ड्यालस । अमेरिकाको टेक्सस राज्यको ड्यालसमा रहेको नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र (NCSC) ले अबदेखि नेपाली चाडपर्व मनाउँदा नेपालकै क्यालेन्डरलाई आधार मान्ने निर्णय लिएको छ ।
हिन्दू चाडपर्व मान्ने दिनका सम्बन्धमा विवाद हुन थालेपछि गत हप्ताभरि सर्वेक्षण गरिएको थियो । सो सर्वेक्षणको नतिजा, शनिवार सम्पन्न टाउनहल बैठकमा सार्वजनिक समेत गरियो ।
सर्वेक्षण, यसअघिका चाडपर्वहरूमा देखिएको बहुसंख्यकको उपस्थितिलाई आधार मानेर यस्तो निर्णय भएको बताइएको छ । केन्द्र अन्तरगत अहिले टेक्ससको ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्सको युलेस सिटीमा पशुपतिनाथ मन्दिर र बौद्ध बिहार रहेका छन् ।
अमेरिकाका निम्ति भनेर निकालिएका तिथिमा पर्व मनाउने गरी विगत ६ वर्षदेखि मन्दिर तथा बिहारले स्थानीय अलग्गै क्यालेन्डर सार्वजनिक गर्दै आएको थियो । तर ठूलो संख्यामा भक्तजन तथा हिन्दू धर्ममा आस्था राख्नेहरूले नेपाली क्यालेन्डर अनुसारकै दिनमा मान्न चाहना देखाउनुका साथै त्यसै अनुसार सहभागिता देखिएपछि यो निर्णयमा पुगेको समेत जनाइएको छ ।
‘अबदेखि नेपाली क्यालेण्डरलाईनै फलो गरेर हिन्दू चाडपर्व मनाउने निर्णयमा हामी पुगेका छौँ । बहुसंख्यकबाट प्राप्त सर्वेक्षणको सुझाव, टाउनहल बैठकमा प्राप्त सुझाव एवं पर्वमा देखिने सहभागिताबाट हामी सर्वसम्मत रूपमा कार्यसमितिले यो निर्णय गरेको हो’, मन्दिरका प्रवक्ता सुमन कार्कीले भने ।
सन् २०१९ को बडादशैंदेखि अमेरिकाको लागि भनेर अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले धेरै चाडपर्वहरु अघिल्लै दिन प्रकाशित गर्दै आएको छ । जसले गर्दा जनमानसमा द्विविधा हुनुका साथै मन खुकुलो मनाएर चाड मनाउन नपाएको व्यापक गुनासो आइरहेको थियो ।
‘नेपाली क्यालेन्डर र अमेरिकी क्यालेन्डर अनुसार दुई दिन पर्व राखिन्छ । यसले गर्दा अफिस छुट्टी लिनुपर्ने, स्कुल छुट्टी लिनुपर्ने बालबालिकाले कहिलेलाई भनेर लिने ? यसलाई तुरुन्त हल गरेर विगतमा जे थियो, त्यसैमा जानु हाम्रो कल्याण हुन्छ टाउनहल बैठकमा युलेस सिटीका मेयर प्रोटेम टीका पौडेलले निकै गम्भीर रूपमा धारणा राखेका थिए ।
गत हप्ता लिइएको पर्व कहिले मनाउने भन्ने सर्वेक्षणमा ६५ प्रतिशतले नेपाली क्यालेन्डर अनुसार गर्नुपर्ने सुझाव दिएका थिए । त्यस्तै २२ प्रतिशतले अमेरिकाको स्थानीय समय र तिथि अनुसार मनाउनुपर्ने र झण्डै १३ प्रतिशतले दुबै दिन मनाउँदा पनि हुने भनेर सुझाव दिएका थिए ।
शनिबारको टाउनहलमा सहभागी भएर धारणा राख्ने ९४ जना मध्य ५९ प्रतिशतले नेपाली क्यालेन्डरलाई फलो गर्नुपर्ने धारणा राखेका थिए । त्यस्तै २४ दशमलव ५ प्रतिशतले अमेरिकी तिथि, १० दशमलव ६ प्रतिशतले दुबै दिन मनाउने धारणा राखेका थिए भने ५ दशमलव ३ प्रतिशतले कतै पनि आफ्नो मत जाहेर गरेनन् ।
नेपाली क्यालेन्डर अनुसार नै पर्व मनाउनुपर्ने धारणा अत्यधिक समुदायबाट आउनुका साथै पर्वहरूमा सहभागिता समेत नेपालकै क्यालेन्डर अनुसारको दिनमा भएपछि घनीभूत छलफल पछि मन्दिरको कार्यसमिति सन् २०१९ अघिकै रूपमा पर्व मनाउने निर्णयमा पुगेको हो । अघिल्लो हप्ता शुक्रवार र शनिवार जनैपूर्णिमा मनाउने कार्यक्रम मन्दिरले राखेको थियो । शुक्रवार दुईसय जना पनि सहभागी भएनन्, जबकि शनिवार पाँचहजार भन्दा बढी व्यक्तिहरू मन्दिरको कार्यक्रममा सहभागी भएका थिए ।
त्यस्तै हिजो शुक्रवार राखिएको कृष्णअष्टमीमा मन्दिरमा तीन दर्जन भक्तजनको पनि सहभागिता भएन । शनिवार राखिएको कृष्ण जन्माष्टमीमा भव्य रथयात्रा सहितको कार्यक्रम सम्पन्न भयो । श्रीकृष्ण प्रणामी समुदायले पनि हर्स्ट स्थित प्रणामी मन्दिरमा शनिबारनै जन्माष्टमी मनाएको छ ।
शनिवार केन्द्रकी अध्यक्ष सीता सापकोटा बस्नेतको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले कोही भक्तजनलाई अमेरिकाको तिथि अनुसार पर्व मनाउन मन लागेमा मन्दिरले सेवा उपलब्ध गराउने निर्णय गरेको छ । ‘मन्दिरले आधिकारिक रूपमा जनैपूर्णिमा, जन्माष्टमी, तीज, दशैंको घटस्थापना, टीका, तिहारका लक्ष्मीपूजा, भाइटिका, शिवरात्री जस्ता तिथिका आधारमा मनाइने पर्वमा अब नेपाली क्यालेन्डरलाई आधार लिइनेछु प्रवक्ता कार्कीले भने- ‘यो बहुसंख्यकको सुझाव र पर्वमा देखिएको उपस्थितिलाई आधार मानेर लिएका हौं ।’
बैठकले अबदेखि केन्द्रका बिभिन्न सामाजीक सञ्जाल (फेसबुक, इन्स्टाग्राम, टिकटक) जस्ता पेजहरुमा अहिले जस्तो तिथि मिति, पर्वका बारेमा नलेख्ने र मुख्य पर्व मनाइने दिनमात्र जानकारी दिइने निर्णय पनि गरेको छ ।
त्यस्तै मन्दिरका पदाधिकारी, पुजारी पण्डित, कर्मचारी सबैका लागि आचार संहिताले बाँध्ने निर्णय गरेको छ । ‘मन्दिर र बिहारको हित प्रतिकुल सामाजीक सञ्जालमा लेख्न पाइनेछैन, सबैका लागि आचार संहिताको ड्राफ्ट गरिएको छ’ उनले भने ।

Leave a Reply