काठमाडौं । ‘पूर्णबहादुरको सारंगी’ ले बक्स अफिसमा सुनामी ल्याएपछि अभिनेता विजय बरालको करियरले अचानक पिकअप लियो । ‘बिके’, ‘मंगलसिंह’ जस्ता साहायक पात्रमा रमाइरहेका विजयलाई मुख्य भूमिकामा अफर आउन थाल्यो । चलचित्रका स्क्रिप्टहरूको थाक लाग्न थाले । दुई गुणा, तीन गुणा बढी पारिश्रमिकको अफर लिएर निर्माताहरू लाइन लागे ।
यो सफलता उनले १७/१८ वर्षदेखि दायाँबायाँ नगरी अभिनयको क्षेत्रमा गरेको त्याग र मिहेनतको परिणति हो । विजयलाई लाग्छ, यी सबै घटना, प्रतिघटनाको कारण सपना प्राप्तिका खातिर उनले गरेको निरन्तरको कोसिस हो । तर, यही चलचित्रलाई आफ्नो यात्राको अन्तिम बिसौनी मान्न तयार छैनन् विजय ।
‘यो मेरा लागि ठूलो सफलता हो, तर, मैले यहीँ रमाएर बस्ने सुविधा मलाई छैन । मैले सफलता सेलिब्रेट गरेर पुनः यात्रामा निस्कनुपर्छ,’ विजय सुनाउँछन्, ‘गन्तव्य त मेरो धेरै टाढा छ । मैले पुग्नुपर्ने ठाउँ त धेरै पर छ ।’
‘पूर्णबहादुरको सारंगी’बाट उनले लिएको पारिश्रमिक (बोनससहित) हिसाब गर्ने हो भने करोडमाथि पुग्छ । पूर्णबहादुर नामक पात्रले छोराको सपना पूरा गर्न गरेको संघर्षले लाखौं दर्शकहरूलाई छोयो । पूर्णबहादुरजस्तै निर्दोष बालाई गाउँमा छाडेर सपनाको सहर छिरेको छोराको कथा लिएर विजय पुनः दर्शकमाझ आउँदैछन ।
बाको पात्रमार्फत् दर्शकलाई रुवाएका थिए, अब छोराको पात्रमार्फत् दर्शकलाई कतिको भावुक बनाउँछन्, त्यो भदौ ६ गतेपछि मात्रै थाहा हुनेछ । उनै विजयले हामीसँग ‘पूर्णबहादुरको सारंगी’ ले दिएको अवसर र चुनौती, अबको यात्रा, सपना प्राप्तिका लागि गरेको संघर्षलगायतका विषयमा नेपाल प्रेससँग मन खोलेर कुरा गरेका छन् –
पूर्णबहादुरको सारंगी अघि र पछि :
‘पूर्णबहादुरको सारङ्गी’ ले तपाईंको जीवनमा के-के बदलाव ल्यायो ?
समाजले मलाई र परिवारलाई हेर्ने दृष्टिकोणमा बदलाव आयो । आर्थिक अवस्थामा अलि सुधार आयो । ‘पूर्णबहादुरको सारंगी’ अघि र पछिमा धेरै कुराहरू बदलिए । सफलताले मान्छेको धेरै कुरा बदलिदिँदो रहेछ ।
– के के बदलिदियो ?
आर्थिक हिसाबले सहज बनाइदियो । साथीभाइ र समाजहरूले ‘आइज न, एकचोटि प्रोग्रामको उद्घाटन गर्दे‘, ‘तँ आएर बोल्दे’, ‘हाम्रोमा चिया खान आइदे’ भनेर सम्झन थाले । स्क्रिप्टहरू धेरै आए, चलचित्रको अफरहरूको संख्यामा बढोत्तरी भयो ।
– त्यो त कलाकारको रूपमा भयो, मान्छेको रूपमा के के परिवर्तन भयो ?
मान्छेको रूपमा विजय बराल केही परिवर्तन छैन ।
– स्वाभावमा ?
स्वाभावमा केही पनि छैन ।
– अहंकार, घमन्ड बढ्यो कि ?
त्यो पनि जीरो, केही छैन । मनमा चाहिँ कतै ‘त्यस्तो ठाउँबाट आएर केही गरेँ’ भन्ने लागिरहन्छ । तर, व्यवहारिक र आत्मिक रूपमा केही परिवर्तन छैन । अहिले तपाईँसँग बोलिरहँदा पनि पूर्णबहादुर अगाडिकै सर्ट लाइरहेछु । त्यो बेलाको पाइन्ट लाइरहेछु । एउटा, दुइटा कुरा टोपी बदलियो होला । तर, म जस्तो थिएँ, त्यस्तै छु ।
– साँच्चै परिवर्तन भएन ?
हामी थिएटर गर्ने मान्छे हौं । थिएटर अलिकति योग, ध्यान, साधनासँग नजिक-नजिक हुन्छ । ध्यानकै एउटा प्रयोग जस्तो हो । परिवर्तन हुने कुरै छैन ।
– सिधा भन्दाखेरि ‘पूर्णबहादुरको सारङ्गी’ पछि व्यस्तता चाहिँ बढ्यो, घमण्ड चाहिँ बढेन ?
घमण्ड त बढेन । अहिले समाजले मप्रति हेर्ने दृष्टिकोण चाहिँ अलग भएको हो कि लाग्छ ।

– पूर्णबहादुर सारङ्गीमा तपाईं सेयरमा पनि हुनुहुन्थ्यो होइन ?
अँ, ५ प्रतिशत सेयरमा थिएँ ।
तपाईँले कति जति पाउनुभयो सबै गरेर ?
लगभग ८५-८६ लाख आउँछ । ट्याक्स तिरिसकेपछि त्यति आउँछ ।
– पूर्णबहादुरपछि फिल्मको अफर चाहिँ धेरै आयो है ?
हजुर, धेरै अफरहरू आए ।
– पारिश्रमिक पनि ह्वात्तै बढाउनुभएको हो ?
ह्वात्तै हैन, ठीकै बढ्यो । मैले डिमान्ड गरिनँ । उहाँहरूले आफैले एउटा अनुमानित डिमान्ड राख्नुभयो, मैले स्वीकार गरेँ ।
– चलचित्र क्षेत्रमा पारिश्रमिकको लफडा भइरहन्छ, तपाईँलाई कस्तो लाग्छ ?
मलाई यति मात्रै लाग्छ, हामीले एक्सन र कटको बीचमा काम देखाउनुपर्छ । हलमा छिरेको दर्शकलाई बुझाउन सक्नुपर्छ । अरु चिज भनेको गौण कुराहरू हुन् ।
– लगभग १० महिनापपछि मुख्य भूमिकामा ‘जनै हराएको मान्छे’मा देखिँदै हुनुहुन्छ, कतिको प्रेसर महसुस भइरहेको छ ?
थोरै । अलिकति भार महसुस चाहिँ हुन्छ । नत्र त अभिनयको हिसाबले मेरो क्षमता जति छ, त्योभन्दा बढी गर्न सक्दिनँ । मेरो चरीत्रहरूले गर्ने मौलिक शैलीहरू निर्माण चाहिँ गरेको छु । मलाई चुनौती यति मात्रै हो कि मेरा अघिल्ला कामभन्दा यो चलचित्रको काम फरक देखिनुपर्छ । चलेका कलाकार हुँदैमा चलचित्र चल्छ भन्ने देखिएको छैन । कन्टेन्ट दह्रिलो हुनुपर्छ भन्ने आइसकेको छ ।
– ग्रस कलेक्सन गर्ने सन्दर्भमा ?
केही नभए पनि प्रोड्युसरको लगानी उठोस्, सिनेमा हेर्ने दर्शक सन्तुष्ट हुनुहोस् ।
सपना पूरा हुँदाको अनुभूतिः
– तपाईंले अभिनय मात्रै गरेको १८ वर्ष भयो है ?
मैले जीवनमा अभिनय बाहेक केही गरिनँ । न बिजनेस गरेँ, न डिरेक्सन गरेँ, न राइटिङ गरेँ । मात्र निरन्तर अभिनय गरेँ ।
– मण्डला थिएटरका पुराना दिनहरूलाई कसरी सम्झिनुहुन्छ ?
यो सफलतालाई पछाडि छोडेर हेर्दा आफ्नो सपना भन्ने हुँदो रहेछ । सपना देख्नेहरूको भिड थियो मण्डला थिएटरको हाम्रो समूह । १०-१५ जना थियौं । अहिले प्रायजसो सबै स्थापित छन् । हामी सबैको अभिनयबाहेक अरु सोचै थिएन ।
– पुरानो मण्डलालाई सम्झँदाखेरि कस्तो लाग्छ ?
त्यही मण्डला चाहिँ मण्डलाजस्तो लाग्छ । त्यहाँ सानो, चिटिक्कको स्पेश थियो । पार्किङको अभाव थियो, तर रमाइलो थियो । सबैलाई सुविधा थियो, सुलभ थियो ।
– सपना देख्नु चाहिँ पर्दो रहेछ, हैन ?
सपना देख्नुपर्छ, तयारी गर्नुपर्छ, अनि बल्ल पूरा हुन्छ ।
– सपना पूरा हुँदाखेरि कस्तो हुँदो रहेछ ?
मजा आउँदो रहेछ । कहिलेकाहीँ त्यो विपसेनामा बस्दा, ध्यान गर्दाखेरि शरीरमा अलग खालको ऊर्जा महसुस हुन्छ भन्छन् नि, त्यस्तो खालको मजा आउँदो रहेछ । तर, त्यही मजा मानेर रमाइरह्यौं भने हराइहालिन्छ, सकिएर गइन्छ । त्यो सफलताको मजा लिने मात्रै हो । फेरि संघर्ष सुरू भइहाल्छ । सफलता भनेको अर्को सफलताको सुरू सुरूवात हो ।
जस्तो भूमिकाको लागि पनि तयार
– लामो समय सहायक पात्रको भूमिकामा देखिनुभयो । अब चाहिँ कसैले तपाईंलाई सहायक पात्रको रूपमा अफर गर्यो भने ?
मज्जाले गर्छु । पात्र गज्जबको हुनुपर्यो । पात्रको उठान र बैठान राम्रो हुनुपर्यो । दोस्रो चाहिँ पैसाको कुरा होला, त्यो मिलेपछि गरिहालिन्छ ।
– त्यत्रो सोलो हिट दिएँ, अब सहायक पात्रमा गर्दिनँ भन्ने लाग्दैन ?
त्यस्तो लाग्दैन । भरसक मुख्य भूमिकामै अफर आओस् भन्ने लाग्न चाहिँ लाग्ला । तर, सहायक पात्रमै काम गर्दिनँ भन्ने लाग्दैन ।
– सहायक पात्रमा हुँदा अलि चुनौती कम हो ?
हो, चुनौती नै हुँदैन । चुनौती नै छैन ।
– किन ?
चलचित्रको भार हुँदैन नि त ! सहायक चरित्रले को-एक्टरसँग मात्र तालमेल मिलाए पुग्यो । तर मुख्य चरित्रमा भनेपछि अढाई-तीन करोडको भार थपिन्छ ।
– ‘जनै हराएको मान्छेमा’ मान्छेमा केकी र मिरुनालाई भन्दा बढी भार तपाईँलाई हो ?
भार सबैलाई हुन्छ । भोला सापकोटा, केकी, गौरव, रेअर सबै लिडमै हुनुहुन्छ ।
– प्रचार सामग्रीहरूमा त तपाईंकै प्रभूत्व छ ?
त्यस्तो किन पनि भन्दा सम्बन्धको धागोको लाइन चाहिँ पकडेर कुद्ने म नै हो नि त ।
उपेन्द्र, रामबाबुप्रति शतप्रतिशत भरोसा
– दशैंको भोलिपल्टै तपाईंहरू ‘कबड्डी ५’ को सुटका लागि जाँदै हुनुहुन्छ । चलचित्रमा तपाईंको भूमिका अलि पृथक हो कि बिके नै हो ?
पात्र त मेरो बिके नै हो । महत्वको कुरा गर्दा भाग एकदेखि ४ सम्म बिके नै चाहिन्छ । म फेरि राम दाइ, उपेन्द्र दाइ, निश्चल दाइलाई केही भन्दिनँ । किनभने उहाँहरू घरभित्रको मान्छे हो । दाइहरूले बनाएको मान्छे हो म । उहाँहरूले मलाई जिरोदेखि देखिरहनुभएको छ । उहाँहरूले जे लेखेर दिनुहुन्छ, विजयलाई यत्तिको बनाउनुपर्छ भन्ठानेर लेखेर दिनुहुन्छ ।
म उहाँहरूलाई ‘दाइ, यो रोल भएन, यो हुनुपर्छ’ भनेर कहिल्यै भन्दिनँ । त्यो भएर ‘कबड्डी ५’ कस्तो हुन्छ, मैले सोधेको छैन । स्क्रिप्ट फाइनल भइसकेको छैन । कस्तो क्यारेक्टर बनाएर आउँछ बिके भन्ने पनि थाहा छैन । दुईटा सिन हुन्छ कि कति हुन्छ, त्यो पनि थाहा छैन ।
– बिकेको भूमिका अलि तन्कियोस् भन्ने लाग्दैन ?
लोभ त कलाकारलाई अलि-अलि लागिहाल्छ । तर, अबको समय दश सिन नै होस्, तर गज्जबको होस् भन्ने लाग्छ ।
‘पूर्णबहादुरको सारंगी’ को एकल श्रेय
– ‘पूर्णबहादुरको सारङ्गी’बाट चाहिँ एक्लै क्रेडिट खानुभयो है ?
मुकुन्द दाइ, अन्जना, बुद्धि दाइ, माओत्से मामा, प्रकाश सर, विनोद सर लगायत थुप्रैको महत्वपूर्ण भूमिका थियो । चलचित्रमा हामी सबैको लगानी थियो ।
– तर किन एक्लै सबै क्रेडिट सोहोर्नुभयो ?
त्यही त, मेरो इच्छा चाहिँ होइन त्यो । मेरो मात्रै कोसिसले चलचित्र बनेको पनि होइन । तर मलाई सबैले दिनुभयो । मलाई दिएको कुरा ‘नदिनुस्, लानुस् उता’ भन्नै नमिल्ने के ! प्रेम, सत्कार र सम्मान दिएपछि लिने नै त होला । कहिलेकाहीँ भाग पाइँदो रहेछ ।

– यो लेखान्त हो त ?
लेखान्तै हो । पूर्णबहादुर अगाडिसम्म पनि मैले कामै गरिरहेको थिएँ । कति गरेँ कति ! अब लेखान्तमा चाहिँ पूर्णबहादुरमा आएर पाउनु थिएछ ।
– निर्मातासँगको टसलले चलचित्रको सुरूवाती प्रमोसनमा प्रकाश सपूत आउनुभएको थिएन । चलचित्रको मुख्य अनुहार नै उहाँ हुनुहुन्थ्यो । उहाँले स्टाटस पनि लेख्नुभयो । बुद्धि तामाङ र तपाईंले जसोतसो प्रचार गर्नुभयो । कस्तो लागेको थियो त्यसबेला ?
सुटिङ सुरू हुँदाखरि नै प्रकाश सरले अलिकति ‘वसन्त’ तिर बिजी हुन्छु भन्नुभएको थियो । त्यसैले उहाँ बिजी हुनुहुन्छ । कलाकारको हिसाबले चाहिँ मलाई त्यस्ता कुरा सामान्य लाग्छ । अहिले हामी ‘जनै हराएको मान्छे’मा कुदिरहँदा मिरुना जी सुटिङमा हुनुहुन्छ ।
प्रकाश सरसँग भेटिँदा सम्बन्ध सामान्य नै थियो । चिया कफी खाइन्थ्यो, छुटिन्थ्यो । हामी सबैको आ-आफ्नै जीवन छ । तर, भित्री तरीकाले निर्मातासँग उहाँ मिल्नुभएको थिएनछ । त्यसबेला दुवै पक्षबाट स्टाटस आइरहँदा मलाई चाहिँ कस्तो कस्तो लागेको थियो ।
– प्रकाश जीबिना प्रचारमा हिँड्दा कत्तिको आत्मविश्वास थियो ?
कन्फिडेन्स अलिकति लो डाउन हुँदो रहेछ । किनकि म त जहिले पनि अरुसँग हिँडिरहेको पात्र हो नि त । त्यतिखेर मलाई धेरैले चिन्दैन थिए । चलचित्रको पात्रको हिसाबले चिन्नुहुन्थ्यो, तर रियालिटीमा त गेटअप मेरो चेन्ज भइरहन्थ्यो । अब प्रकाश सर त ठ्याक्कै चिनिनुहुन्थ्यो । म्युजिकल क्षेत्रमा राज गरिरहनुभएको थियो । उहाँ भएको भए हामीलाई कति रमाइलो हुन्थ्यो भन्ने फिल हुन्थ्यो । उहाँ नहुँदा अलिकति आड नभएको जस्तो लागेको थियो । किनकि म त पावरफुल मान्छे छेउमा बस्ने बानी लागेको मान्छे थिएँ नि त ।
त्यो प्रचारले मेरो कन्फिडेन्स लेभल चाहिँ बढाइदियो । त्यो मेरा लागि सिकाइ भयो । म एक्लै देखिँदा पनि फरक नपर्ने रैछ भन्ने लाग्यो । किनकि सबैको आ–आफ्नो एपियरेन्स हुन्छ, आ-आफ्नो शैली हुन्छ ।
– अहिले चाहिँ कस्तो कन्फिडेन्स छ ?
अहिले त मलाई सामान्य लाग्छ । अब चाहिँ एक्लै हुँदा पनि फरक नपर्ने अवस्थामा छु । पहिले यसरी सिंगल इन्टरभ्यू हुँदाखेरि डर लाग्थ्यो । दर्शकलाई पूर्णबहादुर, बिके, मंगलसिंह मै हो भन्ने थाहा छ । एक्लै हिँड्दा मेरो बोल्ने शैलीमा पनि सुधार भएको छ ।
– ‘जनै हराएको मान्छे’ लाई लिएर चाहिँ प्रकाशजीले शुभकामना दिनुभएको छ कि छैन ?
सरसँग भेटेकै छैन । तर, हिजो भर्खरै नाटक हेर्न आउनुभएको थियो मण्डलामा । मैले भेटेँ । ‘सर, नाटक हेर्न आउनुभयो ?’ भनेँ । ‘अँ सर’ भन्दै हुनुहुन्थ्यो । अनि टिकट लिएर सर नाटक हेर्न छिर्नुभयो । अनि म पनि अर्को इन्टरभ्युमा गएँ ।
– त्यतिमात्रै कुराकानी भयो ?
त्यति भयो । त्यसपछि मैले ‘दया दाइ चाहिँ माथि हुनुहुन्छ’ भनेँ । ‘ए दाइलाई भेट्छु नि त त्यसो भए’ भन्नुभयो । माथि चढ्नुभएको थियो, भेट्नुभयो कि भएन थाहा छैन । प्रकाश सर राम्रो मान्छे भनेर चिन्ने त हो मैले । तर दया, बुद्धि दाइ, नाजिरहरूसँगजस्तो सधैँ गफ गर्ने आधार हुँदैन ।
नराम्रो भनेको सहनै नसक्ने
– कस्तो कुराहरूले तपाईँलाई बढी भावनात्मक रूपमा टच गर्छ ?
मलाई सानो, सिम्पल कुराले । मलाई तपाईँले ठट्टा गरेर पनि ‘तपाईँ त झुर मान्छे रहेछ’ भन्दा चित्त दुख्छ । म झुर त होइन नि रियलमा । मैले अरुको पनि चित्त दुखाएको छैन ।
मण्डलाको सुरूवातकालीन समयमा हामी छ-सातजनाले चलचित्र गरेका थियौं । निर्माताले हामीलाई सामुहिक रूपमा पैसा दिनुभयो । मैले सबैलाई ५–५ हजार बाँडेँ । तर, आफ्नो भागमा परेन । सबैले भने, ‘तँ चाहिँ के गर्छस् ?’ मैले भनेँ, ‘छोड्दे यार, मलाई केही फरक पर्दैन ।’ म राम्रो हुनलाई भन्दा पनि नराम्रो चाहिँ नहौँ भन्ने चाहना सधैं हुन्छ । म राम्रो हुँ भन्ने होइन, तर कसैको नजरमा म चाहिँ नराम्रो चाहिँ नहौँ ।
मान्छेले त अनेक अनुमान लगाइदिन्छन् । मसँग नभेटिकन ‘तपाईं खत्तम मान्छे हो’ भन्दिन्छन् । भेटेको छैन, संगत गरेको छैन, तर तीनजनाले भनेपछि खत्तमै हो भन्दिन्छन् । म के भन्छु भने भेट्नुस्, कुरा गर्नुस् । जब आँखा जुधाएर गफ गरिन्ज्छ नि, तब सत्य थाहा हुन्छ ।
– रिसाएको बेला के गर्नुहुन्छ ?
घरमा रिस उठ्यो भने चुप लाग्छु । अरुतिर रिस उठ्यो भने एक शब्द पनि बोल्दिनँ । रिस उठेको मान्छेलाई म हेर्दै हेर्दिनँ । त्यो मेरो स्वभाव हो ।
– के कुराले धेरै रिस उठाउँछ ?
मलाई सामान्य चिजले । जस्तै कहिलेकाहीँ आफूले भनेको कुरा सही छ तर अर्कोले जबरजस्ती गलतै भनिरहेको छ भने रिस उठ्छ ।
– एकदमै चित्त दुख्यो भने ?
म त्यो ठाउँबाट निस्किहाल्छु । चित्त दुखेपछि के-के गरूँ जस्तो लाग्छ । अनुहारको रंग चेन्ज हुन्छ । अनि के बोल्ने, कसो गर्ने थाहै हुँदैन । अनि भुइँतिर हेर्ने, अलि साइडतिर लागिहाल्ने ।
– कसैसँग झगडा भएको छ ?
यतिकै जिस्केर विवाद गरेको मात्र याद छ । सामान्य विवाद भयो भने मान्छे चिच्याउँदा म सफ्ट भइहाल्छु । यदि मेरो गल्ती छ भने मात्रै ।
– गल्ती छैन भने ?
गल्ती छैन भने दुई-चार चोटि उसलाई पेल्छु र छोड्दिन्छु ।
कसैप्रति माया देखाउनुपर्यो भने कसरी देखाउनुहुन्छ ?
अलिकति केयर गर्दिन्छु । उसले थाहै नपाउने गरी केयरिङ गर्न मन लाग्छ । अनि उसलाई के चिज ठिक लाग्छ, राम्रो लाग्छ, त्यो चिज उसलाई देखाउने, घुमाउने, खुवाउने हो कि ?
– श्रीमतीको बारेमा दुई शब्द भन्नुपर्यो भने ?
अहिले मेरो अभिभावक जस्तो हो ।
– छोरा ?
छोरा त मेरो कनेक्सन हो, एउटा इनर कनेक्सन ।
दयाहाङ, सौगात, विपीन कार्कीबारे
– तपाईंले धेरै चलचित्रमा सहकार्य गर्नुभएको अभिनेता दयाहाङ राईको अभिनय एकै खालको भयो भनेर आलोचना भइरहेको हुन्छ । तपाईँलाई चाहिँ कस्तो लाग्छ ?
अभिनयको आफ्नै शैली हुन्छ । ती शैलीमध्ये दया दाइले गर्ने एउटा शैली हो । कुनै-कुनैमा उस्तै देखिनु ठिक छ । तर, सबैले भन्नुहुन्छ नि एउटै देखियो, त्यस्तो चाहिँ होइन ।
क्यारेक्टरको आफ्नै मनोविज्ञान हुन्छ । क्यारेक्टर बाँच्ने भौगोलिक संरचना अलग हुन्छ । उसले सोच्ने तरीका अलग हुन्छ । काजीको रूपमा दया दाइको सोच र ‘घरज्वाइँ’मा दया दाइको सोच, ‘लुट’को गोप्लेको सोच धेरै फरक हुन्छ ।
– तर सबैले किन एउटै भने होला ?
खै, यस्तो होला, दारी–जुँगा नआएकाले एउटै भनेको होला । (हाँसो)
– कस्तो लाग्छ दयाहाङको अभिनय तपाईँलाई ?
दया दाइको अभिनयको प्याटर्न, स्टाइल मन पर्छ । जस्तै विपिन दाइले आफ्नो स्टाइल क्रिएट गर्नुभएको छ । सौगात दाइको आफ्नो स्टाइल छ । दया दाइको आफ्नै छ । नेपाली चलचित्र क्षेत्रमा अहिले यी तीनजनाले आफ्नै स्टाइल क्रिएट गर्नुभएको छ । भर्खरै नाजिरले एउटा क्यारेक्टर लिएर आएछ ‘गुन्जो चोलो’मा । भनेपछि ड्रास्टिक चेन्ज गर्ने क्यारेक्टर आयो भने चेन्ज देखिहालिन्छ ।
– सौगातको चाहिँ अलिक भर्सेटाइल हो ?
उहाँको आउटर प्याटर्न बढी छ । क्यारेक्टरको लुक्स, बडी ल्यांग्वेजमै पुरै चेन्ज गर्नुहुन्छ । त्यही भएर सौगात र दया दाइको प्याटर्न फरक छ ।
– दुईजना बीचमा फरक के-के हो ?
दया दाइ ‘इनर टु आउटर’ वाला प्रयोग गर्नुहुन्छ । यो भनेको पहिलो भित्री रूपमा आफूलाई तयार गर्ने, अनि पात्रको बाहिरी आवरणमा मिहेनत गर्ने । सौगात दाइ पहिले बाहिरी आवरणमा मिहेनत गर्नुहुन्छ । अनि भित्री आवरणमा छिर्नुहुन्छ ।
– दुईजनामा को उत्कृष्ट हो त ?
एक्टरको लागि दुइटै स्टाइल ठिक हो । देखिँदा चाहिँ दया दाइको उस्तै-उस्तै देखिन सक्छ । कहिलेकाहीँ टाइम नपाएर, के भएर नहुन सक्छ । आफ्नै दाइ भन्दैमा दाइको सबै ठिक हो म भन्दिनँ ।
दयाहाङलाई सुझाव दिनुपर्यो भने ?
अबको समय छानेर वर्षमा चारवटा चलचित्र गर्दिनुभयो भने राम्रो हुन्छ । तर, समस्या कहाँ छ भने उद्योगलाई दाइ नै चाहिन्छ फेरि ।
– किन ?
मार्केट बोक्नुभएको छ नि त । सबैलाई दया दाइ नै चाहिन्छ ।

– सौगातलाई सुझाव चाहिँ ?
सौगात दाइले कहिलेकाहीँ सफ्ट क्यारेक्टरहरू गर्दिनुहोस् । आजकल गर्न कोसिस पनि गर्नुभएको छ । त्यो हेर्दा मलाई खुसी लाग्छ । अरुले भनेजस्तो दया दाइ र सौगात दाइको काममा खोट मात्रै थिए भने उहिल्यै पलायन भइसक्नुपर्ने हो । उहाँहरू १७-१८ वर्षदेखि निरन्तर हुनुहुन्छ । क्षमता भएरै काम पाइरहनुभएको छ । बूढाहरूमा केही छ ।
– विपीन कार्की चाहिँ कस्तो लाग्छ ?
विपीन दाइ मिक्स हान्नुहुन्छ, इनर-आउटर, आउटर-इनर । उहाँ पात्रमा एकदम खेल्नुहुन्छ । कहिलेकाहीँ आवाजमा खेल्दिनुहुन्छ, कहिलेकाहीँ बडीमा खेल्नुहुन्छ ।
– उहाँलाई सुझाव ?
दाइको चाहिँ धेरै कम सिनेमा आइरहेको छ । अलिकति बढाउनुपर्यो ।
– अनमोल केसीको अभिनय कमजोर रहेको भनेर निकै आलोचना हुन्छ, तपाईँलाई कस्तो लाग्छ ?
क्युट मान्छे हो उहाँ । अनमोलले वर्षमा एउटा त काम गर्ने हो । यही कारण उहाँको चलचित्रको प्रतीक्षा हुन्छ दर्शकलाई । उहाँले के गर्नुपर्थ्यो जस्तो लाग्छ भने जति सरल हुनुहुन्छ नि, अभिनयमा पनि त्यही किसिमको सरलता दिने कोसिस गर्नुभयो भने गजब हुन्छ । मलाई के लाग्छ भने उहाँबाट धेरै कुरा निकाल्न सकिन्छ ।
– उहाँलाई सुझाव के छ ?
अनमोल सरले यसो गर्दा हुन्छ होला, उहाँले एउटा आफ्नो भित्री कोर टिम तयारीहरू गर्दै जानुपर्छ । त्यो टिम दुनियाँलाई देखाउनु परेन । तर, त्यो टिमले पोजिटिभिटी पैदा गरिदिन्छ । अरुले अभिनयमाथि प्रश्न गर्छन् । तर, उहाँको अभिनय त्यस्तो झुर होइन, त्यसलाई बनाउने ठाउँ चाहिँ प्रशस्त छन् ।
कलाकार कहिल्यै झुर हुँदैनन् । कलाकारले अभिनय गर्न नसक्ने भन्ने हुँदै हुँदैन । बरु त्यसलाई अझैं माझ्न सकिन्छ, बनाउन सकिन्छ ।
एक्सन चलचित्रमा काम गर्ने रहर
– लामो समयदेखि तपाईँले चाहेको तर, अहिलेसम्म गर्न नपाएको भूमिका ?
अब मलाई अलि फिजिकल्ली ज्यान बनाएर ट्याकटुक गर्ने खालको भुमिका गर्न मन छ ।
– भन्नाले एक्सन ?
अँ, अलि जिममा ज्यान बनाएर झ्यापझुप पार्ने खालाको । फिजिकल्ली ज्यान बनाउँदा ‘औरा’ पनि देखिन्छ । ‘कान्तारा’ टाइपको । अब लभ स्टोरी गर्ने भनेको मेरै प्याटर्नको हो । लोकल टाइपको लभ स्टोरी चल्छ मेरो ।

Leave a Reply