काठमाडौं । स्पष्टवक्ताका रुपमा चिनिने अभिनेत्री सुरक्षा पन्त पछिल्लो समय भने खुलेर बोल्नै डराउन थालेकी छन् । खासगरि राजननीतिक प्रश्नहरुसँग उनी निकै तर्सिन्छिन् ।
पूर्वनवयुवराज हृदयन्द्र शाहको विषयमा गरेको टिकाटिप्पणीले उनलाई विवादित बनाएको थियो । राजसंस्था समर्थकहरु उनीमाथि खनिएका थिए । त्यही प्रसंग जोडेर अहिलेसम्म पनि उनलाई गाली आउन छोडेको छैन । त्यही भएरु अबदेखि उनले राजनीतिक विषयमा कुनै पनि खालको अभिव्यक्ति नदिने प्रण गरेकी छन् ।
सुरक्षा हालै चर्चित पत्रकार ऋषि धमलाको अन्तरवार्तामा प्रस्तुत भइन् । धमलालाई अन्तर्वार्ता लिन कुनै रिसर्च चाहिँदैन । उनी मनमा फ्याट्ट जे फुर्छ त्यही सोधिहाल्छन् । चलचित्र ‘कोसेढुंगा’को प्रमोसनमा पुगेका निर्देशक सरोज पौडेल र अभिनेत्री पन्तसँग एउटा प्रसंगमा कुरा भइरहँदा उनले अचानक सोधे, ‘पूर्वराजा ज्ञानेन्द्र र राष्ट्रपति रामचन्द्र पौडेल ?’
सुरक्षाले जवाफ दिन इन्कार गरिन् । दुईजनामध्ये एकजना नरोज्ने उनी बताउँछिन् । धमलाको जिद्दी गर्ने आफ्नै शैली छ । ‘तपाईंले आज जनतालाई बताउनैपर्छ’ भन्दै उनले दवाव दिए ।
सुरक्षा भन्छिन्, ‘दुवैलाई रोज्न पनि सकिन्छ नि, दुवैको सहअस्तित्व छ । एकजना मात्रै रोज्दिनँ ।’
धमलाले अर्को प्रश्न तेस्र्याए– केपी ओली र प्रचण्ड ?
सुरक्षाले हाँस्दै भन्छिन्, ‘बरु म गीत गाउँछु । नाच्न भन्नु, नाच्छु । बरु अभिनय गर्न भन्नु । तर, म कसैलाई रोज्दिनँ ।’
तर धमला रोकिँदैनन् ।
‘शेरबहादुर देउवा र माधव नेपाल ?’
दुवै आ–आफ्नै हिसाबले ठिकै हुनुहुन्छ । खासमा मलाई कसैको नाम लिन मन छैन, तपाईंले साह्रै करकाप गर्नुभयो ।
‘अहिलेको प्रधानमन्त्री कस्तो लाग्छ ?’
‘अहिले त प्रधानमन्त्रीजस्तो पदमा बसेको कोही व्यक्तिको बारेमा बोल्दाखेरि नै बिच्किने अवस्था छ । हामीलाई सोचमग्न बनाएको छ । यस्तै हालत हो भने त हामी केही पनि बोल्दैनौं नि । बोल्नै मन लाग्न छाड्यो । आफ्नो विचार राख्न मन हुन्छ । तर, आफ्नो धारणा राख्ने सन्दर्भमा म शैली चाहिँ छनोट गर्न चाहन्छु । म आफ्नो विचार कलाबाट भन्छु । कथा छनोट गरेर भन्न चाहन्छु । सीधै जवाफ दिन्नँ ।

Leave a Reply