काठमाडौं । प्रहरी नेतृत्वको म्याद सकिने दिन जति जति नजिकिँदैछ, भनसुन र दौडधुपको क्रम पनि त्यही अनुपातमा बढ्दैछ ।
संसदमा विचाराधीन नेपाल प्रहरी विधेयक २०८१ संसदको चालू अधिवेशनभित्र जारी हुने सम्भावना टरेसँगै ३१ औँ प्रहरी महानिरीक्षक (आईजी) दीपक थापासहित दुई एआईजीले १८ र एक एआईजीले १४ गते अवकाश पाउँदैछन् । थापाको अवकाशपूर्व उनको थमौतिका निम्ति एउटा भित्री चलखेल चलिरहेको छ, म्याद थप्ने, थप गरिएको म्यादभित्रै नयाँ विधेयक जारी गरेर पद लम्ब्याउने ।
तर, संसदमा विचाराधीन विधेयक अगाडि नबढाउने, निश्चित व्यक्ति हेरेर म्याद थपको खेलो चलाउने भन्दै अर्कोथरि आवाज पनि उत्तिकै बलियो बनेको छ । त्यसैले थापाको म्याद थपिने सम्भावना पनि न्यून छ ।
त्यसो त प्रहरीका प्रत्येक आईजी अवकाश हुनुपूर्व एकपटक म्याद थपको खेलमा संलग्न हुँदै आएका छन् । तर, कोही पनि सफल भएका छैनन् । यो कुरा बुझेर थापा आफ्नो म्याद थपका लागि आफैँ केही बोलिरहेका छैनन् । उनको पक्षमा केही नेता र सांसद भने भनसुनमा लागेका छन् ।
खापुङ कि अर्को व्याच ?
प्रहरी प्रचलनअनुसार एक व्याचलाई उछिनेर अर्को व्याचलाई संगठनको नेतृत्व दिइँदैन । तर, कोही व्यक्तिलाई पुगनपुग तीन महिनाका निम्ति आईजी बनाउनुभन्दा बनाएको व्यक्तिले एक वर्षभन्दा बढी काम गर्न पाउनुपर्ने तर्क एकथरिले गर्दै आएका छन् ।
वर्तमान आईजी थापाको अवकाशपछि ३२ औँ महानिरीक्षकका रूपमा संगठनको नेतृत्व उनकै व्याचका, तर नियुक्तिपत्र प्राप्त मिति फरक हुनाले एआईजी चन्द्रकुवेर खापुङ एक्ला दाबेदार छन् । आईजी थापामात्रै नभएर यसअघिका ३० औँ आईजी बसन्त कुँवरको टोलीले एउटै सूचनाका आधारमा प्रहरी इन्स्पेक्टर भर्नाका निम्ति आवेदन दिएका थिए । परीक्षा सँगै दिए । परिणाम पनि सँगै आयो । तर, कतिपयले २०५१ चैत ५ को नियुक्तिपत्र पाए । कतिपयले २०५२ भदौ १९ र केहीले २०५२ कात्तिक २७ को मितिमा नियुक्तिपत्र पाए । तालिम भने सबैले सँगै गरे ।
कात्तिक २७ मा नियुक्तिपत्र पाउनेमध्ये सबैले उमेरहदका कारण अवकास पाइसके । बाँकी छन्, एक्ला खापुङ । त्यही मितिमा नियुक्त प्रहरी इन्स्पेक्टरहरू राजेशनाथ बास्तोला, लालमणि आचार्य, यज्ञविनोद पोखरेल, सुरेन्द्रप्रसाद मैनाली, चक्रबहादुर सिंह, अनुरागकुमार द्विवेदी, मधुसुदन लुइँटेल, डिल्लीराज पन्त र मोहनप्रसाद पोखरेलले उमेर हद लागेर विभिन्न मितिमा डीआईजी दर्जाबाटै अवकास पाइसकेका छन् ।
उक्त मितिमा नियुक्तिपत्र प्राप्त गर्नेमध्ये अब बाँकी छन्, कृष्णहरि शर्मा पोखरेल र खापुङमात्रै । त्यसमध्ये पोखरेल भदौ १४ मा उमेरहद लागेर अवकास हुँदैछन् । त्यसपछि खापुङमात्रै बाँकी हुन्छन् । प्रहरी अभिलेखअनुसार उनको जन्ममिति २०२७ मंसिर २३ हो । उनी मंसिरमा ५५ वर्ष लाग्छन् । प्रहरीमा एआईजी र डीआईजीको अवकासका निम्ति विद्यमान उमेर व्यवस्था ५६ हो ।
यदि वर्तमान ३१ औँ आईजी थापाको अवकासपछि खापुङ ३२ औँ आईजी नियुक्त भएमा उनी पनि कात्तिक २६ को मध्यरात अवकास हुन्छन् । किनभने, संसदको वर्षे अधिवेशन सामान्यतया दशैंअगाडि (असोज) मा समाप्त हुने र हिउँदे अधिवेशन मंसिरमा बोलाउने प्रचलन छ । त्यसअनुसार, प्रहरी विधेयक पारित भएर नयाँ व्यवस्थाअनुसार जागिर लम्ब्याउने सुविधा खापुङले पनि पाउँदैनन् ।
के फड्को मारिन्छ ?
प्रहरीभित्र र प्रहरीसँग सरोकार राख्ने प्रशासनिक तथा राजनीतिक नेतृत्वभित्र चर्चा छ, कोही व्यक्तिलाई पुननपुग तीन महिना आईजी बनाउनुभन्दा त्यसपछिको व्याचमा रहेको जटिलतालाई हल गर्ने सीधै अर्को टोलीमा पो फड्को मार्ने कि ? तर, यो तर्क प्रहरीमा चल्दै आएको अभ्यासविपरीत छ ।
किनभने, २६ औँ आईजी सर्वेन्द्र खनालले २०७६ चैतमा अवकास पाएपछि २०७७ असार २४ गतेसम्म ठाकुरप्रसाद ज्ञवाली २७ औँ आईजी भएका थिए । उनी तीन महिनाभन्दा केही दिन बढीमात्र आईजी भए । त्यसपछि असार २५ देखि २०७९ वैशाख १८ सम्म शैलेस थापा क्षेत्री २८ औँ र वैशाख १९ देखि चैत १० सम्म धीरजप्रताप सिंह २९ औँ आईजी भए । चैत ११ देखि २०८१ चैत ४ सम्म बसन्त कुँवरले ३० औँ आईजीको जिम्मेवारी बहन गरेका हुन् ।
‘नमस्ते’ कि ‘सलाम’ टोली ?
अहिले खापुङलाई आईजी बनाउने कि नबनाउने ? भन्ने कुराको बहस त्यसपछिको दुई टोलीबीचको ‘क्रोनिक वार’ लाई व्यवस्थापन गर्ने कुरासँग सम्बन्धित छ ।
नेपाल प्रहरीमा २०५८ सालमा राष्ट्रिय अनुसन्धान विभागबाट समायोजित भएको टोली अनुसन्धान विभागको भर्ना मितिका आधारमा नेपाल प्रहरीको टोलीभन्दा सिनियर छ । उक्त टोलीले इन्स्पेक्टरबाट डीएसपीदेखि डीआईजीसम्म मितिमा बढुवा पाउँदै आयो । तर, डीआईजीबाट एआईजी हुने बेलामा प्रहरीको इन्स्पेक्टरकै रूपमा भर्ना भएको (सलाम गर्ने) टोलीले निकै ठूला प्रतिष्ठाको विषय बनाउँदै ‘नमस्ते’ भनिने राष्ट्रिय अनुसन्धान विभागबाट समायोजित टोलीलाई छेकबार लगायो । फलतः पहिलो लटमा ‘नमस्ते’ भनिने टोलीका कोही पनि एआईजी बढुवा भएनन् ।
यसरी डीएसपीदेखि डीआईजी हुँदासम्मको वरीयता एआईजी बनाउने बेलामा मिचिएका कारण ठूलो अन्याय महसूस गरेको ‘नमस्ते’ टोली अहिलेको राजनीतिक परिदृश्यमा शक्तिशाली भएको छ । त्यसैले उक्त टोलीबाट सके ३२ औँ, नभए पनि ३३ औँ आईजी सुरक्षित गर्ने खेलो निकै बाक्लिएको छ ।
उक्त टोलीबाट अहिले सिद्धिविक्रम शाह एक्ला एआईजी छन् । उनी अनुसन्धान विभागको अधिकृतमा २०५३ पुस ५ मा भर्ना भएका हुन् । उनी गत जेठ १५ मा एआईजी बढुवा भएका हुन् । त्यसअघि वैशाख ११ मा एआईजी बढुवा हुने दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोजकुमार केसी पनि सकेसम्म ३२ औँ, नभए पनि ३३ औँ महानिरीक्षकको दौडमा छन् ।
कार्की, अधिकारी र डा. केसी नेपाल प्रहरीको इन्स्पेक्टरमा २०५४ चैत १८ मा बढुवा भएका हुन् । ‘नमस्ते’ टोलीले चुनौती दिँदा उनीहरू ‘सलाम’ का रूपमा चिनिन्छन् । यद्यपि, ‘नमस्ते’ भनिने टोलीले पनि उनीहरूले जस्तै तालिम लिएका छन् । ‘सलाम’ गर्न र फर्काउन पनि जानेका छन् । सशस्त्र द्वन्द्वकालदेखि नै प्रहरी जीवनका सबै चुनौतिपूर्ण क्षण सामना गरेका छन् ।
यदि शाह आईजी भएमा उनी उनी २०८३ पुस ९ मा अवकास हुन्छन् । र, त्यसपछि कार्की, अधिकारी र डा. केसीमध्ये एकले २०८४ चैत १७ सम्म संगठनको नेतृत्व गर्छन् । तर, सीधै कार्की, अधिकारी र डा.केसीमध्येबाट अहिले आईजी भएमा शाह एआईजीबाटै बिदा हुन्छन् ।
एआइजी बढुवामा अगाडि रहेको र नेपाल प्रहरीको महानिरीक्षक अहिलेसम्म राअबिबाट आएकाहरुले नगरेका कारण पनि राजन अधिकारी,दानवहादुर कार्की र मनोज केसीकै ब्याचबाट हुनुपर्ने लबिङ छ । त्यसो त यहि टोलीमा पनि हिजो नमस्ते टोली रोक्नेबेलाको जस्तो मतैक्य भने छैन ।
अधिकारी पूर्वको पावर भिडाएर आइजीपी बन्ने लाइनमा छन् भने कार्की पनि बरियता कायम राख्दै आफ्नो शक्ति भिडाउँदैछन् । यो खेलमा डा.केसी केही पछाडि नै छन् ।
के छ राजनीतिक हिसाब किताब ?
नेपाली कांग्रेस र एमाले गठबन्धनको सरकार कात्तिकसम्म जाने निश्चितझैँ छ । त्यसैले उक्त कुराको निश्चितता भएमा खापुङलाई कात्तिक २६ सम्मको आईजी बनाइँदैछ । यदि गठबन्धनमा तलमाथि हुने स्थिति भएमा ‘सक्नेले’ आईजी बनाउँदैछन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको रुचि र छनौटभित्र शाह देखिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको पहाड घर तेह्रथुमको एउटै गाउँका बासिन्दा भएका कारण पनि पुर्ख्यौली जिल्लाको इतिहास बनाउन खापुङलाई आईजी बनाउने कुरामा उनको प्रतिवद्धता देखिने प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।
अर्थात्, कात्तिक २६ सम्म प्रधानमन्त्रीको रुचिका र त्यसपछि कांग्रेस सभापतिको रुचिका आईजी बनाउने राजनीतिक खेलो भित्रभित्रै पाकेको छ । त्यसपछि हुने आईजीमा प्रधानमन्त्रीका वर्तमान जिल्ला (झापा) बासीका कारण पनि उनी राजन अधिकारीप्रति सकारात्मक भन्ने चर्चा छ । यद्यपि, कार्की र डा. केसी पनि राजनीतिक खेलोमा उति कमजोर छैनन् । कार्की गुल्मी र डा. केसी नुवाकोटका बासिन्दा हुन् ।

Leave a Reply