काठमाडौं । प्रहरी प्रधान कार्यालयद्वारा मंगलबार प्रकाशित सरुवामा जान एक डीएसपीले अस्वीकार गरेपछि अर्का डीएसपी खटिएका छन् ।
काठमाडौं उपत्यका प्रहरीको छानवीन शाखामा दरबन्दी भएका डीएसपी प्रल्हाद कार्की आकर्षक मानिने प्रहरी बृत्त, सिंहदरबार सरुवा भएका थिए । २०६४ सालमा इन्स्पेक्टर दर्जामा भर्ना भएका उनका प्रायः व्याची जिल्ला प्रहरी प्रमुखको जिम्मेवारीमा छन् । आकर्षक भनिए पनि अत्यधिक तनावयुक्त सिंहदरबार बृत्तको जिम्मेवारी उनले अस्वीकार गरेका हुन् ।
उनले बुधबार नै आफू उक्त सरुवामा जान असमर्थ रहेको जानकारी प्रहरी प्रधान कार्यालयलाई एक निवेदनमार्फत दिएका थिए । त्यसपछि अर्का डीएसपी जनार्दन घिमिरे काजमा त्यहाँ खटाइए । उनी २०७० का इन्स्पेक्टर तथा २०८० चैतमा डीएसपी बढुवा भएका अधिकृत हुन् । उनले इन्स्पेक्टर हुँदा बनेपास्थित जिल्ला ट्राफिक, काभ्रेको कमाण्ड गरेका थिए ।
यसअघि सिंहदरबार बृत्तबाट डीएसपी गंगाप्रसाद पौडेल ११ महिनामै केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) मा काज गएका थिए । उक्त बृत्तको कार्यक्षेत्र बागबजार, कालिकास्थान, अनामनगर, बबरमहल, माइतीघर मण्डला, थापाथली, त्रिपुरेश्वर हुन् ।
त्यहाँ दिनहुँ सर्वसाधारणदेखि विशिष्ट व्यक्तिको अत्यधिक आवतजावत, जुलुस, धर्ना र विभिन्न किसिमका हड्ताल हुने कारण प्रहरी ड्युटीमा जान हिच्किचाउँछन् ।

Leave a Reply