काठमाडौं । वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार बैंकहरुको नाफा ४३ प्रतिशतले बढेको छ ।
वाणिज्य बैंकहरुले गत आवको साउनदेखि असार मसान्तसम्म ७१ अर्ब ५१ करोड रुपैयाँ नाफा कमाएका छन् । यो नाफा गत सोही अवधिको तुलनामा ४३.३९ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा बैंकहरुले ४९ अर्ब ८७ करोड नाफा कमाएका थिए ।
बैंकहरुले सार्वजनिक गरेको तथ्यांकअनुसार १६ वटा बैंकको नाफा बढेको छ भने चार वटाको घटेको छ । नाफा घट्नेमा स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल एसबिआई बैंक, एनआइसी एशिया बैंक र सिटिजन्स बैंक रहेका छन् ।
गत आवमा सबैभन्दा बढी नबिल बैंकले खुद नाफा आर्जन गरेको छ । नबिल बैंकले ७ अर्ब १२ करोड कमाएको छ ।
सबैभन्दा बढी नाफा कमाउनेको दोस्रोमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) रहेको छ । यस बैंकले ६ अर्ब ७५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।
सर्वाधिक नाफा कमाउनेको तेस्रोमा रहेको ग्लोबल आइएमई बैंकले ६ अर्ब २० करोड रुपैयाँ आर्जन गरेको छ ।
गत आवमा प्रभु बैंकले ५ अर्ब ४४ करोड नाफा कमाउँदा एभरेष्ट बैंकले ४ अर्ब ९१ करोड रुपैयाँ आर्जन गरेको छ । यस अवधिमा कृषि विकास बैंकले ४ अर्ब १५ करोड, लक्ष्मी सनराइज बैंकले ४ अर्ब ११ करोड र प्राइम कमर्सियल बैंकले ४ अर्ब २ करोड खुद नाफा कमाएका छन् ।
त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ८१ करोड नाफा कमाउँदा नेपाल बैंकले ३ अर्ब ७७ करोड, सिद्धार्थ बैंकले ३ अर्ब ३९ करोड, एनएमबि बैंकले ३ अर्ब २८ करोड, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३ अर्ब २ करोड, सानिमा बैंकले २ अर्ब ५७ करोड, कुमारी बैंकले २ अर्ब ११ करोड र माछापुच्छ्रे बैंकले २ अर्ब १ करोड खुद नाफा आर्जन गरेका छन् ।
गत आवमा नेपाल एसबिआई बैंकले १ अर्ब ८० करोड नाफा कमाउँदा हिमालयन बैंकले १ अर्ब ५१ करोड र सिटिजन्स बैंकले १ अर्ब २९ करोड खुद नाफा आर्जन गरेका छन् । यस अवधिमा एनआईसी एशिया बैंकको गत वर्ष १६ करोड १५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
लाभांश क्षमतामा एभरेष्ट पहिलो, चार बैंक दिन नसक्ने
गत आर्थिक वर्षकाे वित्तीय विवरण अनुसार सबैभन्दा बढी लाभांश दिने बैंकको पहिलो नम्बरमा एभरेष्ट रहेको छ । गत आवमा ४ अर्ब ९१ करोड खुद नाफा आर्जन गरेको यस बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब ९५ करोड रुपैयाँ रहेको छ । जसमा आधारमा बैंकको लाभांश क्षमता ३८.२७ प्रतिशत छ ।
सर्वाधिक लाभांश दिनेमा एभरेष्ट अग्र स्थानमा देखिँदा चार बैंक भने लाभांश दिनै नसक्ने अवस्था रहेका छन् । नेपाल बैंक, कुमारी बैंक, हिमालयन बैंक र एनआइसी एशिया बैंक लाभांश दिन नसक्ने अवस्थामा पुगेका हुन् ।
गत आवमा सर्वाधिक नाफा कमाएको नबिल बैंकको वितरणयोग्य नाफा ४ अर्ब ७७ करोड रहेको छ । यस बैंकको लाभांश क्षमता १७.६४ प्रतिशत रहेको छ ।
कृषि विकास बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ५५ करोड २० लाख पुगेको छ । बैंकको लाभांश क्षमता १८.४२ प्रतिशत रहेको छ ।
गत आवमा सिद्धार्थ बैंकले ३ अर्ब ३९ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकको लाभांश क्षमता १३.२२ प्रतिशत छ । यस्तै, एनएमबी बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ९० करोड रुपैयाँ हुँदा लाभांश क्षमता १०.४१ प्रतिशत छ ।
सानिमा बैंकको वितरणयोग्य नाफा २ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । बैंकको २०.४७ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता देखिन्छ ।
माछापुच्छ्रे बैंकको लाभांश क्षमता ९.२३ प्रतिशत छ रहँदा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको लाभांश वितरण क्षमता ५.२५ प्रतिशत छ । नेपाल एसबिआई बैंकको लाभांश क्षमता ११.२९ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकको १९.८५ प्रतिशत, ग्लोबल आइएमई बैंकको १४.११ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १.३३ प्रतिशत रहेको छ ।
सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको वितरणयोग्य मुनाफा ३० करोड ३४ लाख रहेको छ । जस अनुसार यस बैंकको लाभांश क्षमता १.९४ प्रतिशत देखिन्छ । नेपाल बैंक लाभांश दिन नसक्ने अवस्थामा रहेका बेला अर्को सरकारी स्वामित्वको बैंक कृषि विकासले भने १८.४२ प्रतिशत लाभांश बाँड्ने देखिन्छ । यस बैंकको वितरणयोग्य रकम २ अर्ब ५५ करोड रुपैयाँ रहेको छ ।
खराब कर्जा ७ प्रतिशत नाघ्यो
वाणिज्य बैंकको खराब कर्जा ७ प्रतिशत नाघेको छ । गत आवको वित्तीय विवरण अनुसार हिमालयन बैंकको खराब कर्जा ७.२८ प्रतिशत पुगेको हो ।
उक्त वित्तीय विवरण अनुसार कुमारी बैंकको खराब कर्जा ६.४२ प्रतिशत हुँदा एनआईसी एशिया बैंकको खराब कर्जा ६.२८ प्रतिशत रहेको छ । नेपाल इन्भेष्टमेन्ट र प्राइम कमर्सियल बैंकको खराब कर्जा पनि ५ प्रतिशत माथि रहेको छ ।
अन्य छ बैंकको खराब कर्जा ४ प्रतिशत माथि रहेको छ । जसमा नबिल, ग्लोबल आइएमइ, प्रभु, लक्ष्मी सनराइज, सिटिजन्स र नेपाल बैंक रहेका छन् ।
एभरेष्ट बैंकको खराब कर्जा सबैभन्दा कम रहेको छ । यस बैंकको यस्तो कर्जा अनुपात ०.३८ प्रतिशत मात्रै रहेको छ । यसमा साथै स्ट्याण्डर्ड चार्टर्ड बैंकको खराब कर्जा १.७४ प्रतिशत रहेको वित्तीय विवरणमा उल्लेख छ ।


Leave a Reply