नेकपा एसनिकट युवा संघमा चर्कियो विवाद, आयोजक कमिटी अस्वीकार गर्दै ७ पदाधिकारीको २४ घन्टे अल्टिमेटम

काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट युवा संघमा युवा संघको नवौँ राष्ट्रिय महाधिवेशन गर्नको रोशन थापाको संयोजकत्वमा २०१ सदस्यीय आयोजक कमिटी गठन गरेपछि विवाद चर्किएको छ।

युवा संघका ७ पदाधिकारीले संयुक्त विज्ञप्ति जारी गर्दै विरोध जनाएका हुन्।उपमहासचिवद्वय सन्जिप राई र निर्भीक खनाल, सचिवहरू बाबुराजा श्रेष्ठ, अनिल बोगटी, जित बहादुर हमाल ९कुमार०, खड्क आचार्य र भेषराज शाहले असन्तुष्टि जनाएका हुन्।

पार्टीको निर्णय र संघको विधानलाई लत्त्याउँदै गरिएका अराजनीतिक निर्णयहरुले युवा सङ्घ नेपालको मर्ममा गम्भीर चोट पुर्‍याएको आरोप उनीहरूको छ।

पार्टीले ०८१ माघ १४ गते जारी गरेको अपानि ४ को बुँदा न। ६ बमोजिम संघको तत्कालीन नेतृत्व र पदाधिकारीहरू केन्द्रीय सदस्य भई सकेकाले युवा संघबाट बिदा गर्ने र इन्चार्ज लक्ष्मण केसीलाई सङ्गठनको सम्मेलन लगायतको कामको योजना बनाइ अगाडि बढाउन निर्देशन गरेको उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, ‘तर इन्चार्ज कमरेडले मनोमानी ढङ्गबाट नेतृत्व तोक्ने, कार्यदल बनाउने र कथित कार्यदलको नाममा राष्ट्रिय महाधिवेशन आयोजक कमिटी निर्माण गर्ने काम गरेका छन् । जसको कारण विगत ४ वर्ष अगाडी दक्षिणपन्थी अवसरवादका विरुद्ध विद्रोहको नेतृत्व गरेका युवा सङ्घ नेपालका पदाधिकारी, स्थायी कमिटी, सचिवालय र केन्द्रीय कमिटीका सदस्य कमरेडहरू, जो पार्टी सङ्गठन र युवा संघको काममा निरन्तर अविचलित भई खडा भइरहेको छ ।’

राजनीतिक इतिहास र आत्मसम्मानमा चोट पुर्‍याउँदै संघको विधानको विरुद्ध ९ औँ राष्ट्रिय महाधिवेशनको नाममा जारी भएको कथित सर्कुलर र इन्चार्जको अकर्मण्यताप्रति गम्भीर ध्यानाकर्षण भएको जानकारी गराएका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘साथै पटकौ पटक खबरदारी गर्दा समेत संघको विधानको बलमिचाइ गरी रहेकोले २४ घण्टा भित्र निर्णय नसचाए, सङ्घलाई गलत दिशाबाट जान रोक्न युवा सङ्घ नेपालको विधान, पद्धति र प्रक्रियाको पालना गर्दै, नसच्चाए समाजवादी आन्दोलनलाई क्रान्तिकारी रूपान्तरणका लागि सङ्गठनलाई व्यवस्थित गर्दै अगाडी बढाउने कुरा जानकारी गराउँदछौँ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *