काठमाडौं । सुदूरपश्चिम नेपालको विकट पहाडी जिल्ला अछामका अधिकांश युवा या त गाउँघरको खेतिपातीमै जीवन बिताउँछन् या भारतको मुम्बईमा मजदुरी गर्न जान्छन् । अछामकै टंक तिमिल्सिना भने सानैदेखि फरक सोचका थिए ।
ऊ रेडियोका तरङ्गमा आफ्नो भविष्य खोजिरहन्थ्यो । पढाई अनि घरको काम सकेर रेडियोमा कान थाप्नु, चुरोटको खोलभित्रको टल्कने सिल्भर पेपरलाई एन्टेना बनाएर टाढाको रेडियोको धुन सुन्न प्रयास गर्नु उसको दैनिकी थियो ।
आज ऊ नेपाली सङ्गीतको डिजिटल आकाशमा एक चम्किलो तारा बनेर उदाएको छ । तिमिल्सिनाको युट्युब च्यानलमा १० लाखभन्दा बढी सब्सक्राइबर छन्, उनका गीतले करोडौंको मन जितेका छन् ।
माटोको सुगन्ध र संगीतको अंकुरण टंकको बाल्यकाल यथार्थको कठोर भुइँमा उभिएको छ । परिवारको आर्थिक अवस्था कमजोर थियो । दाईहरु रोजगारीका लागि भारत पसेका थिए भने गाउँमा उनी पढाईसँगै आमाबुवाका लागि खेतीपाती र घाँस–दाउरामा सघाउने बलियो खम्बा थिए ।
उनी आफ्नो अतीत सम्झिँदै भन्छन्, ‘त्यसवेला मेरो मनभित्र कता–कता एउटा फरक रहरले जरा गाड्न थालिसकेको थियो, त्यो थियो सङ्गीत ।’
त्यतिबेला उनको मनोरञ्जनको एकमात्र साथी थियो, रेडियो । रेडियो रामारोशन भर्खरै सुरु भएको थियो, जसले उनलाई बाहिरी दुनियाँसँग जोड्ने पुलको काम गरिदियो । उनी भन्छन्, ‘रेडियोमा बोल्ने मान्छे, गीत गाउने कलाकार अर्कै संसारका हुन् जस्तो लाग्थ्यो ।’
कहिलेकाहीं विद्यालयका कार्यक्रममा र साथीभाइको करले गाउँथे, तर कलाकार बन्ने सपना देख्नु पनि उनका लागि असम्भव जस्तै थियोे । परिवारको आर्थिक अवस्थाले उनको सपनाको बाटो छेक्थ्यो । विद्रोहको पहिलो पाइला, नेपालगञ्ज यात्रा एसएलसी सकेपछि उनको जीवनमा एउटा निर्णायक मोड आयो ।
गाउँको सीमितताबाट बाहिर निस्किएर केही गर्ने अठोटका साथ उनले नेपालगञ्ज जाने निर्णय गरे । यो निर्णय आफैँमा एउटा विद्रोह थियो । परिवारसँग उनलाई पढाउन सक्ने आर्थिक हैसियत थिएन ।
‘मैले घरबाट १०-१२ हजार रुपैयाँ ऋण खोजेर, १५-२० किलोमिटर पैदल हिँडेर बस चढ्न दैलेखको टुनिबगर पुगेको थिएँ’, उनी त्यो जोखिमपूर्ण कदमलाई आफ्नो जीवनको पहिलो र महत्वपुर्ण विद्रोह मान्छन् ।
त्यो दिन उनले गाउँ मात्र होइन, आफ्नो पुरानो परिचय पनि पछाडि छोडेर एउटा नयाँ यात्रामा निस्किएका थिए । नेपालगञ्जमा उनले एउटा स्थानीय रेडियोमा काम गर्ने अवसर पाए । त्यहीँ उनको गलाले पहिलोपटक व्यावसायिक मञ्च पायो र कलाकारिताको पहिलो ढोका खुल्यो । उनी रेडियोमा बोल्न थाले, गीत बजाउन थाले ।
उनको कार्यक्रम ‘रमाइलो गोधली साँझ’ स्रोतामाझ लोकप्रिय हुन थाल्यो । त्यही क्रममा उनको फोनिङ कार्यक्रममार्फत चिना विकसँग चिनजान भयो । चिना उनको कार्यक्रममा फोन गरेर गीत गाउने नियमित कलर थिईन । टंकको कार्यक्रममा गीत गाउने चिनाको स्वर टंकलाई मनपर्यो ।
चिनाको स्वर राम्रो लागेपछि उनले चिनासँगै मिलेर एउटा गीत ल्याउने तयारी गरे । टंकले आफ्नै रचना र सङ्गीतमा पहिलो गीत २०७१ सालमा ‘जुनी जुनी तिमीलाई माया गर्छु’ चिनासँगै रेकर्ड गराए ।
तर, त्यो गीतले उनलाई खासै चर्चा दिलाउन सकेन । काठमाडौंको कठिन परीक्षा र पलायनको सोच नेपालगञ्जको अनुभवले उनलाई थप अवसरको खोजीमा राजधानी काठमाडौं डोर्यायो । तर, काठमाडौंको यात्रा सोचेजस्तो सहज थिएन ।
यहाँ न कोही चिनजानको थियो, न त खल्तीमा पर्याप्त पैसा थियो । रहरले केही गीत रेकर्ड गराए, पूर्णकला बिसी, देवी घर्तीजस्ता स्थापित कलाकारसँग पनि गाए, तर ती गीत बजारको भिडमा कतै हराए ।
जीवन धान्नकै लागि उनी दोहोरी साँझमा गाउन थाले । एकातर्फ कलाकार बन्ने सपनाको उज्यालो थियो, अर्कोतर्फ पेट पाल्ने बाध्यताको अँध्यारो । उनीभित्र गहिरो निराशा छाउन थाल्यो ।
‘मैले सोचेँ, अब गीत–सङ्गीतबाट मेरो भविष्य छैन,’ टंक त्यो कठिन समय सम्झन्छन्, ‘मेरो गलाले मलाई धोका दियो, मैले यो क्षेत्रमा केही गर्न सक्दिनँ भन्ने लाग्यो । अब एउटा अन्तिम गीत ‘सन्सनी’ निकाल्छु र यो क्षेत्रलाई सधैंका लागि बिदा गर्छु भन्ने निष्कर्षमा पुगेको थिएँ ।’
पहिलो गीत निकालेको ४ वर्षपछि २०७५ सालमा ‘सन्सनी’ गीत सार्वजनिक भयो, टंकको भाग्य बदल्यो । देवेन्द्र खत्रीको शब्द, भद्र ओलीको संगीतमा त्यतिबेलाको चर्चित गायिका टिका पुनसँग गाएको उक्त गीत देशभरका रेडियोमा घन्कियो ।
उनले ‘सन्सनी’लाई आफ्नो साङ्गीतिक यात्राको अन्तिम अस्त्र ठानेका थिए । गीत रेकर्ड गरेर रेडियोमा पठाए, तर त्यसको प्रतिक्रिया कस्तो आयो भन्ने उनलाई पत्तो थिएन । त्यही बीचमा २०७२ सालको महाभूकम्प गयो । उनले काम गर्ने दोहोरी साँझ बन्द भयो, आम्दानीको अन्तिम स्रोत पनि गुम्यो ।
उनी लगभग रित्तो हात गाउँ फर्कने तयारीमा थिए । तर, भाग्यले अर्कै मोड लिइसकेको थियो । उनलाई थाहै नदिई ‘सन्सनी’ले सुदूरपश्चिमका रेडियोमा तहल्का मच्चाइसकेको रहेछ । गीतको चर्चाले उनलाई एकाएक खोजीको पात्र बनायो । एकदिन उनलाई कैलालीको सुखड महोत्सवबाट कार्यक्रमको लागि प्रस्ताव आयो ।
‘म त अचम्मै परेँ, मेरो गीत चलेको छैन, मलाई कसले बोलायो ?,’ उनी त्यो अविश्वसनीय क्षण सम्झिन्छन् । आयोजकले उनलाई ३५ हजार पारिश्रमिक र आउने–जाने हवाई टिकटको अफर गरे । त्यो उनको जीवनको पहिलो ठूलो कमाइ र पहिलो महत्वपूर्ण मञ्च थियो ।
‘त्यो गीतपछि मैले पछाडि फर्केर हेर्नुपरेन’, उनी भावुक हुँदै भन्छन्, ‘विदेशमा रहेका शुभचिन्तकले स्काइपमार्फत फोन गरेर हौसला दिन्थे । कसैले त १०–१२ हजार रुपैयाँ जम्मा गरेर पठाइदिए । त्यो सानो सहयोगले उनलाई ठूलो ऊर्जा दियो ।’
जुन गीतलाई उनले आफ्नो अन्तिम प्रयास ठानेका थिए, त्यही गीत उनको साङ्गीतिक पुनर्जन्मको कारण बन्यो । देउडाको पुनर्जागरण र डिजिटल दूरदर्शिता ‘सन्सनी’को सफलतापछि टंकले नेपाली सङ्गीत बजारको नाडी छामे । उनले बुझे कि दर्शक–स्रोताले नयाँ स्वाद खोजिरहेका छन् ।
उनले सुदूरपश्चिमको मौलिक देउडा भाकालाई नमारीकन त्यसलाई आधुनिक ‘इडियम’ सङ्गीतसँग फ्युजन गर्ने साहसिक प्रयास सुरु गरे ।
‘जसले हाम्रो लवजलाई ‘तम्रा–हाम्राु भनेर खिसीटिउरी गर्थे, उनीहरूलाई नै नचाउने गीत बनाउनुपर्छ भन्ने इख पलायो,’ उनी आफ्नो सोच बताउँछन् । उनको यो प्रयास पनि सफल भयो । ‘सागपात खाई हुर्केकी मेरी छोर्याट्टी, मेरी चम्पा, मन माया, मुगु रारा तालमैमा, ए प्यारु, साइबाज साइबाज, जस्ता दर्जनौं गीतले राष्ट्रिय बजारमा धूम मच्चाए ।
उनले २०१४ मै आफ्नो युट्युब च्यानल सुरु गरे । अरू कलाकार ठूला म्युजिक कम्पनीलाई गीत बेचिरहँदा उनी आफ्नो च्यानलमा गीत राख्थे । ‘सुरुमा युट्युबबाट १५ हजार आउँदा म छक्क परेको थिएँ’, उनी भन्छन्, ‘त्यसले मलाई लगानी गरेपछि प्रतिफल आउँछ भन्ने विश्वास दिलायो ।’
आज उनको त्यही दूरदर्शिताले उनलाई आर्थिक रूपमा आत्मनिर्भर बनाएको छ । उनको युट्युब च्यानल उनको डिजिटल साम्राज्य बनेको छ, जहाँबाट उनी आफ्ना सिर्जनालाई विश्वभरका दर्शकसम्म पुर्याउँछन् ।
कलाकारिताभन्दा परको सपना, राजनीतिको मैदानमा कलाकारितामा सफलताको शिखर चुमिरहँदा पनि टंकले आफ्नो जरा भुलेनन् । गाउँको विकटता, बाटोघाटोको अभाव र शिक्षा–स्वास्थ्यको दुरवस्थाले उनलाई सधैं पोलिरहन्थ्यो ।
यही भावनाले उनलाई राजनीतिमा तान्यो । २०७९ सामा सम्पन्न स्थानीय तहको निर्वाचनमा उनी आफ्नो नगरपालिका पञ्चदेवल विनायकमा मेयरमा आपको दाना निर्वाचन चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बने । यो उनको राजनीतिक महत्वाकांक्षा थिएन, बरु समाजसेवाको एउटा उत्कट चाहना थियो ।
‘चुनाव हारजित आफ्नो ठाउँमा छ’, उनी स्पष्ट पार्छन्, ‘तर मैले आफ्नो गाउँको नौवटै वडाको घर–घरमा पुग्ने र त्यहाँको वास्तविकता बुझ्ने मौका पाएँ ।’ निर्वाचनमा उनले अपेक्षित मत पाएनन्, मेयरमा ६ जना उम्मेदवार रहेकोमा उनी पाँचौ नम्बरमा पुगेर पराजित भए । उनले १५४ मत मात्रै प्राप्त गरे । तर गाउँलेको चेतनास्तर र राजनीतिको चरित्रलाई नजिकबाट नियाल्ने अवसर पाए ।

Leave a Reply