सिन्धुपाल्चोक । तातोपानी नाका हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको विद्युतीय चुरोट (भेप) को अर्बौं राजस्व छली आरोपमा शिल्क ग्रुप प्रालिका अध्यक्ष रमेश शेर्पा सहित १२ जनाविरुद्ध जिल्ला अदालत ललितपुरमा मुद्दा दायर भएको छ ।
तातोपानी नाकाको आयात-निर्यातमा एकछत्र प्रभाव जमाउँदै आएको शिल्क ग्रुपविरुद्ध विभागले १ अर्ब ७४ करोड ६२ लाख ४७ हजार बिगो र कैद सजायको मागसहित मुद्दा दायर गरेको हो ।
भन्सार छलेर ल्याएको अवस्थामा २०८१ पुस २२ गते ललितपुरको महालक्ष्मी-४ बाट ८६ हजार ४ सय थान भेप विभागले बरामद गरेको थियो । अनुसन्धानको क्रममा राजश्व समेत अवैध कारोबार गर्दे आएको तथ्य र प्रमाण भेटिएपछि अदालतमा मुद्दा दायर गरिएको विभागका सूचना अधिकारी नवराज अधिकारीले बताए ।
भेप बरामदपछि राजश्व अनुसन्धानले ललितपुरको बालकुमारीमा रहेको शाखा कार्यालय र काठमाडौंको नक्सालस्थित कर्पोरेट कार्यालयमा छापा मारेको थियो । झण्डै साढे ५ महिनाको अनुसन्धान पछि शिल्कले भेपमात्रै नभई अन्य सामग्रीमा करोडौ राजश्व छलेको प्रमाण भेटिएकाले मुद्दा दायर गरिएको विभागले जनाएको छ ।
रमेश र उनका भिनाजुसमेत रहेका कर्मचारी विजय शेर्पाको भेप चोरी पैठारीमा मूख्य भूमिका देखिएको अधिकारीले बताए । विजय तातोपानी नाकामा केन्द्रित भई भन्सार, राजनीतिक दलका नेता, पत्रकारलाई समेत प्रभावमा पार्दै आएको व्यापारीहरू बताउँछन् । शिल्क ग्रुप र सो अन्तर्गतका ७ वटा कम्पनीमार्फत शेर्पाले कारोबार गर्दै आएका थिए ।
सिल्कले भेप राख्न प्रयोग गरेको गोदामका सञ्चालक महेशप्रसाद पाठक र सिल्ककै कर्मचारी सन्तोष पराजुलीलाई मतियारका रुपमा मुख्य अभियुक्तभन्दा आधा सजाय माग गरिएको छ ।
सबै प्रतिवादी फरार रहेकाले उनीहरूको नाममा म्याद काट्ने तयारी भइरहेको जिल्ला अदालत ललितपुरका श्रेस्तेदार शैलेन्द्र खतिवडाले जानकारी दिए।
को हुन् रमेश शेर्पा ?
सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-६ गाती मान्द्राका रमेश शेर्पाका बाबु पहिला तातोपानी नाकामा समान्य व्यापार गर्दै आएका थिए । खासामा मैदा, चामल धुपलगायतका सामग्री लगेर बिक्री गर्थे उनी । रमेश भने काठमाडौं बसेर अध्ययन गर्ने गरेको निकटहरू बताउँछन् ।
कोरोना महामारीको बेला लकडाउन गरेपछि स्थानीय प्रशासनलाई समेत प्रभावमा पारेर शेर्पाले चीनबाट दैनिकजसो सुन भित्र्याएर करोडौंको मलिक बनेका निकट व्यापारीहरू बताउँछन् ।
पैसा कमाउँदै गएपछि शेर्पाको चिनियाँ र भारतीय व्यापारीहरूसँग सीधा सम्पर्क सुरू भयो । उनका भिनाजु विजय नाकामा बसेर सेटिङ मिलाउने गर्थे भने रमेश काठमाडौंमा बसेर प्रमुख दलकानेता देखि कर्मचारी र प्रहरी प्रशासन मिलाउने गरेको बताइन्छ । उनीसँगै काम गरेका व्यापारी अहिले पनि सामान्य व्यापारमै छन् । उनी भने केही वर्षमा नै अरबपतिको सूचीमा गनिए ।
रमेशको सम्बन्ध सिन्धुपाल्चोकमा कांग्रेस नेता मोहन बस्नेत, माओवादी अध्यक्ष प्रचण्ड पुत्री गंगा दाहालसँग निकट रहेको उनलाई नजिकबाट थाहा पाउनेहरू बताउँछन् । चीनबाट रासायनिक मल ढुवानीको ठेक्कासमेत उनैले पाउँदै आएका छन् । मल ल्याएर तातोपानीमा गोदाम गरे पनि काठमाडौंमा भने ल्याउन सकेका छैनन् ।



Leave a Reply