विदेशको मोह त्यागेर स्वदेशमै व्यवसाय गरिरहेकी ऐश्वर्या

कैलाली । एसएलसी र प्लस–टु सकेलगत्तै ऐश्वर्यालाई नजिकका केही साथिहरुले एउटै प्रश्न सोध्थे- ‘अब तिमी के गर्ने ?’ उनको जवाफ छोटो हुन्थ्यो, ‘यही बस्छु, अझै पढ्छु, केही नयाँ गर्छु ।’

त्यो बेला केहीले उनलाई विदेश जान सुझाव दिए, केही आफैं गए, केही गएनन् । तर ऐश्वर्य विष्टले भने आफ्नै योजनामा अडिग रहिन् र आफैं व्यवसाय सुरु गरिन् ।

बुवा डम्बर विष्टले झन्डै तीन दशकदेखि धनगढी–५ तारानगरमा चलाइरहेको ज्ञान निकेतन बोर्डिङ स्कुल कोभिड–१९ संक्रमणपछि थला पर्न थाल्यो । सस्तोमा गुणस्तरीय शिक्षा दिइरहेका उनीहरूले शुल्क बढाएर विद्यार्थी र अभिभावकको बोझ बढाउन चाहेन । बरु, विद्यालय नै बन्द गर्ने निर्णयमा पुगे ।

२०५४ सालमा सुरु भएको विद्यालय २०७८ मा बन्द भयो ।

विद्यालय बन्द गर्ने बुबाको निर्णयसँगै ऐश्वर्याको ‘रिसोर्ट सुरु गर्ने’ योजना मूर्तरूप लिन थाल्यो । विद्यालयकै लागि बनाइएका शान्त संरचना, हरियाली र रुख–विरुवालाई विस्तार गर्दै उनले नयाँ नाम दिइन्, ‘द रेजिडेन्सी इन वैभव प्यालेस एण्ड रिसोर्ट ।’

‘बुबाले पहिले नै रिसोर्ट वा अस्पताल खोल्ने योजना बनाउनु भएको थियो । यहाँका संरचना पनि त्यही अनुसार बनेका हुन्’, उनले भनिन्, ‘अब म बुबाको योजनालाई अगाडि बढाइरहेकी छु । ’

झन्डै एक बिघा क्षेत्रमा थप ३ करोड रुपैयाँ लगानी गरेर उनले नयाँ शैलीमा व्यापार सुरु गरिन् । बाहिरी पक्षमा बुबाले साथ दिने भए पनि भित्री व्यवस्थापन उनी आफैं गर्छिन् । अहिले ९ जनालाई नियमित रोजगारी दिएकी छिन् । आवश्यक पर्दा होटल म्यानेजमेन्ट पढिरहेका विद्यार्थीहरूलाई पनि अवसर दिन्छिन् ।

पार्टी प्यालेस, क्याफे र लज सञ्चालन गरिरहेकी ऐश्वर्यको लक्ष्य केवल पैसा कमाउनु मात्र होइन युवाहरू विदेश गए मात्र सफल हुन्छन् भन्ने धारणा तोड्नु हो । ‘हामी जस्ता सबै युवा विदेश गए देशमा को बस्छ? देशमै भविष्य बनाउन सकिन्छ भन्ने देखाउनु मेरो चाहना हो’, उनले भनिन् ।

सुदूरपश्चिममा अझै पनि कतिपय अभिभावक छोरीलाई जिम्मेवारी दिन हिच्किचाउँछन् । ऐश्वर्या यो सोच बदल्न चाहन्छिन् ।

‘छोरीले अर्काको घर मात्र सम्हाल्छे भन्ने मानसिकता हटाउनुपर्छ। बुवाले छोरीलाई पनि विश्वास गर्नुपर्छ—छोरीहरू कमजोर हुँदैनन्’, उनले स्पष्ट पारिन् ।

एक वर्षदेखि पार्टी प्यालेस र लज सञ्चालन गरिरहेकी उनले युवामुखी क्याफे पनि खोलेकी छिन् । सुदूरपश्चिमका विभिन्न ठाउँमा वैभव प्यालेसको शाखा खोल्ने उनको योजना छ ।
‘वैभव’ उनको दाजुको नाम हो । केही वर्षअघि दाजुको निधन भएपछि बुबाले छोराको सम्झनामा, र ऐश्वर्याले दाजुको सम्झनामा यो व्यवसायको नाम राखिन् ।

२०५७ सालमा सेती प्रादेशिक अस्पतालमा जन्मिएकी ऐश्वर्याको जीवन संघर्षमै सुरु भएको हो ।

‘अस्पतालमा शैया नपाएर घरको खाट लगेर जन्मिएकी हुँ रे । एम्बुलेन्स नपाएर स्कुलको भ्यानमा अस्पताल ल्याइएकी थिएँ । नर्स नहुँदा स्कुलकै स्टाफले सघाएका थिए’, उनी सम्झिन्छिन्, ‘त्यसैले संघर्ष जीवनको अङ्ग हो भन्नेमा म दृढ छु ।’

दाजुको निधनपछि घरको जेठो छोराको भूमिकामा उनी छिन् । ठूलो जिम्मेवारी सानो उमेरमै आएको छ । कहिलेकाहीँ दाजुको यादले उनी भावुक हुन्छिन् ।

‘बुबाले धेरै गर्नुभएको छ । उहाँलाई दुःख दिन चाहन्न। दाइ भएको भए मलाई धेरै सहज हुने थियो’, उनी भन्छिन्, ‘दाइ नभएकाले उहाँको नामको सहारामा दाइको जिम्मेवारी पनि म नै वहन गरिरहेकी छु ।’

विवाह, व्रतबन्धदेखि सेमिनारसम्म सेवा दिँदै आएकी उनी अहिलेको व्यापारबाट उत्साहित छिन् । पहिले विदेश जान सुझाउने साथिहरू अहिले भन्छन्, ‘नेपालमै राम्रो गरिरहेकी छ्यौ ।’

‘विदेशमा बुबा–आमा हुँदैनन्, बिरामी हुँदा पानी दिने मान्छे पनि हुँदैन । काममा जानै पर्ने बाध्यता हुन्छ’, उनी साथिहरूको अनुभव सुनाउँदै भन्छिन्, ‘त्यसैले विदेशभन्दा यतै बस्नु राम्रो रहेछ ।’

घरको आम्दानीको स्रोत बन्द भएपछि विदेश जाने सोच बनाएकी ऐश्वर्यालाई बुबाले भने, ‘म आट्छु, तिमी साथ देऊ ।’ त्यसपछि उनी यतै रोकिइन् । अब उनी भन्छिन्, ‘यो व्यवसाय केही वर्षअघि सुरु गरेको भए अझ राम्रो हुने थियो ।’

Comments

2 responses to “विदेशको मोह त्यागेर स्वदेशमै व्यवसाय गरिरहेकी ऐश्वर्या”

  1. Rojan karki Avatar
    Rojan karki

    Baau aamako ko sampati pahile Dekhi nai rahexa ra ta garin zero Bata suro gareko vayo po ho vannu

  2. Mewa Ram Chaudhary Avatar
    Mewa Ram Chaudhary

    यो समाचार सुन्न/पढ्न पाउँदा अत्यन्तै खुशी लाग्यो। धेरै धेरै बधाई छ ऐश्वर्या नानीलाई! थप प्रगतिको कामना!👍❤️

Leave a Reply

Your email address will not be published. Required fields are marked *