विश्वविद्यालय, समाज र नीतिबीचको अन्तरसम्बन्धमा जोड दिँदै ‘प्रोडक्टिभ नलेज इकोसिस्टम’ कार्याशाला सम्पन्न

काठमाडौं । काठमाडौंमा विश्वविद्यालयका ज्ञान र समाजबीचको अन्तरसम्बन्ध स्थापनाबारेको कार्याशाला सम्पन्न भएको छ । प्रोडक्टिभ नलेज इकोसिस्टम नाम दिइएको कार्याशालामा त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल, काठमाडौं र पोखरा विश्वविद्यालयका कम्तिमा ६० जना अध्यापकहरुको सहभागीता थियो ।

विशेषगरी उच्च शिक्षा अध्यापकहरुलाई ज्ञानको पारिस्थितिकी (नलेज इकोलोजी)बारे समालोचनात्मक विश्लेषण गर्न प्रोत्साहन गर्ने कार्याशालामा अनुसन्धान र शिक्षण सिकाइ प्रक्रियाका दुई विधामा रहेर गतिविधिहरु सञ्चालन भएका थिए ।

टीयु स्कलर्स ग्रासरुट कम्युनिटीको अग्रसरतामा सञ्चालित उक्त कार्याशाला बागबजारस्थित काठमाडौं मोडल कलेज (केएमसी)मा सञ्चालन भएको थियो भने अमेरिकाको स्टाेनी ब्रुक युनिभर्सिटीकाे पनि समन्वय रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि रहेका विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा. डा. देव राज अधिकारीले ज्ञानको उत्पादन, प्रयोजन र समुदायसँगको संयोजनलाई शिक्षण सिकाइ र अनुसन्धानले जोड्न भूमिका खेल्नुपर्ने बताए । कतिपयले अन्तर्राष्ट्रियस्तरका जर्नलमा गरेका अनुसन्धान प्रकाशनले समेत आफ्नै समुदायमा खास प्रभाव नपरेको उल्लेख गर्दै उनले स्थानीय ज्ञानका स्रोतहरुको पहिचान र गरिएको अनुसन्धानको परिणाममा पनि ध्यान दिनुपर्नेमा जोड दिए । आयोगले ज्ञानका बहुआयामिक पक्षमा लगानी गरिरहेको पनि उनले उल्लेख गरे ।

कार्यक्रममा प्राध्यापनमा लागेकाहरुले आफूलाई अनुसन्धानमा जोड्ने गरेको तर आफ्नो ज्ञानको उत्पादन, प्रयोजन र संयोजनको भूमिकामा पनि समालोचना गर्ने अवस्था आएका सबालहरु उठेका थिए ।

समूह छलफलका क्रममा नेपाल नीति अनुसन्धानका अध्यक्ष डा. दिपक कुमार खड्काले नीतिगत रुपमै ज्ञानका बहआयामिक पक्षलाई समेट्न् प्रयास भइरहेको उल्लेख गरे । उनले समाज, शैक्षिक संस्था र नीति निर्माण निकायबीच समन्वयकाे आवश्यकता औंल्याउँदै कार्यक्रममा उठेका विषयहरु समेत आगामी नीति निर्माणका लागि छलफलमा लगिने बताए ।

पूर्वाञ्चल विश्वविद्यालयका उपकूलपति प्रा. डा. बिजु थपलियाले पूर्वचाञ्चल विश्वविद्यालयले ज्ञानको विविधतालाई सम्मान गरेर अध्यापकको बहुआयामिक योगदानको कदर गर्ने गरेको बताए । त्यसलाई अझै परिष्कृत गर्नेतर्फ विश्वविद्यालय लागेको पनि उनले जानकारी दिए ।

त्रिभुवन विश्वविद्यालयका पूर्वउपकूलपति प्रा. डा. शिव लाल भुसालले त्रिविमा आफ्नो पालामा शैक्षिक जगतलाई समाजसँग जोड्ने कुरामा केही पहल भएको स्मरण गर्दै अहिले थप कार्यहरु गर्न जरुरी रहेको बताए । अनुसन्धान भनेर केवल अन्तर्राष्ट्रिय छवि हासिल गर्ने होडबाजीलाई मात्रै ज्ञानको सर्वरुप मान्न नहुनेमा उनको जोड थियो ।

त्यस्तै, काठमाडौं विश्वविद्यालयकी डा. अमिना सिंहले अनुसन्धानको पछि लाग्दा कतै आफैंसँग भएका ज्ञानका अथाह श्रोतहरुको अबमूल्यन त भएको छैन भनेर सोच्नुपर्ने बताइन् । उनले आफ्ना कार्यहरुको प्रभावका बारेमा सोचिरहँदा स्थानीय ज्ञानका विषयमा पनि सचेत हुनुपर्नेमा उनको जोड थियो ।

त्यस्तै, त्रिविका सहप्राध्यापक डा. गंगा राम गौतमले शिक्षण पेशामा लाग्नेहरुले आफूलाई भविष्यमा कस्तो किसिमको व्यक्तित्वमा परिणत गर्ने भन्ने स्पष्ट भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए । शिक्षणतर्फको कार्याशालाको सहजीकरण गर्दै उनले खोजमूलक सिकाइलाई आत्मसात गरेमा सकारात्मक रुपान्तरणमा टेवा पुग्ने उनको बुझाइ छ ।

अमेरिकाको स्टेट युनिभर्सिटी अफ न्यूयोर्कका प्रा. डा. श्याम शर्माले अनुसन्धान र शिक्षण दुवैको योगदान र प्रभावको पहिचान र सम्मान हुनुपर्नेमा जोड दिए । उनले उच्च शिक्षाका शिक्षकहरुले ज्ञानको उत्पादन, प्रयोजन र संयोजनमा बहुआयामिक तवरले योगदान दिइरहेको उल्लेख गर्दै यस विषयलाई नीतिगत रुपमै समावेश गराउन सम्बन्धित क्षेत्रले भूमिका खेल्नुपर्नेमा जोड दिए । त्यस्तै, कृत्रिम बौद्धिकता (एआई)को प्रयोगलाई आफ्नो क्षमता, दक्षता, र अनुसन्धानलाई थप गुणस्तरीय र प्रभावकारी बनाउन मात्रै गर्नुपर्ने उनले बताए ।
त्रिविकै उपप्राध्यापक डा. बन्दना जैनले संस्कृति, भाषा, स्थानीय रहनसहन जस्ता सामाजिक परिवेशबाट मानिसहरुले ज्ञान पाउने, सिक्ने र सिकाउने अवस्था रहेको तथ्यलाई मनन गर्नुपर्ने बताइन् ।

कार्याशाललाई सहजीकरण र सम्बोधन गर्दै केएमसीका क्याम्पस चिफ सुरेन्द्र सुवेदीले यस्ता कार्याशालाले आफ्नो कर्म कसरी गर्ने साथै किन गर्ने, समाजमा आफ्नो कार्यले के कस्तो प्रभाव बनाइरहेको छ । जसमा आफूले कस्तो महुसस गर्ने अवस्था छ जस्ता प्रश्नहरु आफैंलाई गरेर अगाडि बढ्नुपर्ने बताए । शिक्षण सिकाइलाई रोचक बनाउन लक्ष्य निर्धारण गरी जान सकेको खण्डमा सहज अवस्था सिर्जना गर्न सकिने उनको बझुाइ थियो ।

कार्याशालालाई सुेवदीसहित प्रा. डा. श्याम शर्मा, डा. गंगा राम गौतम, डा. अमिना सिंह, डा. रेश्मा तुलाधार, डा. बन्दना जैनलायतले सहजीकरण गरेका थिए ।

 

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *