अमेरिका पलायन भए चर्चित संगीतकार आशिष अविरल

काठमाडौं । संगीतकार आशिष अविरल अमेरिका पलायन भएका छन् । नेपालमा दशकौंदेखि सांगीतिक कर्ममा सक्रिय रहेका अविरल ग्रीन कार्डमार्फत् अमेरिका पलायन भएका हुन् ।

उनी एक छोरासित अमेरिकामा कागजपत्र मिलाउन केही महिनादेखि व्यस्त छन् । अब ग्रीन कार्डको प्रक्रिया अन्तिम चरणमा रहेको उनले बताए । एक छोरासित अमेरिका गएका उनको नेपालमा श्रीमती र एक छोरा छन् । उनीहरु पनि अब छिट्टै अमेरिका जानेछन् ।

अमेरिकाको मेरिल्याण्ड राज्यमा बसिरहेका अविरलले भने, ‘नेपालमा केही कुराको पनि सुरक्षाको ग्यारेन्टी राज्यले गर्न सकेन । म मेरा सन्तानको भविष्यका लागि भए पनि बाहिरिनुपर्‍यो ।’

सरकारमा जो आए पनि आममानिसकको हालत उस्तै हुने भएपछि आफूले बाध्य भएर नेपाल छाड्न परेको उनले बताए । तर, सांगीतिक कर्म भने जहाँ रहे पनि गरिरहने अविरलले बताए । उनले भने, ‘सांगीतिक कर्म त जहाँ पुगे पनि छाड्दिनँ । अन्तिममा मैले गर्ने भने नेपाली गीत संगीत नै हो ।’

अविरलले १० हजार हाराहारीको गीतको एरेन्ज गरेका छन्, दर्जानौं सुपरहिट गीतमा संगीत भरेका छन्, गीत लेखेका छन् । आधा दर्जन सुपरहिट गीतहरुको गायक समेत हुन् । झण्डै ६ करोडले युट्युबमा हेरेको ‘काले केटाले’ बोलको गीतमा संगीत, स्वर एरेन्ज, मिक्सिङदेखि मास्टरिङसम्म अविरलकै हो । ‘ए मेरो हजुर ३’को ‘परान परान’, बीचमा ‘छुनुमुनु’ जस्ता गीतमा पनि आशिषले स्वर भरेका छन् ।

‘नाईं मलाई था छैन’, ‘माया लुकी लुकी’ जस्ता डान्सिङ गीतका संगीतकार हुन् । ‘छातीमा हात राखेर’ जस्ता जातीय विभेदविरुद्धको गीतको गीतकार, संगीतकार पनि आशिष नै हुन् । नरेन्द्र प्यासीद्वारा स्वरबद्ध ‘तिमीविनाको जीवन’ र ‘तिमीले दिने माया’को संगीतकार पनि अविरल नै हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *