प्रधानमन्त्रीलाई वर्षामानको प्रश्नः ‘प्रमाणित अभियुक्त’ लाई गृहमन्त्री कसले बनाएको ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री केपी ओलीले रास्वपा सभापति रवि लामिछानेमाथि गरेको टिप्पणीको प्रतिवाद गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै भिजिट भिसामा विदेश गएर उतैको नागरिकता लिएर उताको नागरिकता नत्यागी नेपाल फर्किएको व्यक्तिलाई कसले गृहमन्त्री बनाएको ? भन्दै प्रश्न गरे।

उनले भने, ‘भिजिट भिसामा विदेश गएर उतैको नागरिकता लिएर, उताको नागरिकता नत्यागी नेपाल फर्केर मन्त्रीसम्म भएका प्रमाणित अभियुक्तहरू र भिजिट भिसामा गएर उतै दुई दुई पटक बिहे गरिसकेका व्यक्तिहरूले समेत अन्तर्राष्ट्रिय विमानस्थलमा प्लेन चढ्ने सबै नागरिकलाई ‘बेचिएको’ भन्ने भाष्य स्थापित गर्न खोजिरहेका छन् । यो मेरो भनाइ होइन, सम्माननीय प्रधानमन्त्रीज्यूले संसद्को रोष्ट्रममा उभिएर दिनुभएको अभिव्यक्ति हो । उहाँले लगाएका आरोपको सत्यता पुष्टि गर्ने जिम्मेवारी उहाँकै हो। तर, प्रधानमन्त्रीज्यू ‘भिजिट भिसामा विदेश गएर उतैको नागरिकता लिएर, उताको नागरिकता नत्यागी नेपाल फर्केर मन्त्रीसम्म भएका प्रमाणित अभियुक्त’ लाई सरकारी टेलिभिजनमा जागिर कसले लगाएको रहेछ ? कसले गृहमन्त्री बनाएको रहेछ ?’

पासपोर्ट छपाई जस्तो संवेदनशील ठेक्कामा मिलेमतो गरेर प्रधानमन्त्री र काँग्रेस सभापतिनिकट विवादास्पद व्यापारीलाई सुम्पिने काम भएको भन्दै पुनले आपत्ति जनाए । पोखराको १ सय ३५ रोपनी लिची बगैँचा हडप्न गरिएका घूस डिलका श्रृंखलाबद्ध भिडियोहरू बजारमा छ्यापछ्याप्ती भए पनि घूस डिलमा संलग्न मन्त्रीलाई आडमै राखेर प्रधानमन्त्रीले ‘भ्रष्टाचार गर्दिनँ, गर्न दिन्न भनिरहेको उनको आरोप छ।

‘भ्रष्टाचारीको अनुहार हेर्दिन भन्ने प्रधानमन्त्रीज्यूले मन्त्रिपरिषद् बैठकमा काण्डै काण्डमा मुछिएका मन्त्रीहरूको अनुहारतिर हेर्ने गर्नुभएको छ कि छैन ?’, उनले प्रश्न गरे।

कांग्रेस र एमाले मिलेर सरकार चलाए पनि युवाहरूको निराशा सम्बोधन गर्ने बनावटी कुरा गरेर, मुख चलाएर नहुने पुनले बताए । पुनले दुई दलबीच गत वर्ष भएको सात बुँदे सहमतिअनुसार संविधान संशोधन नभएकोमा पनि प्रश्न गरे।

उनले थपे, ‘अनि कहाँ पुग्यो संविधान संशाेधनको कुरा ? सरकार गठन गर्दा निकै रोइलो गर्नुभएको थियो रु खासमा तपाईँहरू संविधान संशोधन होइन, संविधान सकाउने बाटोमा हुनुहुन्छ । तपाईँहरूकै कारण अहिले यसरी नागरिकमा निराशा छाएको छ । तपाईँहरूकै दलभित्र चर्को असन्तुष्टि र आक्रोश छ । केही गर्न खोज्ने मन्त्रीहरू नै हात बाँधिएर टुलुटुलु तपाईँको सुशासन हेरिरहेका छन् । संसदीय समितिको समेत हुर्मत लिने काम तपाईँहरूले गर्नुभएको छ । कार्यपालिकाको निरंकुशताले लोकतन्त्रको आधारभूत मान्यता शक्ति पृथकीकरण अहिले कोमामा पुगेको छ।’

उनले प्रधानमन्त्रीले सरकारको जतिसुकै प्रशंसा गरेपनि डेलिभरी सिस्टम पुरै फेल भइसकेको जिकिर गरे।

उनले भने, ‘बिचौलिया, दलाल र माफियाहरूका लागि साँझ बिहान आरती गर्ने तपाईँको क्रियाकलाप झनै बढेको छ । तपाईँका उपलब्धिका सूचीहरू हेर्दा आम जनमानसले नमिठो अट्टहास मात्रै गर्छ । र, झन् निराशाको साम्राज्य फैलाउने काम गरेको छ । तपाईँहरूले जति दाबी गरेपनि सरकारको डेलिभरी सिस्टम पुरै फेल भइसकेको छ , पुरै दलालहरूको चङ्गुलमा परिसकेको छ । तपाईँहरूका हरेक निर्णय नियतवश निश्चित स्वार्थ समूहका लागि हुने गरेका छन् । तपाईँहरूले विश्वविद्यालयहरूलाई भर्ती केन्द्र बनाउनुभएको छ । हाकाहाकी न्यायालयलाई भागबन्डाको मैदान बनाउनु भएको छ । कर्मचारीतन्त्रलाई दोहन गर्नुभएको छ । संसदीय मर्यादामाथि ठाडो आक्रमण गर्नुभएको छ ।’

Comments

2 responses to “प्रधानमन्त्रीलाई वर्षामानको प्रश्नः ‘प्रमाणित अभियुक्त’ लाई गृहमन्त्री कसले बनाएको ?”

  1. ksp pyl Avatar
    ksp pyl

    अपराध थाहा नहुदा त बनाईहालिन्छ नि । भोलि तिमी सुन तस्करीमा मुछियौ भने ओलिलाई तिमीले म सुन तस्करलाई किन अर्थमन्त्री बनाएको भनेर प्रश्न सोध्छौ ? अलिकति दिमाग लगाउन भाइ , छ भने ।

    1. samir Avatar
      samir

      अपराध केही छैन । बरु अपराधी कालो काङ्ग्रेस र भ्रष्ट एमाले नै हुन!

Leave a Reply

Your email address will not be published. Required fields are marked *