गाउँको सेवा शहरमा दिन राजधानी आए जनप्रतिनिधि !

काठमाडौं । गाउँबाट शहरकेन्द्रीत भएका वडावासीहरू गाउँमा नै पुगेर सेवा लिन समस्यामा भएपछि वडाको सेवा शहरमा बस्नेलाई प्रदान गर्नका लागि वडाअध्यक्षसहितका जनप्रतिनिधि वडा नै बोकेर राजधानीमा आएका छन् ।

वर्षाको समय र वृद्धाहरूलाई गाउँसम्म पुगेर सामाजिक सुरक्षा भत्ता कार्ड नवीकरण लगायत अन्य काममा गर्न असहज भएपछि सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-५ का जनप्रतिनिधि ‘वडा कार्यालय’ झोलामा नै बोकेर सेवा दिन राजधानी आएका हुन् ।

छोराछोरीहरू रोजगारीका लागि राजधानी केन्द्रित भएपछि आमाबुबा पनि सँगै राजधानीमा नै बसोबास गर्ने गरेका छन् । अहिले अधिकांश वृद्धवृद्धाहरु राजधानीमा नै बसोबास गर्ने र वर्षाको समयमा गाउँमा जान समस्या हुने भएपछि आफूहरू वडाको सबै सेवा यहीबाट प्रदान गर्नका लागि काठमाडौँ आएको सुनकोशी-५ का अध्यक्ष जालबहादुर लामाले बताए ।

सुनकोशी-५ ले सामाजिक सुरक्षा भत्ता नवीकरण तथा वडा कार्यालयका सबै सेवा प्रवाह एकै स्थानबाट प्रदानका लागि दुई दिनसम्म शिविर कार्यक्रम सञ्चालन गरेको छ । नयाँ नागरिकता सिफारिस लगायत मालपोत शुल्क लगायत सबै सेवा एकै स्थानबाट पाउँदा गाउँ छाडेर सहर आएका वडाबासी समेत खुसी भएका छन् ।

वडा कार्यालयमा गएर सिफारिस लिएर फेरी नागरिकता बनाउन सदरमुकाम चौतारा जानु पर्ने बाध्यता वडाबासीको रहेको छ । राजधानीबाटै वडाको सबै सुविधा पाए सजिलो हुने सबैको आग्रह पछि आफूहरू वडा नै बोकेर राजधानी झरेको वडा अध्यक्ष लामाले जानकारी दिए । कहिले काहीँ समस्या हुँदा सम्बन्धित स्थानमा नै गएर वडा अध्यक्षले गर्नुपर्ने हस्ताक्षर लगायत काम आफूले गरे पनि शिविर नै राखेर भने पहिलो पटक सेवा दिएको वडा अध्यक्ष लामाले जानकारी दिए ।

वडा कार्यालयले आयोजना गरेको शिविरमा गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिना पनि पुगेका थिए । राजधानी बसोबास गर्ने आफ्ना वडावासीहरूलाई यसरी शिविर नै राखेर सेवा दिएकोमा खुसी हुँदै अन्य वडाहरूले पनि आफ्ना नागरिकलाई छिटोछरितो सेवा यसै गरी दिनका लागि आग्रह गरेका छन् ।

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेहरूले चालु आवको भत्ता कार्ड नवीकरण भदौ २९ सम्म गरिसक्नु पर्ने र वर्षाको समयमा गाउँ जान पनि समस्या हुने भएकाले शिविर राखेको वडा अध्यक्ष लामाले बताए । सुनकोशी गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेको संख्या २८३२ रहेको छ भने ५ नम्बर वडाको संख्या ४४८ रहेको छ ।

मत दिएपछि आफ्ना जनप्रतिनिधि भेट्न नपाएकाहरू पनि आफू बसेकै स्थानमा सेवा सहित जनप्रतिनिधि भेट्न पाउँदा खुसी लागेको सुनकोशी–५ की वृद्धा टामकुमारी बुढाथोकीले बताइन् ।

शिविरमा पहिलो दिन अधिकांशले सामाजिक सुरक्षा भत्ता नवीकरण गराएका छन् । सेवा सुविधा , अवसर र सन्तान राजधानी बसोबास गर्ने भएकाले धेरैले औपचारिक रूपमा बसाइ सराइ नगरेकाले वडाको सबै सुविधा लिनका लागि गाउँमा नै जानु पर्ने अवस्था छ ।

दुई दिनको शिविरमा ३ सय बढी वडावासीले वडाका विभिन्न सेवा लिएका छन् । वडाले पहिलो पटक आयोजना गरेको शिविरमा वडाका पूर्व जनप्रतिनिधि र स्थानीय निर्वाचनमा अध्यक्षका उम्मेदवार भएका प्रत्याशीहरू पनि सँगै आएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *