चितवन । इच्छाकामना गाउँपालिकाको वडा नम्बर ५, मा रहेको तुइनखोला नारायणगढबाट ३४ किलोमिटर मुग्लिनतर्फ पर्छ । अर्थात् मुग्लिन नजिकको क्षेत्र ।
यहाँ आज बिहान करिब साढे ४ बजे ठूलो ढुङ्गासहितको पहिरो खस्यो । बिहानैदेखि खसेको पहिरो आठ बजेतिर एकैछिन पन्छाएर गाडी अगाडि बढाए पनि ९ बजे पुनः पहिरो थपियो । पहिरोमा ठूला ठूला ढुङ्गा आएर सडकमा तेर्सिए ।
चितवन हुँदै काठमाडौँ, पोखरा लगायतका स्थानमा जाने आउने मुख्य राजमार्ग करिब ९ घण्टा अवरुद्ध भयो । दिउँसो १ बजेबाट प्रहरी र सडक भिजिनका टीम मिलेर सडक पन्छाएर दुईतर्फी बाटो खुलाइए पनि यो कतिबेरसम्मको लागि हो भन्न सकिँदैन ।
किनकी, यहाँ अझै पनि माथिबाट साना साना ढुङ्गा खसिरहेका छन् । डिभिजन सडक कार्यालय भरतपुरका नारायणगढ–मुग्लिन सडक हेर्ने इन्जिनियर अर्जुन घिमिरेका अनुसार यहाँ कतिबेला फेरि ठूलो पहिरो खस्छ भन्न सकिने अवस्था छैन । तुइनखोला क्षेत्र डिभिजन सडक कार्यालयले सबैभन्दा जोखिमपूर्ण भनेर पहिचान गरेको क्षेत्र हो ।
यही स्थानमा शुक्रवार एउटा प्लाइ लोड गरेर काठमाडौँ लैजाँदै गरेको गुडिरहेको भारतीय नम्बरप्लेटको ट्रकमा माथिबाट ठूलो ढुङ्गा खस्यो । चालकको टाउकोमा ढुङ्गा लाग्यो । उनलाई गम्भीर अवस्थामा उपचार गर्नुपर्ने अवस्था आयो ।
हिजो साँझ पनि चलिरहेको स्कुटरमा माथिबाट लागेको ढुङ्गा खसेर चालकको खुट्टामा चोट लाग्यो । पानी परेर रोकिएपछि जब घाम लाग्न थाल्छ तब ढुङ्गा चर्किएर सडकमा खस्न थाल्छ ।
तुइनखोला त्यही स्थान हो जहाँ पहाड काटेर सडक फराकिलो बनाइएको थियो । त्यही कारणले अहिले सबैभन्दा जोखिमको स्थानमा परेको छ । यो स्थानमा तत्कालै ढुङ्गा खस्नबाट रोक्न सकेमात्रै सडकमा यात्रा गर्दा सुरक्षित हुन सकिन्छ । होइन भने जतिबेला पनि ठूलो ढुङ्गा खसेर यात्रुलाई लाग्नसक्ने जोखिम कायमै रहेको डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ ।
तर, अहिले बर्खाको समय भएकोले ढुङ्गा झर्न रोक्ने अल्पकालीन वा दीर्घकालीन काम गर्न सक्ने समय छैन । त्यसैले तत्काललाई सूचना पाटी राखेर यात्रुहरुलाई त्यस क्षेत्रबाट यात्रा गर्दा सावधानी अपनाउन अनुरोध गर्ने निर्णय डिभिजन सडक कार्यालय चितवनले गरेको छ । इन्जिनियर घिमिरेले अहिले सूचना दिएर जोखिम न्यूनीकरण गर्ने उपाय पहिलो भएको बताए ।
सुख्खा पहिरो रोक्न मर्मत भने जरुरी भएको उनको भनाइ छ । ढुङ्गा खस्न नदिन रक बोल्ड, रक नेट लगायतका काम गर्न आवश्यक छ । सडकमा रड राखेर बाँधिदिने र बाहिरबाट कस्ने, अनि बाहिरबाट जाली राखेर सिमेन्टको घोला छर्किदिने उपायबाट ढुङ्गा खस्नबाट रोक्न सकिने उनले बताए ।
यसवर्ष वर्षातको समय सुरु भएयता नारायणगढ–मुग्लिन सडक खण्डमा एक दिन दुई दिन बिराएर पहिरो खसेर बाटो रोकिने समस्या भइरहेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले पनि आकस्मिक रुपमा पहिरो तथा मनसुन जन्य अन्य जोखिमका कारण दुर्घटना भइरहेको कारणले यात्रुहरुलाई सावधानी अपनाउन सार्वजनिक अपिल गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले आज पनि सूचना निकालेर बाटोको अवस्था बुझेर मात्रै यात्रा गर्न अनुरोध गरेको छ ।
चितवनका प्रहरी प्रमुख एसपी गोबिन्द पुरी नारायणगढ–मुग्लिन सडक खण्डमा दिनहुँजसो कम्तिमा एक दुई घण्टा समेत बाटो अवरुद्ध हुने, आकस्मिक पहिरो खस्ने अवस्था भएकोले प्रहरीबाट जानकारी लिएर मात्रै यात्रा गर्न अनुरोध गर्छन् । उनले सर्वसाधारणलाई दुर्घजनाबाट बच्न सतर्कताका साथ यात्रा गर्न समेत अनुरोध गरेका छन् ।


Leave a Reply