा मानव संसाधन विभाग प्रमुख पार्वती रावलले अहिलेको सरकार शिक्षा ऐन ल्याउन तयार भएको बताइन् ।
उनले विद्यालयका शिक्षक, कर्मचारीका समस्या सधैँको लागि अन्त्य गर्नेगरि ऐन छिटै संसदमा लैजाने तयारीमा सरकार रहेको र शिक्षक महासंघले यसमा सहयोग गर्नुपर्ने उनको भनाइ थियो ।

Leave a Reply