ललितपुर । नेपालमा कुष्ठरोगको इतिहास राणाकालीन समयदेखि सुरु भएको मानिन्छ ।
सन् १८५७ मा तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले ललितपुरको खोकनामा कुष्ठरोगी व्यवस्थापनका लागि झुपडीको रूपमा ‘कुष्ठरोगीखाना’ स्थापना गनुभएको थियो । हाल यो स्थान नेपाल कुष्ठरोग निवारण सङ्घको मातहतमा रहेको खोकना कुष्ठरोग आरोग्य आश्रमको रूपमा परिचित छ ।
ललितपुरको खोकना र काठमाडौंको दक्षिणकाली नगरपालिकालाई जोड्ने झोलुङ्गे पुलमुनिबाट बग्ने वाग्मती नदीको किनारमा रहेको यस आश्रममा हाल १३३ जना कुष्ठरोग प्रमाणित व्यक्ति बस्दै आएका छन् । आश्रममा नेपाल कुष्ठरोग निवारण सङ्घको नाममा २८ रोपनी र थप ३० रोपनी सरकारी जमिन गरी करिब ५८ रोपनी क्षेत्रफलमा फैलिएको छ ।
खोकना कुष्ठरोग आरोग्य आश्रमकी प्रमुख लक्ष्मी श्रेष्ठका अनुसार आश्रममा हाल बस्दै आएका १३३ जनाभन्दा बढी बिरामीलाई राख्न सकिने ठाउँ छैन । नयाँ व्यक्तिहरू भर्ना हुनका लागि आउने गरे पनि कोटा र कोठाको अभावले गर्दा धेरैलाई फर्काउनुपरेको छ । कुनै बिरामीको निधन भएपछि वा उनीहरूले कोठा छोडेपछि मात्र नयाँ व्यक्तिलाई भर्ना गरिन्छ ।
आश्रममा हाल २१ देखि ९६ वर्ष उमेर समूहका कुष्ठरोग प्रमाणित व्यक्ति छन् । तर, बाबुआमा निधन भएपछि उनका सन्तानले त्यहीँ बस्न नपाउने व्यवस्थाले समस्याको घेरो अझै बढाएको छ । प्रमुख श्रेष्ठ भन्छन्, “बाबाआमा नभएपछि आश्रममा बस्न नपाउने सन्तानको दयनीय अवस्था हुन्छ । उनीहरू कतै जान नपाउने भएर बिचल्लीमा पर्छन् ।”
विसं २०५२ अघि विभिन्न दातृ निकायबाट पुनर्वासको व्यवस्था हुने गरेको भए पनि त्यसपछिको समयमा यस्तो पहल नहुनु गम्भीर समस्या बनेको छ । ‘आल्टा नेपाल’ नामक संस्थाले ६० परिवारको पुनर्वास गरे पनि हालसम्म सो पहल स्थगित भएको छ ।

Leave a Reply