पोखरा । राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीको सम्मानार्थ गृहजिल्ला म्याग्दीमा उनको शालिक बनाइने भएको छ । जिल्ला खेलकुद विकास समितिले अरुणाको सम्मान स्वरुप शालिक बनाउन लागेको हो ।
बेनी नगरपालिका–८, कालिपुल क्षेत्रमा खेलकुद विकास समितिको स्वामित्व रहेको जग्गामा उक्त शालिक बनाउन लागिएको समितिका कोषाध्यक्ष नगेन्द्र मल्लले जानकारी दिए । केही दिनमा डिपिआर तयारी गरी प्रक्रिया अघि बढाइने कोषाध्यक्ष मल्लले बताए ।
करिब १० देखि १२ लाखको खर्चमा शालिक निर्माण गर्न लागिएको समितिले जनाएको छ । ‘हामीले १० देखि १० देखि १२ लाखसम्मको खर्चमा बन्ने गरी शालिक बनाउन लागेका हौं,’ कोषाध्यक्ष मल्लले भने, ‘स्रोत देशविदेशीमा रहनुहुने भलिबलप्रेमी म्याग्देलीबाट जुटाउनछौं । त्यसमा पुगअपुग समितिबाट खर्च गर्छौं ।’
रघुगंगा गाउँपालिका–३,पिप्लेमा जन्मिएकी शाहीले सन् २०१३ देखि भलिबलमा नेपालको प्रतिनिधित्व गर्दै आएकी छन् । उनले सन् २०१९ बाट नेपालको नेतृत्वसमेत गर्दै आएकी छन् । शाहीकै कप्तानीमा नेपालले वुमन्स सेन्ट्रल जोनको उपाधि, दक्षिण एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक, काभा वुमन्स भलिबल नेसन्स लिगमा रजत पदक र काभा वुमन्स भलिबल च्यालेन्ज कपमा कांस्य पदक हात पारेको थियो । भलिबलमा अरुणाको योगदानको सम्मानमा शालिक निर्माण गर्न लागिएको कोषाध्यक्ष मल्लले बताए ।

Leave a Reply