पदम गिरीको टिप्पणीः पूर्वराष्ट्रपति राजनीतिमा फर्किँदा गणतन्त्रको गरिमा रहन्न (भिडिओ)

काठमाडौ । नेकपा एमालेका नेता तथा सांसद पदम गिरीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा फर्किँदा वर्तमान प्रणालीको गरिमामा आँच आउनसक्ने टिप्पणी गरेका छन् । यसबाट लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार गरिहेका प्रतिगमनकारी शक्तिहरुलाई बल पुग्ने उनले तर्क गरे ।

पर्वत कुश्माको पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै गिरीले एमाले अध्यक्ष केपी ओलीलाई कमजोर पारे खेल भइरहेको पनि बताए । जुनसुकै कारणबाट एमालेविरुद्ध हुने हमलालाई एकताबद्ध भएर निस्तेज पार्न उनले कार्यकर्ता पंतिलाई आह्वान गरे । पार्टीभित्रको नेतृत्व्को विषयमा कुनै विवाद नरहेको उनको भनाइ छ ।

गिरीले भने, ‘अस्ति मात्रै पार्टीको केन्द्रिय समिति वैठक सम्पन्न भयो । नेतृत्वका विषयमा विवाद छैन । नीतिका विषयमा विधान महाधिवेशनमा व्यापक छलफल गरेर जान सक्छौ । यसबेला नेतृत्वलाई कमजोर पार्ने गरी विभिन्न अभिव्यक्तिहरु सामाजिक सञ्जाल र अनेक फोरममा देखिएका छन् । यसबाट कोही पनि भ्रमित बन्नु हुँदैन ।’
गिरीले पूर्वराष्ट्रपतिज्युलाई सदस्यतासम्वन्धी विषय पार्टीले टुंग्याइसकेको उल्लेख गरे ।

उनले थपे, ‘पार्टी सदस्यताको नविकरण गराउने चर्चामा एमाले भन्दा बाहिर रहेका विभिन्न खाला मान्छे संलग्न छन् । उनीहरुले यसलाई व्यापक ढंगले उठाउने र आमजनतामा पूर्वराष्ट्रपतिको सदस्यता नविकरण गरिएन, पार्टी नेतृत्व स्वेच्छाचारी र निषेधकारी भयो भनेर भ्रम सिर्जना गर्ने कोशिष भएको छ । यस्तो भ्रममा कोही पनि पर्नु हुँदैन । विद्यादेवी भण्डारीलाई हामी पूर्वराष्ट्रपतिका रुपमा आदर र सम्मान गर्छौं । त्यसमा कुनै कमि हुँदैन । अहिले भण्डारीप्रति लक्ष्यित भएर यी कुराहरु आएका हेइनन् ।

सम्मानित पदमा पुगेको व्यक्ति फेरि राजनीतिमा फर्किने र पार्टीको सदस्यता लिएर प्रतिस्पर्धा गर्ने कुराले गणतन्त्रको गरिमा रहन्छ कि रहन्न र प्रणालीको रक्षा हुन्छ कि हुँदैन भन्ने प्रश्न हो । यो लोकतान्त्रिक गणतन्त्रमाथि प्रतिगमनकारी शक्तिहरु खेल्न खोजेका छन् । आक्रमण गर्न खोजेका छन् । यस्ता कुराले भोलि त्यसमा मलजल त पुग्दैन रु त्यसतर्फ गम्भीर बन्नुपर्छ भन्ने अर्थमा पूर्वराष्ट्रपति भएको जोकोही व्यक्ति फेरि राजनीतिमा फर्किने प्रवन्ध गर्नु हुँदैन भन्ने निस्कर्ष निकालिएको हो ।’

Comments

One response to “पदम गिरीको टिप्पणीः पूर्वराष्ट्रपति राजनीतिमा फर्किँदा गणतन्त्रको गरिमा रहन्न (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    दलालहरूले विद्यालाई राजनीतिमा ल्याउन जबर्जस्ति गरेका हुन् । उनीहरूको मुख्य उद्देश्य ओलिको नेतृत्वमा दिन प्रतिदिन बलियो भैरहेको एमालेलाई कमजोर बनाउनु हो । माओवादीले नन्दकिशोरलाई मायाले पार्टीमा ल्याएको होईन । विद्यालाई देखाएर आउन सजिलोको लागि हो । तर जनता र एमालेजन यसमा भ्रममा पर्नु् हुदैन। भ्रम क्रमशः कम हुँदै गएको छ । तर विद्या नै हौसिएको देख्दा पो दिक्क लागेर आउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *