प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन- राणा र पञ्चायती शासनमा जस्तो कसैलाई नफसाउनू, यातना नदिनू

जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीलाई शासक नभई जनताको सेवक भएर काम गर्न निर्देशन दिएका छन् ।

जनकपुरधाममा मधेश प्रदेश प्रहरी कार्यालयको नवर्निमित भवनको उद्घाटनपश्चात आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले मुलुकमा सुशासन तथा शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरी हाकिमको भूमिका होइन, जनताको सेवकको भूमिकामा काम गर्नुपर्ने बताए ।

कसैलाई जोरजबर्जस्तीबाट फसाउने काम नहोस् भन्दै उनले न्यायोचित हिसाबले प्रहरीबाट काम हुनुपर्नेमा जोड दिए ।

‘राणा शासन तथा राजाको पञ्चायती व्यवस्थामा जस्तो कसैलाई फसाउने तथा यातना दिने काम नहोस् । त्यस समयमा शासनसत्ता जोगाउनका लागि झूटो आरोप लगाउने कार्य हुन्थ्यो’, प्रधानमन्त्रीले भने, ‘अहिले मुलुकमा केही तत्वहरूले अराजक फैलाउने कार्य गरिरहेको तथा आफूलाई नयाँ शक्तिको भ्रम फैलाउने तथा देशमा अराजक गतिविधिको काम गरेकाले त्यसबाट सतर्क एवं सजग हुनुपर्छ ।’

समाजमा अराजक फैलाउने तत्वहरूको मुलुकमा लोकतन्त्र ल्याउनका लागि कुनै योगदान नरहेको भन्दै उनले झूटो बोल्ने तत्वहरूलाई समाज तथा राष्ट्रले सजाय दिनुपर्ने बताए ।

ओलीले भने, ‘नेपाली सेनाले राष्ट्रको सुरक्षा गर्ने काम गरिरहेको छ, त्यस्तै नेपाल प्रहरीले आफ्नो योग्यता तथा दक्षताको माध्यमबाट जनतालाई इमान्दारीपूर्वक जनताको सुरक्षा तथा सेवा गर्नुपर्छ ।’

देशमा बढ्दो आपराधिक क्रियाकलाप, चोरी र डकैती, लागुऔषधको प्रयोग तथा सीमा क्षेत्रमा हुने विभिन्न चोरी, तस्करी, अवैध रूपमा हुने मानव ओसारपसार रोक्न तथा राजस्व चुहावट नियन्त्रण गर्न चुनौती भएकाले प्रहरी संगठन इमानदारीसाथ गम्भीरतापूर्वक लाग्नुपर्ने प्रधानमन्त्रीले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *