काठमाडौं । खेलको दुनियाँमा एउटा अंग्रेजी शब्द हुन्छ, ‘ट्र्यास टक’ । यसको अर्थ हो, विपक्षीलाई गिराउने गरी भनेर मानसिक रुपमा कमजोर बनाउनु । ट्र्यास टकमा खेलाडीहरुले विपक्षीको निजी कुरा, कमजोरी, पारिवारिक कुरा, देशकै कुरा झिकेर घोचपेच गर्छन् ।
यस्तो गतिविधि विशेष गरेर बक्सिङमा देखिन्छ । फाइट अगाडि खेलाडीहरुले प्रेसमिट, फेसअफहरुमा ट्रयास टक गर्छन् । यस्ता गतिविधिको एकै उद्देश्य हो, विपक्षी खेलाडीको मनोबललाई कमजोर बनाउनु, उसको आत्मविश्वासलाई गिराइदिनु । किनभने हरेक खेलकुदमा मानसिकता र आत्मविश्वासको ठूलो भूमिका हुन्छ ।
नेपाली एमएमए फाइटर रवीन्द्र ढाँटलाई मानसिक रुपमा गिराउन भारतीय फाइटर चुङरेंगाेले कोरेंगले यही ट्रयास टकको प्रयोग गरे । उनले भने, ‘यो बच्चै छ, यसको दिमागलाई पहिले सिध्याइदिन्छु, दोस्रो राउण्डमा यसको शरीर फिनिस गरिदिन्छु ।’
तर, ट्र्यास टकमा जस्तो शब्दहरु प्रयोग गरे पनि फाइट हुँदा तेस्रो राउण्डमा ढाँटले कोरेंगेलाई नकआउट गरिदिए । म्याट्रिक्स फाइट नाइट (एमएफएम) ब्यान्टमवेट च्याम्पियन बने । च्याम्पियन बनेर आएका उनलाई नेपाल सरकारले पाँच लाख राशी पुरस्कारले सम्मान समेत गर्यो ।
उनै ढाँटले आफ्ना प्रतिस्पर्धी कोरेंगोको विषयमा एउटा रोचक खुलासा गरेका हुन् । एक पोडकास्टमा उनले कोरेंगेसँगको फाइट अघि र पछिको गतिविधिबारे खुलेर कुरा गरेका थिए ।
यसपटकको फाइटमा आफूलाई ‘नर्भसनेस’ महसुस नै नभएको बताउँदै उनले भनेका छन्, ‘कतिखेर मेरो फाइट आउलाजस्तो मात्रै लागिरहेको थियो । वार्मअप रुममा बसेर अरुको फाइट हेरिरहेको थिएँ, क्याण्डिक्रस खेलिरहेको थिएँ ।’
कोरेंगेअघिको फाइटमा चाहिँ आफूलाई नर्भसनेस फिल भए पनि यसपटक त्यस्तो नभएको बताए । ‘तुलनात्मक रुपमा कोरेंगे बलियो थियो, तर मलाई भित्रैदेखि हार्दिनँ भन्ने फिल आइरहेको थियो’, ढाँटले भनेका छन् ।
फाइटपछि आफूले ‘फाइट यस्तै हो, सरी’ भन्दा कोरेंगेले मिडियामा आफ्नोबारे केही नभन्न अनुरोध गरेको बताएका छन् । ढाँटका अनुसार कोरेंगेले आफूले फाइट अगाडि जे जति बोलेको, सबै कुराको लागि माफी दिन अनुरोध गर्दै भनेका थिए, ‘कुछ मत बोल्देना मेरेबारे में अभी, क्यु कि मेरे बाप भी नेपाली है !’
ढाँटले भनेका छन्, ‘कोरेंगेले यसो भन्दा मलाई गाह्रो भएको थियो । किन सेलिब्रेसन गरेछु भन्ने लागेको थियो । ऊ पनि राम्रो मान्छे हो ।’
मेडिकल रुममा पनि भेट हुँदा मिडियामा आफ्नोबारे नराम्रो केही नभन्न पुनः अनुरोध गरेको बताउँदै ढाँटले थपेका छन्, ‘मेरो हात तानेर चुम्मा गर्यो । अनि मलाई पनि लाग्यो, मिडियामा उसको नराम्रो केही बोल्दिनँ ।’
अहिलेसम्मको सबैभन्दा गाह्रो फाइट नै कोरेंगेसँग भएको उनको दाबी छ । रिङ (केज)भित्र आफू थाकेका कारण जितको सेलिब्रेट गर्ने जोश पनि नभएको समेत बताएका छन् । आफूलाई फरक तरिकाले जितको सेलिब्रेसन गर्ने मन भए पनि कोरेंगेले ‘बच्चा’ भनेको कुरा दिमागमा आएपछि बच्चाले जसरी बुढी औंला च्यापेर सेलिब्रेट गरेको बताए ।
ढाँटले पनि कोरेंगेको केही पन्च खाएका थिए । ती पन्चले रिङभित्र हुँदा त्यति केही महसुस नभए पनि अर्को दिन खाना चपाउँदा मुख दुखेको समेत बताएका छन् । आफूले पैसाको लागि नै ज्यान दाउमा राखेर खेलेको उनको भनाइ छ ।
ढाँटले भनेका छन्, ‘मलाई खासमा बेल्टसित मतलबै थिएन । मलाई त फाइट जित्नु थियो, पैसा कमाउनु थियो ।’
बझाङका ढाँट बझाङको बाघ उपनामले समेत परिचीत छन् ।

Leave a Reply