माग्ने बुढाको दु:ख- जसोजसो ज्योतिषी, उसैउसै स्वाहा !

काठमाडौं । केही मान्छेहरू यस्ता हुन्छन्, जो ज्योतिषले गर्ने भविष्यवाणीहरुप्रति आँखा चिम्लेर विश्वास गर्छन् । लेखान्त, भाग्यलाई स्वीकार गर्छन् । ग्रह, दशा र साइत हेरेर महत्वपूर्ण निर्णय लिन्छन् ।

यही क्याटागोरीमा पर्छन् अभिनेता केदार घिमिरे ‘माग्ने बूढा’ । उनलाई त कतिसम्म विश्वास छ भने राष्ट्रपति रामचन्द्र पौडेलले पटक-पटक कोसिस गर्दा पनि प्रधानमन्त्री हुन नसक्नु र एकैपटकमा राष्ट्रपति हुनु पनि लेखान्त हो । राष्ट्रपपति पौडेललाई प्रधानमन्त्री हुन नलेखेर राष्ट्रपति हुन लेखेको जिकिर गर्छन् ।

उनले लेखान्तप्रति अगाध विश्वास दर्शाउँदै बोले, ‘गिरिजाबाबुले चाहे पनि उहाँलाई राष्ट्रपति हुन नलेख्या रैछ ।’

उनले थप भने, ‘म त ज्योतिषलाई धेरै विश्वास गर्छु । अस्ति माग्ने राजाको टिजर सार्वजनिक गरेको समय पनि ज्योतिषलाई देखाएरै निर्धारण गरिएको थियो । ज्योतिषलाई हेराएरै दुई बजेर २७ मिनेट जाँदा टिजर सार्वजनिक गरिएको थियो ।’

माग्ने बूढाले ज्योतिषप्रतिको विश्वासको लागि एउटा घटना नै सुनाए । २०६५ सालमा उनी काठमाडौंमा एक तले घर किन्ने तयारीमा लगे । घरको मूल्य थियो, २३ लाख । माग्ने बूढासँग थियो जम्मा ८ लाख ।

‘मेरो मनमा के थियो भने मन परेको घर हो, सरसापट गरेर घर मेरो नाममा पास गर्छु । त्यसपछि घरलाई बैंकमा राख्छु । ऋण लिन्छु । सापट रकम तिर्छु । बैंकको किस्ता चाहिँ कमाउँदै तिर्छु,’ माग्ने बूढाले भने, ‘मैले साथीभाइसँग घरका लागि ऋणको कुरा गरेपछि सबैले सकिँदैन भने । मैले दुई लाख बैना मारिसकेको थिएँ । यसपछि बैंकमा ऋण माग्न गएँ, सबै बैंकले आर्थिक मन्दी छ भनेर ऋण दिएनन् ।’

यसपछि आफू दुई लाख रुपैयाँ बैना माया मार्ने स्थितिमा पुगेको उनले बताए । तैपनि घरको विषयमा अन्तिमपटक कुरा गर्न आफू ज्योतिषकहाँ पुगे ।

‘मैले घडेरी चाहिँ लिन लागेको भनेर ज्योतिषलाई ढाँटेँ । उहाँले त अस्ति ६ गते नै तपाईंले घर किनिसक्नुभयो होला भन्नुहुन्छ । म त झस्यांग भएँ । अनि मैले गल्ती भयो हजुर, मैले घर नै किन्न खोजेको, तर नहोलाजस्तो छ भनेँ,’ माग्ने बूढा सुनाउँछन्, ‘ज्योतिषले त त्यो घर मेरै हो भन्नुहुन्छ । कसरी तपाईंको हुन्छ भनेर भन्न सक्दिनँ । तर, त्यो घर किनेर म लामै समयसम्म त्यहाँ बस्छु समेत भन्नुभयो ।’

यसपछि आफू सुन्धराको एक बैंक पुगेको बताए । तर, बैंकले माग्ने बूढालाई ऋण दिएन । ऋण माग्न बाँकी अन्तिम बैंक कृषि विकास बैंक, पाटनमा थियो । उनी त्यहाँ पुगे । हाकिम बस्ने क्याबिन पुगे । पत्रिका पढिरहेका हाकिमले वास्ता गरेनन् । पत्रिका पढेरै ऋण दिन सकिँदैन भने । ‘म माग्ने बूढा भन्ने कलाकार हो’ भन्दासम्मै मतलब गरेनन् ।

‘मेरो अनुहार समेत हेर्नुभएन । मलाई लाग्यो, त्यो ज्योतिषले फटाहा बोलेछन् । मलाई त बैंकभित्रै रिंगटा लाग्लाजस्तो भयो । फोकस आउट देख्न थालेँ । जसोतसो उठेर हिँडेँ । अन्तिम ढोकामा पुगेको थिएँ । एकजनाले ‘हेल्लो’ भन्नुभयो,’ माग्ने बूढा सम्झिन्छन्, ‘तपाई माग्ने बूढा होइन भन्नुभयो । मैले हजुर हो भनेँ । उहाँको नाम देवीप्रसाद पोखरेल रैछ । उहाँलाई सबै समस्या बताएँ । उहाँले हाकिमलार्ए कन्भिन्स गराउने वचन दिनुभयो । भोलि बिहान मेरो नयाँ घरमा चिया खाने वचन दिनुभयो ।’

घर हेरिसकेपछि बैंकले माग्ने बूढालाई १६ लाख ऋण दियो ।

‘अब मैले ज्योतिषलाई नपत्याएर भयो त ?,’ माग्ने बूढा हाँस्दै सुनाउँछन्, ‘माग्ने राजा पनि ज्योतिषले राम्रै हुन्छ भन्नुभएको छ । यो चलचित्रको टिजर पनि ज्योतिषले भन्नुभए अनुसार २ बजेर २७ मिनेट जाँदा सार्वजनिक गरेको हो । यदि उहाँले यो चलचित्र राम्रो हुँदैन भन्नुभएको भए चलचित्र नै बन्दैनन्थ्यो । म खेल्न तयार नै हुने थिइनँ ।’

यति मात्रै होइन, आफूले ज्योतिषकै कारण दर्जनौं चलचित्र छाडेको उनले बताए । ‘माइतीघर’को सुटिङ सकिएको १५/२० दिनको अन्तरालमा आफूले आठवटा चलचित्र छाडेर ‘जहाजैमा’ साइन गर्नुपको पछाडि पनि ज्योतिषको हात रहेको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *