दाङ । सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) थमन विकको हत्याका अभियुक्त देवेन्द्र यादवलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसमा भित्र्याएका छन् । एक कार्यक्रमबीच देउवाले उनलाई कांग्रेसमा प्रवेश गराएका हुन् ।
यादवको पार्टी प्रवेश कार्यक्रममा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा पनि सहभागी थिए । यस्तै, सहमहामन्त्री महेन्द्र यादव, महोत्तरी ४ बाट निर्वाचित सांसद महेन्द्रकुमार राय, कांग्रेस मधेश प्रदेशका सभापति कृष्ण यादव र कांग्रेस महोत्तरी सभापति नागेश्वर यादवको उपस्थिति रहेको थियो ।
यादव लामो समयदेखि प्रहरीको फरार सुचीमा रहेका छन् । उनको मुद्दा भने महोत्तरी जिल्ला अदालतमा मुल्तवीमा छ । प्रहरीले पक्राउ गरेर अदालतमा पेश गरेपछि मुद्दामा सुनवाइ हुने जिल्ला अदालत महोत्तरीका रजिस्टार नुतन झाले बताए ।
उनले भने, ‘उहाँ थम्मन विक हत्याको अभियुक्त हो । पक्राउ नपरेकाले फैसला हुन सकेको छैन । पक्राउपूर्जी जारी भएको धेरै अगाडि हो । प्रहरीले पक्राउ गरेर अदालतमा पेश गरेपछि उहाँको मुद्दामा सुनुवाइ हुन्छ ।’
प्रहरी पक्राउ गरेर अदालतमा नबुझाएकाले मुद्दा मुतलवीमा राखिएको उनको भनाइ छ ।
महोत्तरीका काँग्रेस सभापति नागेश्वर यादवले देवेन्द्र यादव हत्या अभियुक्त भएको बारेमा आफूलाई जानकारी नभएको दावी गरेका छन् ।
‘उहाँ हाम्रो पार्टीमा प्रवेश गरेको साँचो हो, हत्या अभियोग लागेको बारेमा मलाई केही जानकारी छैन,’ उनले भने ।
मधेश आन्दोलनका क्रममा २०७२ भदौ २५ गते आन्दोलनकारीले असई विकको हत्या गरेका थिए । हत्या भएको ३ वर्षपछि २०७५ साउन २८ गते २८ जनाविरुद्ध कर्तव्यज्यान मुद्दा दर्ता भएको थियो । विकको हत्यामा महोत्तरी जिल्ला अदालतले २०८० मंसिर २८ गते ७ जनालाई जन्मकैदको सजाय सुनाएको थियो ।

Leave a Reply