डिजिटल युगको साहित्यिक दस्तावेज

आजभोलि थोरै पनि कलम चल्ने कोही छ भने दैनिक जसो स्ट्याटस लेखेर समाजमा उपस्थिति जनाउने  चलन बढ्दै गएको छ । सामाजिक सञ्जालले एक अर्थमा सार्वजनिक बहस, छलफल र अन्तरक्रिया गराउन सकेको छ । सूचना र ज्ञान, उत्प्रेरणा र जागरण जगाउन सकेको छ । कैयौँ हराएका व्यक्ति भेटाउन र अपराध गरेर लुकेकालाई पत्ता लगाउन पनि सहज बनाएको छ ।

यसका साथै घृणा र आक्रोश जगाउन, असन्तुष्टि पोख्न, समाजका मूल्य—मान्यता र संस्कार बिथोल्न, मान्छेलाई आत्म केन्द्रित र असामाजिक हुँदै अराजकता फैलाउन पनि उत्तिकै सहयोगी हुने गरेको छ ।

घनश्याम कोइराला त्यसका अपवाद हुनुहुन्छ । मैले उहाँका स्ट्याटस दैनिक अध्ययन गर्छु  । सकभर प्रतिक्रिया जनाउँछु, नभए पनि आत्मसात् गर्छु । किन कि उहाँका स्ट्याटस प्रेरणादायी र नैतिक मूल्य—मान्यतामा आधारित छन् । समाज, राजनीति, व्यक्तिगत जीवन र अनुभवलाई साङ्केतिक रूपमा प्रस्तुत गरिएको हुन्छ । साथै असहमति प्रकट गर्दा पनि शिष्टतापूर्वक गरेको पाइन्छ । तिनै कुरा उहाँका स्ट्याटसबाट सिक्न जरुरी छ ।

यस पुस्तकमा सङ्कलित स्ट्याटसहरू निबन्ध हुन्, राजनीतिक विश्लेषण हुन्, समीक्षा हुन्, दार्शनिक चिन्तन हुन्, नीति वचन हुन् । यी सामाजिक निबन्ध र मानवअधिकारका विषय हुन् । सांस्कृतिक विमर्श हुन् । लघुकथा, मुक्तक र गद्य कविता हुन् । राजनीतिक व्यङ्ग्य र सामाजिक यथार्थ हुन् । त्यसैले साहित्यमा यिनलाई के भन्ने ? यस बारेमा साहित्यका विद्वानहरूले नै केही भन्ने छन् । मैले त जिज्ञासा मात्र उठाएको हुँ ।

लेखन शैलीको कुरा गर्दा सामाजिक रूपमा आह्वान गरिएको छ । प्रेरणात्मक शैली अपनाइएको छ । आलोचना गरिएको छ । सुझाव दिइएको छ । कतै भावनात्मक पनि छन् तर संयमित छन् । पौराणिक कथाको आलोचनात्मक अध्ययन छ । प्रतीकात्मक गद्यको आभास छ । अराजकताको विरोधमा धावा बोलिएको छ र निर्माणको लागि आग्रह छ । समग्रमा यिनलाई नयाँ युगको “डिजिटल साहित्य” भन्न सकिएला र साथै, यतिसम्म पनि भनिएला– यो नयाँ युगको साहित्यिक अभिव्यक्ति हो ।

स्ट्याटसहरूबाट आत्म छवि निर्माण गर्न, सामाजिक सम्पर्क तथा सम्बन्ध बढाउन, मान्छेको मनोविज्ञान बुझ्न, सूचना र ज्ञानको भोक जगाउन, जनमत निर्माण गर्न, कतिपय विषयमा स्पष्ट दृष्टिकोण बनाउन र विचार र प्रवृत्तिको विश्लेषण गर्न सहयोगी हुने कुरामा शङ्का छैन । यसैले त आज सामाजिक सञ्जालका अभिव्यक्तिमाथि विश्वविद्यालयमा विभिन्न अनुसन्धानहरू भइरहेका छन् । खास गरी भाषा शास्त्र र साहित्य शास्त्रको दृष्टिकोणबाट । यस अर्थमा स्ट्याटसहरू अब केवल क्षणिक अभिव्यक्ति मात्र होइनन्, भाषा शास्त्र, साहित्य, समाजशास्त्र, सञ्चार शास्त्र, र डिजिटल मिडिया अध्ययनका लागि गम्भीर विषय पनि हुन् । नेपाली ब्लगहरू र युवा लेखकहरूका लागि छिटो छरितो तरिकाले भावना, सूचना र सन्देश प्रवाह गर्ने माध्यम पनि हुन् ।

सामाजिक सञ्जालमा प्रस्तुत हुने स्ट्याटसहरू यति शक्तिशाली हुँदै गएका छन् कि राजनीतिक हतियार र जनमत निर्माणको शक्तिशाली साधनको रूपमा विकास भइरहेका छन् । सामान्य जनताको मनोभाव, आक्रोश, समर्थन, संशय, भावनात्मक लहर र वैचारिक पक्षलाई स्ट्याटसहरूले प्रेरित गर्छन्, ध्रुवीकरण गर्छन्, र राजनीतिक लहर बनाउन सहयोगी हुन्छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मूलधारका मिडिया विपक्षमा हुँदा पनि ट्विटर र फेसबुकबाट स्ट्याटसमार्फत चुनाव जितेको इतिहास ताजै छ । सन् २०१६ को चुनावमा ट्रम्पले ‘Drain the swamp in Washington’ भन्ने नारा प्रयोग गरे । जसको अर्थ हुन्थ्यो– ह्वाइट हाउस, कंग्रेस, र सरकारी निकायमा भएका गडबडी, भ्रष्टाचार, लोभी व्यापारी, र पूर्व–राजनीतिज्ञहरूलाई हटाउनेछु ।

उनका Fake News, Make America Great Again जस्ता स्ट्याटस/ह्यासट्यागहरूले राजनीतिक आन्दोलनको स्वरूप लिए । ट्रम्पको डिजिटल रणनीति भनेको वैकल्पिक सञ्चार प्रणाली (alternative media ecosystem ) निर्माण गर्नु थियो, जसको केन्द्रमा स्ट्याटस थिए ।

सस्तो र छरितो माध्यम, पैसाविना नै प्रचार गर्न सकिने, चुनावी एजेन्डालाई घर–घरमा पुर्‍याउन सकिने, तत्काल प्रतिक्रिया दिन सकिने र एउटै स्ट्याटसले लाखौँ मतदातासम्म सन्देश पुर्‍याउन सक्ने भएकोले अबका दिनमा हरेक सार्वजनिक व्यक्तिले कम्तीमा राम्रो स्ट्याटस लेख्ने सामर्थ्य राख्नु पर्ने अवस्था आएको छ ।

यसैले गर्दा अन्तर्राष्ट्रिय रूपमा समेत यसबारे व्यापक अध्ययन, अनुसन्धान हुन थालेका छन्, किन कि सामाजिक सञ्जालले चुनौती थप्दै गएको छ र ती चुनौतीहरूलाई चिर्ने माध्यम पनि सामाजिक सञ्जाल नै हुन् । भविष्यमा यस्तो पनि दिन आउने सक्ने छ कि स्ट्याटस लेख्नका लागि तालिम दिन वा लिन परोस् ।

यस अर्थमा यसको प्रकाशन हुनु सन्दर्भ सामग्री पनि हो र यो नेपाली साहित्यका लागि नवीन सोंच पनि हो ।

यसै सन्दर्भमा एक दिन अचानक मेरा परम मित्र कोइरालाले स्ट्याटसलाई पुस्तकका रूपमा प्रकाशन गर्न थालेको जानकारी दिनुभयो । म छक्क परेँ । छक्क यस कारणले कि म पनि सन् २०२३ डिसेम्बरदेखि यही अभियानमा थिएँ । अहिले मेरो ल्यापटपको फाइलमा ६० हजार शब्दका स्ट्याटस थुप्रेका छन् ।

मलाई लाग्छ कि प्रायः स्ट्याटसहरू समसामयिक हुने भएकोले यस्ता स्ट्याटसले तत्कालीन अवस्थाको प्रतिनिधित्व मात्र गर्दैन, समाजशास्त्र, मनोविज्ञान, इतिहास र संस्कृतिलाई पनि समेट्ने भएकाले पाठकहरूको चासो पनि जगाउँछ ।

घनश्याम कोइरालाका स्ट्याटस प्रायः तत्कालीन अवस्थालाई सङ्केत गरे पनि तिनलाई सैद्धान्तिक जलप दिएर प्रस्तुत गरिएको हुन्छ । यसले गर्दा ती विचार कालजयी  हुन पुग्छन् । मलाई विश्वास छ, यस पुस्तकले सामाजिक स्तरका विभिन्न आयाम, प्रभाव, र महत्वलाई उजागर गर्न सक्नेछ ।

मेरो जानकारीमा भएसम्म सामाजिक स्ट्याटसका विषयलाई आधार बनाएर पुस्तक लेख्ने र यसलाई गहन रूपमा अध्ययन गर्ने अभ्यास विश्वभरकै समाजशास्त्री, मनोवैज्ञानिक र लेखकहरूले गरेको भए तापनि स्ट्याटसकै सँगालो शायदै प्रकाशन भएका होलान् ।

स्ट्याटसबाट मानिसको जीवनशैली, रुचि र उपभोगका शैलीबारे जानकारी प्राप्त हुन्छ । समाज कुन दिशामा गएको छ वा जाँदै छ भन्ने बारेमा स्पष्ट सङ्केत प्राप्त हुन्छ । मानिसले सामाजिक स्तरका लागि कसरी सङ्घर्ष गर्छन् र यसले जीवनलाई कसरी प्रभावित गर्छ भनेर पनि थाहा हुन्छ ।

सामाजिक स्तरले ल्याउने चिन्ता, असुरक्षा र मानसिक स्वास्थ्यका समस्यालाई पनि उजागर गरेको हुन्छ । सामाजिक सफलता, असफलता, मानवीय सम्बन्ध, आर्थिक अवस्था र अन्ततः सामाजिक स्तरकै बारेमा जानकारी गराउने स्ट्याटसहरूले तत्कालीन समयको प्रतिनिधित्व गर्ने भएकोले भविष्यका लेखकहरूलाई पनि कथा, निबन्धजस्ता साहित्यिक विधामा कलम चलाउनेहरूलाई स्रोत सामाग्री हुन सक्छन् ।

लघु कथा, अणु कविता भनेजस्तै स्ट्याटसलाई लघु साहित्य भन्न सायद नसकिएला, किन कि हरेक साहित्यका केही न्यूनतम मान्यता अवश्य नै हुन्छन् । तर पत्रकारितालाई हतारको साहित्य भनेजस्तै स्ट्याटसलाई सामयिक साहित्य भन्ने कि ? आखिर शब्द संयोजन त हुन्छ नै ।

प्रविधि, सामाजिक सञ्जाल र उपभोगवादले स्ट्याटसमा पनि व्यापक परिवर्तन गरेको छ । हो, सामाजिक सञ्जालका धेरै नकारात्मक पक्ष भए पनि मेरो अनुभवमा व्यक्ति, समुदाय र संस्थामा सकारात्मक परिवर्तन ल्याउन, मानसिक तनाव र असमानता घटाउन पनि स्ट्याटसले सहयोग गरेको छ ।

समयले मानिस असाध्यै व्यस्त हुन थालेको छ । व्यस्तताका कारण लामा साहित्य पढ्ने रुचि घट्दो देखिन्छ । यस अर्थमा थोरै शब्दमा धेरै भन्न सक्ने साहित्यप्रति नै रुचि बढेको पाइन्छ । यो समयलाई लेखकले बुझेर स्ट्याटसलाई निरन्तरता दिनुभयो र यो प्रकाशनका रूपमा तयार भएको हो ।

नेपाली साहित्यमा यो नयाँ कोसेली भएर आएको छ । सम्भवतः पहिलो प्रयोगका रूपमा आएको यो प्रकाशनका लागि लेखक तथा प्रकाशकलाई हार्दिक बधाई र शुभकामना । यसबाट सबै क्षेत्रका अगुवाले फाइदा लिन सकिने छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *