काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरु भएको छ । केही बेरअघिबाट केन्द्रीय कार्यालय आलोकनगरमा बैठक चलिरहेको प्रवक्ता प्रकाश ज्वालाले बताए ।
उनका अनुसार बैठकमा पार्टीभित्रको आन्तरिक विषय, पार्टीको आगामी बैठक र समसामयिक विषयमा केन्द्रित हुनेछ ।
आजको बैठकले हालै पार्टी प्रवेश गरेको वरिष्ठ नेता वामदेव गौतमलाई दिने जिम्मेवारी र स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले दिएको विवादित अभिव्यक्तिबारे निर्णय गर्ने तयारी छ ।
पार्टीको तेस्रो वरियता पाएर नेकपा एसमा भित्रिएका गौतमले सङ्गठन विभाग प्रमुख मागेका छन्। तर, अध्यक्ष माधव नेपाल सकारात्मक छैनन्।
यस्तै, अध्यक्ष विरुद्ध बोलेको भन्दै पार्टीले सोधेको स्पष्टीकरणको झाँक्रीले आत्मालोचनासहित जवाफ फर्काइसकेकी छन्। आजको बैठकले त्यसबारे पनि निर्णय गर्नेछ।
बैठकमा अध्यक्ष नेपाल र सम्मानित नेता झलनाथ खनालबीच चलेको अन्तरसंघर्षबारे पनि छलफल हुनेछ। यसअघि नै पार्टीभित्र छलफल गर्ने भन्दै दुई नेताबीच सार्वजनिक रूपमा आरोप प्रत्यारोप नगर्ने सहमति बनेको थियो।

Leave a Reply