उता उत्तराखण्डमा बाढी आयो । मान्छे बगायो, घर बगायो । यता म रातभर बिथोलिएँ । रातैभर निदाउन सकिनँ, यता पल्टेँ उता पल्टेँ अनि उज्यालो भयो भनेर साहित्यमा प्रयोग हुने झूटो भाषा म लेख्दिनँ । तर, म नराम्ररी बिथोलिएँ । अझै २६ जना नेपाली बेपत्ता भएको समाचार आइरहेछ । भिडिओ हेरेपछि आतङ्कित भैरहेछ मन । त्यो समाचारहरू पढेपछि । लगातार समाचारहरू आइरहेपछि यो लेख लेख्न मन लाग्यो ।
कारण , जहाँ आफ्नो पन हुन्छ त्यहीँ भाव जोडिएको हुन्छ । भाव र स्मृति जोडिएपछि भावनात्मक सम्बन्ध पैदा हुन्छ । मलाई यस्तै भयो । गत असार १२ गतेदेखि १६ गतेसम्म उत्तराखण्डको राजधानी देहरादुन र मसुरी हुँदै हरिको द्वार हरिद्वार , ऋषिकेश गएर आएको थिएँ । घुमेको कति लेख्नु झैँ लागेको थियो । तर, भयानक बाढीले भयावह पारेपछि फेरि सम्झेँ र लेख्न मन लाग्यो ।
लेख्न मन लाग्नुको कारण हो- नेपाली जताततै । पहिले गोर्खाको भूमि भएर नै हो । भावमा मेरो राष्ट्र जोडियो । स्मृति त्यहाँ पुगेपछि बन्यो र भावनात्मक भएर बग्न थाले ।
थाहा पाएँ, उत्तराखण्ड भारतको २७ औं गणराज्यको रूपमा सन् २००० को ९ नोभेम्बरमा बनेको रहेछ। नेपालको साइनो यहाँ विशेष रहेछ । सन् २००६ सम्म उत्तराञ्चल राखिएको यो राज्यको नाम केदारखण्ड (वर्तमान गढवाल), मानसखण्ड ( वर्तमान कुमाउँ ) उत्तरको भूमि र भारतको प्राचिन पौराणिक शब्द भन्दै सन २००७ देखि उत्तराखण्ड भनेर राखियो ।

सीमा सुरू हुनेबित्तिकै पस्ने गेट बोल्यो “देवभूमि उत्तराखण्ड आगमन हेतु धन्यवाद !” निक्लने गेटले भन्यो “देवभूमि उत्तराखण्डे आगमनाय धन्यवाद !” ऋषि र साधुको निवास रहेको यो ठाउँमा विभिन्न पवित्र तीर्थस्थल छन् । १८ औं शताव्दीमा गोर्खालीको अधिनमा रहेको यो भूभाग सन १८१६ को सुगौली सन्धि पश्चात अंग्रेजको भयो र आज भारतसँग छ ।
नेपालीहरूसँग जरा जोडिएको उत्तराखण्डका मुख्यमन्त्री नेपाली मूलकै पुस्करसिंह धामी छन् । उनी भ्याएसम्म कुलदेवताको पूजा गर्न हरेक वर्ष सुदूरपश्चिम आउने रहेछन् । यति भनेपछि धामीलाई म नेपालकै नेता प्रेमसिंह धामीजस्तै नदेखिकनै आत्मीय अनुभव गर्न थालेँ ।
देहरादुनका बलभद्र कुँवर खलंगा विकास समिति नालापानीका अध्यक्ष कर्नेल विक्रमसिंह थापाले भन्नुभयो “धामीज्यूलाई नौमती बाजा , पञ्चे बजा र नेपाली खानाहरू असाध्यै मन पर्दछ, हामी ५१ वर्षदेखि हरेक वर्ष १२ मईमा नेपाली खाना , बाजा र नाँच गर्दै खलंगा दिवस मनाउँदछौं ।”
उत्तराखण्डमा जहाँ जाउँ नेपालीमै बोले हुन्छ झैँ लाग्दछ । अनुभवमा आफ्नोपनले अनभूति थप्दै जान्छ । शंख र घन्ट बज्दा यसै आनन्द आउने परिवारमा हुर्केको र नेपालीहरू प्रशस्त भेटेकोले पनि उत्तराखण्डसँग नजिकिएँ ।
देहरादुन, मसुरी, हरिद्वार, ऋषिकेश , गंगोत्री , यमुनोत्री, केदारनाथ , बद्रीनाथ मात्रै हैन सिंगो उत्तराखण्डमा नेपालीहरू अनगिन्ती छन् ।
पहिलो दिन मसुरीको यात्रा थियो । बिहान ७:१५ को एयर ईण्डिया केहीबेर डिले भयो । दिल्ली एयरपोर्टबाट बाहिरिँदा ९:४१ भैगयो । गाडी खोजेर हिँड्दा ओर्दा ११:१० बजायो घडीले । बीचमा भेज खाना खाएर मसुरी पुग्दा ७ बजेको थियो । ओहो मसूरीको जाम । ओहो टाटाटिँटीँ । ओहो हैरानी । बल्ल मसुरी पुगियो । त्यो रात यसै भैगयो ।
भोलिपल्ट हेर्दा मसुरीको पहाडमै जस्तै लागेको थियो । नेपाल जस्तै लागेको थियो । काठमाडौं जस्तै लागेको थियो । धुलिखेल, नगरकोट, फूलचोकी जस्तै लागेको थियो । नेपाली प्रशस्त भेटिने मसुरी मनसुरी चामल जस्तै मीठो लाग्यो ।
त्यहाँको दृष्यले अन्तदृष्यमा नराम्रो झस्का हानेको छ ।
बोरा बोकेर टोपी लगाएर हिडेपछि “तपाई नेपाली हो ?” भनेर सोध्नै नपर्ने । एकैपल्ट “के छ दाइ खवर?” भने भै हाल्ने ।
उनीहरूले पनि “ठिक छ त नी कतादेखि हो नि ?” भनिहाल्ने ।
बोरा बोक्ने एक नेपालीलाई मैले सोधे “किन बोरो बोकेको ?”
उनले भने “पाइलटको लागि हवाईजहाज जस्तै हो मेरो लागि बोरा ।”
राम्रो मन भएका र जीउ र हात मैलो देखिने मेरा नेपालीहरू पुस्तौपुस्तादेखि मसुरीमै छन् । नेपालको पशुपति टाढा छ उनीहरूको लागि तर उत्तराञ्चल नजिक लाग्दो रहेछ । नेपालले खान दिन सकेन । बच्चाबच्ची पालिदिन सकेन । काम दिन सकेन । उनीहरू खान, पालिन र काम गर्न उता पुगे ।
घरको सम्झनाले उनीहरूको आँखामा पानीको धारा बगिरहेको थियो । एकैछिनमा धारा बन्द गरे झै भन्थे “नेपालको पहाड दुःख उताको सुख ।”
संसारभर बसाइ सर्ने र विदेशमा काम गर्नेहरू खुशीले गएका हुँदैनन् । उनीहरूको पनि परदेशमा पिरिएर बस्नु बाध्यता छ ।
कालिकोटका अमरबहादुर शाही मसुरीमा भन्दैथे “परदेशमा कोही हुँदैन काम गरेको मात्रै आफ्नो, काम छैन कोही छैन यहाँ मजवुरीले मसुरीमा छौँ ।”
हुन पनि हो हनहनी ज्वरो आए पनि काममा गएन एक-दिन दुई दिन र महिना दिन भयो भने लखेटीहाल्छन् । बाबु तँलाई ज्वरो आयो लौ तातोपानी खाउँ आराम गरेर बस भन्ने त घरमै हो । अब त्यही छाडेर हिँड्नुपरेको छ । सम्झेँ खाडीका नेपालीलाई । मलेशियाका नेपालीलाई र काममा गएका संसारभरका नेपालीलाई । भूगोल मात्र फरक लाग्यो । व्यथा उही लाग्यो ।
०००
देहरादुन र दिल्लीमा हपक्क तातेपछि शीतल खोज्न मसुरी जाने नियम ब्रिटिशले बसालेछ । सन् १८२५ मा ब्रिटिश क्याप्टेन फ्रेडरिक योँग देहरादुनबाट माथि चढे पहाड र बस्ती बसाले । आज पहाडको घरहरू रुखजस्तै छपक्कै छन् ।
कालिकोटको त गाउँका गाउँ नै त्यहीँ रहेछ । काठमाडौं कनेक्सन छैन उनीहरूको । उत्तराञ्चलमै किस्मत कनेक्सन छ उनीहरूको । भाषा पनि उस्तै लाग्दो रहेछ । चट्ट बिँडी तान्दै मनभरि माया लिएर मग्नमस्तिले बोल्दै थिए कालिकोटका बलबहादुर शाही “हामी त एक दिनमा ४/५ सय कमाउने हौ क्यारे तपाईँ कितना कमाउनु हुन्छ कुन्नी !”
जम्मा पाँचसय भारु त्यो पनि सधैँ नहुने । यति कमाउँदा पनि खुशी देखिने बल बहादुर मलाई निर्बल लाग्यो । उनको देश र मेरो देश नेपाल कहिले सम्म निर्बल रहने भन्ने लागिरहयो ।
नेपाली भन्ने मायाले उनले भनेको कुराले मेरो मन ढक्क फुल्यो ।
भने “देशमा कामै छैन रोजिरोटी छैन नत्र किन आउँथ्यौ । मोटा माडा नेता लाई भयाको रोजी भए हामी किन आउँथ्यौँ गरिबहरू । पसिना बगायाबगायै खान्छौ हामी त, आठ पुस्ता भयो हामी यहाँ आएको।”
उनीसहित उनका तीन पुस्ता त अहिले त्यहिँ मसुरीमै रहेछन् ।
नेपालको असली राजदूत त उनी लाग्यो । इमानदार छन् । स्पष्ट बोल्छन् । उनले गर्दा बहादुर भने पनि नेपाली इमानदार छन् भन्ने गर्दछन् मसुरीमा ।
मसुरीको लेख्ने हो भने त कति छन कति । जे होस् एक दिन बसेर चिसो खाएपछि हामी पनि गर्मीभन्दा पनि तातो नालापानी युद्धबारे बुझ्न देहरादुन झर्यौँ ।

०००
नालापानीबारे बालकृष्ण समले लेखेको कविता याद आइरहेथ्यो । नालापानी नेपालको थियो भन्ने कुराले त्यसबारे हामी यात्रुहरू ( साथी सुरेन्द्र फुयाँल र उसको श्रीमती , निकिता केसी, मेरी सिर्जना , छोरी सिमल र ) बुझ्न खोजिरहेको थियौँ ।
समले लेखेका थिए –
धेरै वर्ष अघिको, कथा नालापानीको ,
सानुसानु नेपाल, फूलजस्तो कोमल ,
देश दाउ लाउने ,वैरी गर्थ्यो विचार
नालापानी किल्लामा, नलिई आराम छिन्भर
नसुती चारै प्रहर, खुवैसित लडे रे बलभद्र कुँवर
पहाडको टाकुरी, चममचम चम्के खुकुरी
जसरी मेघ गर्जन्छ, आकाशमा सनन
उसरी गर्जे नेपाल, नालपानी घनन
मुला काटे झैँ काटी, खुकुरी घुमे फनन
एकरात सुनसान, पानी आउने मुहान
वैरी आई थुनेछ, सास धान्ने कसरी ?
मनमनमै गुनेर, यसरी कि उसरी
नेपालीको फौजले , त्यहाँबाट आँटले
पाईला चाल्यो सुस्तरी, स्वास्नीमान्छे ओइरेर, केटाकेटी धुइरेर
युद्धको खेल खेलेथे, उछितो पारी वैरीको
तर कठै छोडेथे, घुट्को नपाई पानीको
अझ ताजा छँदैछ, रगतले लेखेको
धेरै वर्ष अघिको, कथा नालापानीको
( नोटः पहिले बहादुरीका यी कथा पाठ्यक्रममा पढाइन्थ्यो अब, यो कविता अब दुर्लभ हुँदै गएकोले सबै हालको हो )
सहस्त्रधारा, देहरादुन
मैले सोचेँ धेरै धारा भएको ठाउँ होला । तर, यो त नालापानी जानु भन्दा अघि जानुपर्ने ठाउँ रहेछ । देहरादुनको बजारबाट केही पर मसुरी उक्लँदा बाटैमा पर्ने यो सहस्त्रधारा आँसुको धारा बग्ने ठाउँ रहेछ । यहाँ संसारमै नभएको विचित्रको स्मारक रहेछ । यो इतिहासकै अलग स्मृति स्मारक मानिन्छ । जसमा आफ्नो विरोधीले आफैँलाई मारेको र वीर बलभद्रको अदम्य वीरताको लागि संयुक्त श्रद्धाञ्जली दिँदै रिस्पना नदी तटमा यो सहस्त्रधारा स्मारक बनाएको रहेछ ।
लेखिएको छ- सन् १८१४ मे दुन घाँटी मेँ । नालापानी की पहाड पर स्थित गोरखाऔँ के किले पर अंग्रेजी फौज के सेनानायक जनरल जिलेस्पी ने आक्रमण का प्रयास किया । गोरखा सेनापति बलभद्र थापा जो की अमर सिंह थापा के पौत्र थे, के नेतृत्व मे गोरखा सेना के सिपाहिँयो के साथ मेँ उपथित महिलाऔँ तथा बच्चोँ ने भी वीरतापूर्वक अंग्रेजी फौज का सामना किया जिँसमे जनरल जिलेस्पी अपने कई साथियोँ के साथ ३१ अक्टुवर १८१४ को माराय गया । बाख मे विपरीत परिस्थतियो मे गोरखा सेनापति बलभद्र थापाको नालापानी का किला त्यागता पडा ।
अंग्रेजीमा It is the only martyr Memorial of its kind history where victorious army buil the memorial on the bank of river Rispana in memories of their General Gilaspy with other army men as well as Gorkha General ‘BALBHADRA THAPA’ their courage Jointly .
In1814 the Battle of Nalapani which took place between the Gorkha Army under the Command of Balbhadra thapa , Grandson of Amar Singh Thapa and the British Army Led by General Gilaspy .In this Battle Women and Children Joined hands in Fighting along with THE GORKHA Army Agains the British Army the British General lost his life on 31st October 1814 with other fellow Military Men , later on due to Seer adversity the Gorkha General Balbhadra Thapa along with his army was forced to leave the fort of Nalapani.
सहस्त्रधारा हेरेर फर्केदा सिक्किमका पासाङ नोर्वु शेर्पा हामीसँगै हुनुहुन्थ्यो । नालापानी युद्धबारे अध्ययन गर्दै किताब लेख्न देहरादुन बस्नु भएको उहाँ प्रश्न गर्दै हुनुहुन्थ्यो “नेपालीले युद्ध हारयो भन्छ ,दुईजनाको लडाइँमा जनरल अक्टर लोनीले मिलौं भनेर पहिलो प्रस्ताव गर्नेले हार्दछ कि लडौ भन्नेले हार्दछ ?”

उहाँको प्रश्नमा नेपालीपन र बहादुरी मिसिएको गम्भिर र विचारणीय कुरा लाग्यो मलाई । नेपाल विश्वमा कसैको अधिनमा नबसेको देश हो भनेर कस्सिएर शेर्पा स्टायलमा भन्दै हुनुहुन्थ्यो “नेपालको इतिहास राणाले लेख्न दिएन भन्छन् लुकेका कहानी लेखिएन पनि, आज पनि नेपाल र हाम्रा पूर्खा सम्झदा गौरव गर्दछु हामी कसैको अधिनमा छैनौं, थिएनौं ।”
भावमा गएर बुझ्दा भावुक कुरा लाग्यो । शेर्पाजीको नागरिकता भारतीय छ तर मनभर नेपालीपन छ । हामी कत्ति नेपाली नागरिकता लिएका छौ अरु देशको नागरिकता लिन नेपालीपन बिर्सदै छौ ।
सहस्त्रधारामा लेखिएको कुरा हेर्दा बलभद्र सोचेभन्दा बढीका मान्छे भएर नै ब्रिटिश (त्यो बेलाको शत्रु) ले प्रशंसा गर्दै स्मारक बनाए । कुनबेला गएका बलभद्रलाई यतिबेला हेर्न हामी हतारिदै खलंगाको लागि लाग्यौँ ।

जँदाजादै बाटोमा देखियो । १२ मई १९७४ मा स्थापित बलभद्र खलंगा विकास समिति । अनि तल लेखिएको थियो ‘आप सभी नागरिकोँ का स्वागत हे !’ नजिकै थियो खलंगा क्याफे । नेपाली गीत, नेपाली खाना र नेपाली मान्छे हामी त घरकै कोठामा भए झैँ लाग्यो । खलंगा क्याफेमा कफी खाएपछि रुखै रुखको बीचको पीच बाटोबाट गाडीमा पुग्यौं । बलभद्र खलंगा युद्ध स्मारक नालापानी देहरादून (उत्तराखण्ड) लेखिएको गेट । एकातिर अंग्रेजी अर्कातिर हिन्दीमा त्यहाँ लेखिएको थियो । (जसलाई नेपालीमा यस्तो छ )
यो रणभूमिको महत्व
यो युद्ध स्मारक वीर, वीराङ्गानालाई श्रद्धाञ्जली दिन निर्माण गरिएको हो । नालापानी युद्ध समाप्तीको सयम डिसेम्बर १८१४ मा ९७ जना वीर, वीराङ्गानाको शरीरलाई यस क्षेत्रमा अग्नीदहन गरिएको हो । साथै ३० जना वीर मृतक शरीरलाई आधाआधी नै भुइँमा गाडिएको थियो । उनै वीर, वीराङ्गाना देश भक्तको सम्मान र यादमा यो स्थलको गरिमा बढाइराख्नु नै सच्चा श्रद्धाञ्जली हो ।

सन्देश र अनुरोध
यहाँ कुनै लागुपदार्थ लेराउन र सेवन गर्न मनाही छ । जसले यसलाई उल्लङ्घन गर्दछ उसप्रति कठोर कारबाही हुनेछ । यो स्मारक स्थललाई सफा र प्रदूषण रहित बनाई राख्न आफ्नो व्यक्तिगत तथा सामूहिक योगदान दिई असल नागरिकको कर्तव्य निर्वाह गरौं ।
बलभद्र खलंगा विकास समिति,
नालापानी देहरादुन आज्ञा सांस्कृति निर्देशनालाय उत्तराखण्ड सरकार
एक गर्विलो इतिहास पढेपछि जीउभरि सनन काँडा उम्रिए । कथा सुन्दा आँशु आँखाभरि आए । बच्चा , बुढा, केटाकेटी लडेका । जम्मा ५/६ सय (यसमा एक सय पचास आईमाई केटाकेटी)ले ३५ सय ब्रिटिश फौजसँग लडेको । ब्रिटिशसँग तोप, बन्दुक । नेपालीसँग मात्र साहस ।
२४ अक्टुबर १८१४ पहिलो हमला गर्ने कर्नेल मोबे । त्यसलाई दृढताका साथ गोला , बारुद , बमलाई निस्तेज पारे गोरखा सैनिकले । दोस्रो हमला भयो ३१ अक्टुवर १८१४ मा जनरल जिलेस्पीले ३५ सय फौज लिएर आफै लडन आए । तोप बन्दुककको अगाडी बच्चा केटाकेटी र वृद्ध लिएर बलभद्रले खुकुरी , तरवार , खुँडा , घुनेत्रो , ढुङ्गा , मुडाले मजबुत भएर लडे ।
तोप र बम र फौजलाई निस्तेज पार्दै जनरल जिलेस्पी उनका क्याप्टेन लगायत थुप्रै मारिए । २९ नोभेम्बर १८१४ मा फेरि कर्नेल माविले लगभग ६ हजार फौज लिएर आई चारैतिरबाट घेरा हालि टन्नै तोप, बन्दूकहरू सहित हमला गरे । दृढतापूर्वक लडेका नेपालीले जित्लान भनेर पानी जाने बाटो बन्द गरिदिए ।
खानाको अभाव, पानीको अभाव, लड्ने क्षमताको अभाव हुँदै गएपछि ७० जना लिएर बलभद्र कुँवर नालापानी किल्ला छाडेर द्वारे गाउँतर्फ लागे । त्यो समयमा ब्रिटिश सेनाको अधिकारी ३१ जना , अन्य १५३१ जनाको मृत्यु भएको र घाईते ३५ जना भनेर नालापानी किल्लाको गेटको शिलालेखमा लेखिएको छ ।
गोर्खाले देखाएको अविश्वसनीय बहादुरी र युद्ध कौशलको उच्चतम गुणवत्ताबाट ब्रिटिश अधिकारी चकित भएको भन्दै युद्ध इतिहासकै उदाहरण बनोस् भनेर शहादात प्राप्त जनरल जिलेस्पी र हारेका प्रतिद्वन्दी बलभद्र र उनका सैनिकको सम्मानमा स्मारक बन्यो भनेर पनि लेखिएको छ ।
यसबारे ज्योति थापा मणिले “द खुकुरी ब्रेभस” नामक किताबमा गोर्खाको इतिहासको चित्रण गर्नुभएको छ । उहाँको बुबा प्रितम थापाले मेरो साथी सुरेन्द्र फुयाँललाई भन्नुभएछ । “हेर्नुस् हामी गोर्खाली भूमिसँगै जितेर आएर बसेका हौ यहाँ, जहाँ तपाईहरू आज बस चढेर आउनुभयो , मेरो बाबुबाजे त काठमाडौको टुँडिखेलबाट मार्च गर्दै आएर यहाँ बसेको थिएँ ।” बुझ्नेलाई इशारा काफी । यी वाक्यजस्तै सुरेन्द्रलाई प्रितमले प्रियतम शब्द बोल्नुभएछ लाग्यो मलाई ।
उतिबेला सेनामा तलब पनि थिएन । डोटीबाट धेरै परिवार जनताबाट पैसा उठाएर खाँदै आउने समय थियो । हामीलाई बताउँदै हुनुहुन्थ्यो शेर्पाजी “खलंगाको युद्ध तीन प्रकारले विशेष छ ,जर्नल भएपछि कहिल्यै युद्धमा जाँदैनन प्लानर मात्र हो । यहाँ जीवन त्यागेर जर्नेल आयो , युद्ध मोर्चामा बच्चा र महिला हुँदैन, यहाँ छ, एक दुश्मनले अर्को दुश्मनले सम्मान कहिँ गर्दैन, यहाँ गरेको इतिहास छ ।” यो सुनिरहँदा बलभद्र मलाई मेरै बाबुबाजे जस्तै लागिरहेको थियो । राम्रो काम पूर्खाले गरे मरेर गएपछि मनि नमर्ने अमर हुँने रहेछ भन्ने लागिरहयो । राम्रो काम गर्न प्रेरणा दिइरह्यो ।
०००
विचित्रको कुरा सचित्र ढंगले गर्ने शेर्पाजीले फेरि फायर खोल्नुभयो “बुझ्नु भयो गोर्खाली त सिस्नु, निगुरो र च्याँउ खाएर लडे, के खाएर यत्रो दिन लडे भनेर ब्रिटिशले लास हेर्दा भुँडीमा हरियो पायो ,ल यहाँलाई थाहा छैन, त्यसको लागि एफआरआई बनायो, जहाँ स्कलरसिपमा नेपाली धेरै पढेका छन् ।”
लाग्यो, पहिले गरिबीले सिस्नु खायो अब युकेमा सिस्नु पाउन्डमा बिक्ने भयो । अहिले पनि यहाँको सिस्नु , निगुरो ,च्याउँ ब्रिटिशहरूले किन्छन रे । गोर्खालीहरू “बाई बर्थ दे आर सोल्जर” हो भन्छन् रे ब्रिटिशले । खानामा त्यस्तो अनि धनुकाँड, छेलो , घुनेत्रो बच्चामै यस्सै जान्दछन् नेपालीले र त जन्मदै लडाकु सैनिक हो नेपाली भनेका होलान् ।
त्यो गौरव कहाँ पुग्यो हाम्रो भनेर म फतफताउँदै थिए । शेर्पाजी बोलिहाल्नुभयो “ब्रिटिश गोर्खामा नेपाली, ब्रुनाईको सुल्तानले किन धेरै पैसा दिन्छ नेपालीलाई, त्यो सबै बलभद्रहरूलाई सम्मान हैन त ? क्या कुरा गर्नु हुन्छ बा !”
उनै बलभद्रको सम्मानमा नालापानी वा खलंगा अझै बन्दै रहेछ । विकास समितिका अध्यक्ष कर्णेल विक्रमसिंह थापा मगर नक्शा लिएर हिँडिरहनु भएको रहेछ । देखाउँदै हुनुहुन्थ्यो “यी ४० बिगा जमिन तार बार लगाउनु छ, अतिक्रमण हुन लागिसक्यो, फोर्टहरू, ढुङ्गाहरू सब मिलाउनु छ ।”
पाँच पुस्तादेखि देहरादुन बस्दै आएका थापाका पूर्खा पश्चिम पहाडका हुन् । सन् १७८० मा रेल आयो देहरादुनमा त्यो सँगै रेलको बाटो बनाउन नेपाली आए । भूकम्प आयो सन् १८१० मा त्यसपछि नेपाली यता आए । लडाइँ चल्यो नेपाली यता आए ।
समितिका सहसचिव कुल बहादुर कार्कीका पुर्खा गुल्मीका रहेछन् । र पासाङ नोर्वु शेर्पा त सिक्किमका भैहाले । उहाँहरू लगायत हामी सबै बसेर फोटो खिच्यौँ नालापानी स्मारकमा ।
आफ्ना पूर्खा पनि त्यो युद्धमा लडेको बताउँदै अध्यक्ष थापा मगर भन्दैहुनुहुन्थ्यो “को लडे? के लडे ? कसरी लडे ? उहाँहरूको यादमा यो स्मारक बनाइयो, दुई दिनमा लिहाल्छु भनेर भन्ने अंग्रेजलाई माथ खुवाउँदै दुई महिना बढी लगाउने मेरो पूर्खाप्रति म सम्मान गर्दछु ।”
नालापानी स्मारकमा बसेर कुरा गर्दा भावुक हुँदै कर्णेल थापा मगर भन्दै हुनुहुन्थ्यो “सवा दुई सय वर्ष अगाडि के थियो होला र न बाटो न केही, खाना पानी केही नभइकन लड्नु भनेको कस्तो हिम्मत होला । केले मोटिभेसन गरयो होला । सरेण्डर गर भने गरेनन्, लडेर मर्छु बरु भने मरे ।”
नालापानीको लडाइँ इतिहासमा एक ठूलो घटना हो नेपालीको लागि । देशभक्ति के हो ? उनीहरूले सिकाए । यस्ता पूर्खाका सन्तानहरू हामी हरे ! आज देशभक्ति के भैरहेछ भन्ने मनमा लागिरहयो । त्यहाँ पुग्दा र त्यो इतिहास सुन्दा मेरा आँखा साँच्चै रसाए ।
ब्रिटिशले जब के खाएर लडे भनेर भित्र किल्लामा पसेर हेर्दा भिजेको चामल खाएर लडिरहेका ! अनि एक महिला मरिरहेको ! उनको दूध भर्खरको बच्चाले चुसिरहेको ! अर्को बच्चा डाँको छाडेर रोइरहेको ! लासहरू धेरै दिनदेखि मरेकोले दुर्गन्ध भएर गन्हाइरहेको !
लासहरू गन्हाउन थालेपछि बलभद्रले ल मर्न तैयार हौं आत्मसर्मण नगरौं, गोली ठोके ठोक्छ भनेर हस्ताक्षर गर्दा ७० जनाले हस्ताक्षर गरेको र नालापानी छाडेर अंग्रेजकै अगाडि नलापानी अजेय ठाउँ हो कसैले लिन सक्दैन हामी छाडेर जाँदैछौ भनेर बलभद्रसहित ७० जना अगाडि पुगेर द्वारे गाउँमा फेरि लडेको, अगाडि बढ्दै जाँदा जैतकमा फेरि लडेको, लन्डोर थापाले विलाप गरेपछि उनको किल्लामा बसेर लडेको, बलभद्र र उनका साथी लड्दै लड्दै गए र रणजीत सिंहको फौजमा पन्जाबमा मिसिएर लडे र जीवनकाल उतै बिताएको सुनेर म ह्वाँ ह्वाँ रुन मात्र सकिनँ ।

सास फुलेर आयो । मुटु ढक्क भयो । शरीरभर काँडा उम्रिए । यस्तो बहादुर बलभद्रलाई सम्मान गर्नु पर्दछ भनेर नै ब्रिटिशले सम्मान गरेर सहस्त्रधारा स्मारक बनाएकोमा ब्रिटिशहरूलाई पनि मनमनै धन्यवाद दिए ।
आजका राजनीतिज्ञका कारण आफूले राम्रो गर्दा गर्दै पनि आफैप्रति अपमान भएर छटपटाईरहेको मलाई हिजोको लडाइँले आफैप्रति सम्मान पाए झैँ लाग्यो । आजकल प्राय नेतालाई झ्याउँ नेता ! भन्ने म बलभद्रजस्ता नेतालाई वाउँ नेता! भन्न मन लाग्यो । बाहिर जाँदा ह्या ! नेपाली भन्नेहरूको बीचमा नालापानी जाँदा वाह ! नेपाली भन्ने सुन्दा आनन्दित भए ।
मृत्यु जीवनको लागि हुन्छ र हुनुपर्दछ । वीरहरूको मृत्युले धेरैलाई जीवन दिन्छ । बलभद्रपछि पनि धेरै नेपाली मरे । बाँच्नेहरू भन्दा ती मरेर गएकाले हामीलाई अमर बनाए । हामी बाँचेका के गरिरहेका छौं ? भन्ने मर्मभेदी प्रश्न मनमा लिएर म रन्थनिरहेछु । नालापानी गएर आएपछि ।
वर्षा अहिले पनि आइरहेछ । बाढी अहिले पनि चलिरहेछ । ऋषिकेश, हरिद्वारमा असारे बाढी आइरहेको थियो । साउनमा त झन् यो हाल भैगयो । अहिले त्यो बाहिरको वर्षाभन्दा बढी वर्षा मेरो मनमा आइरहेछ । लेख्न बस्दा पनि बिथोलिएको थिएँ । लेखिसकेपछि पनि बिथोलिएको छु । उत्तराखण्डमा नेपालीको उद्धार गरिरहेको बेला मेरो बिथोलिएको मन कसले उद्धार गर्ने भनेर चिन्तित छु ।
बलभद्रजस्तै नेपाली नेता भए भनेर मन भित्रभित्रै पूर्वाग्राही भएर पिरोलिरहेको रहेछ । मनमा गडबड भैरहेछ । सम्झन सकेकै छैन ! लाखौ नेपाली जस्तै मैले गर्न सक्ने केही छैन । गर्नेले गरेनन् । देशको नाम भएन भनेर मन भतभति पोलिरहेछ ।

Leave a Reply