काठमाडौं । विशेष अदालतले बागमती नगरपालिकाको करोडौं रुपैयाँ बराबरको नदीजन्य पदार्थ हिनामिना गरेको ठहर गर्दै नगरपालिकाका प्रमुख भरतकुमार थापासहित तीनजनालाई ८ वर्ष कैद र २० करोड रुपैयाँ जरिवानाको फैसला सुनाएको छ ।
विशेष अदालतका अध्यक्ष न्यायधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीश मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले नगर प्रमुख थापासँगै विमलकुमार पोखरेल र सागर पौडेललाई दोषी ठहर गरेको हो ।
फैसलाअनुसार, उनीहरुले बागमती नगरपालिकाको ३० करोड २९ लाख ३४ हजार ८९७ रुपैयाँ ४० पैसा बराबरको नदीजन्य पदार्थ हिनामिना गरेका थिए। उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम दोषी ठहर गरिएको हो ।
अदालतले प्रत्येक दोषीलाई ८ वर्ष कैद सजायका साथै १० करोड ९ लाख ७८ हजार २९९ रुपैयाँ १३ पैसा जरिवाना र बिगो बराबरको रकम असुल उपर गर्न आदेश दिएको छ । साथै, अपराध पीडित संरक्षण ऐन, २०७५ बमोजिम प्रत्येक प्रतिवादीबाट ४० लाख ३९ हजार १३१ रुपैयाँ ९७ पैसा क्षतिपूर्ति राहत कोषमा दाखिला गर्न पनि आदेश दिइएको छ ।

Leave a Reply