काठमाडौं । अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ (इस्कोन) नेपालले यस वर्षको श्रीकृष्ण जन्माष्टमी महोत्सव–२०८२ मनाउने भव्य तयारी गरेको छ ।
यही साउन ३१ गते शनिबार नेपालभरका ५२ स्थानमा विशेष कार्यक्रमहरू आयोजना गरी भगवान् श्रीकृष्णको जन्मोत्सव मनाइने योजना रहेको इस्कोनले जनाएको छ ।
यस अवसरमा काठमाडौंको बूढानीलकण्ठ–५ मा अवस्थित इस्कोनको मुख्य राधा–कृष्ण मन्दिर परिसरमा विशेष तथा वृहत् कार्यक्रम आयोजना हुनेछ ।
वर्षेनी आयोजना गरिने यो मेलाले बूढानीलकण्ठ नगरपालिकाको पर्यटन एवं आर्थिक उत्थानमा टेवा पुगेको यहाँका अगुवा बताउँछन् । मेलामा हुने जमघटले बूढानीलकण्ठ नगर क्षेत्रको प्रचारप्रसारसँगै यहाँको ऐतिहासिक पूर्वाधारहरूको जानकारी हुने उनीहरूको भनाइ छ ।
मेलामा लाखौं भक्तजन तथा विशिष्ट अतिथिहरूको सहभागिता रहनेछ । महोत्सवलाई अविस्मरणीय बनाउन बिहान साढे ४ बजेदेखि मध्यरातसम्म निरन्तर भक्तिमय तथा सांस्कृतिक गतिविधिहरू सञ्चालन हुनेछन् ।
इस्कोनका सहसचिव रमेश खनालले महोत्सव अवधिभर भगवान् श्रीकृष्णका दिव्य लीलाहरूको मनमोहक कथा वाचन र हरिनाम संकीर्तनले वातावरणलाई भक्तिमय हुने बताए ।
उनले भने, ‘मन्दिरका श्रीविग्रहको कमल–अभिषेक गरिनेछ । मध्यरातमा भगवान् श्रीकृष्णको प्राकट्यको विशेष अवसरमा महाअभिषेक कार्यक्रम सम्पन्न हुनेछ । यसका साथै, दर्शनार्थीहरूलाई आत्मिक शान्ति र आध्यात्मिक अनुभूति प्रदान गर्नका लागि मन्त्र ध्यान बुथको व्यवस्था हुनेछ । महोत्सवमा सहभागी लाखौँ भक्तजनलाई निःशुल्क महाप्रसाद (भोजन)को व्यवस्था रहनेछ ।’
महोत्सवमा राष्ट्रपति, उप–राष्ट्रपति, पूर्व–राष्ट्रपतिहरू, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, गृह मन्त्री, परराष्ट्र मन्त्री, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री लगायत विभिन्न देशका राजदूतहरू, प्रसिद्ध कलाकारहरू तथा अन्य विशिष्ट व्यक्तित्वहरूको पनि उपस्थिति रहने अपेक्षा रहेको खनालले बताए ।
इस्कोनका अनुसार यस महोत्सवको मुख्य उद्देश्य भक्तिमार्ग, नैतिक आदर्श र सांस्कृतिक एकताको प्रवर्द्धन गर्दै समाजमा आध्यात्मिक चेतना, शान्ति र सद्भावको सन्देश फैलाउनु हो । संघले सम्पूर्ण भक्तजन, श्रद्धालु, पत्रकार तथा सर्वसाधारणलाई सपरिवार महोत्सवमा उपस्थित भई भगवान् श्रीकृष्णको प्राकट्य उत्सवमा सहभागी हुन र भगवान् श्री श्री राधा गोविन्दहरिको असीम कृपा प्राप्त गर्न आग्रह गरेको छ ।

Leave a Reply