चैतन्य मिश्रका जेहेनदार विद्यार्थी : ३.८७ जीपीए

त्रिभुवन विश्व विद्यालयमा प्राध्यापक डा. चैतन्य मिश्र एक दिन समाजशास्त्र एमफीलका विद्यार्थीलाई पढाउँदै थिए । उनको क्लास थियो, नेपालमा कसरी पूँजीवाद भित्रियो ?

डा. चैतन्य मिश्र नेपालका टप मानिएकामध्ये एक प्रोफेसर । समाजशास्त्रीय चिन्तक । बीसौँ पुस्तकका लेखक अनि राष्ट्रिय योजना आयोगको उपाध्यक्ष पनि भइसकेका ज्ञाता । सामान्यतया उनीसँग कक्षामा विद्यार्थीले तर्कवितर्क गर्दैनन् ।

तर, त्यस दिनको एमफील समाजशास्त्रका एक विद्यार्थीले प्राध्यापक डा. चैतन्य मिश्रका क्लासमा राय फरक राखे । विषय थियो नेपालमा पूँजीवाद । मिश्रले व्यापारको थालनी भएदेखि नै नेपालमा पूँजीवादको उदय भएको तर्क राखे । अझ थप्दै बेलायतसँग र अरु हिसाबले व्यापार भित्रिएपछि नेपालमा पूँजीवाद आएको उल्लेख गरे ।

प्रा.डा. मिश्रको यो भनाइमा सवाल गर्दै एक विद्यार्थी उठे । उनले भने, म यस विषयमा सहमत छैन ।

त्यसपछि उनले आफ्नो भनाइ राखे- त्यो समय व्यापारको मात्रै थियो । नेपालमा उत्पादनको पद्दति बसाउने उद्योगधन्दा नै स्थापना भएको थिएन । र, व्यापार मात्रैले मजदुर र पूँजीपति जन्माउँदैन । त्यहाँ क्रेता र बिक्रेता मात्रै हुन्छन् । पूँजीवाद हुन मजदुर र मालिकको सम्बन्ध हुनुपर्छ कि पर्दैन ?

अझ उनले थपे- नेपालमा पहिलोचोटी सन् १९३६ मा मात्रै उद्योग खुल्यो । उद्योग परिषद् बन्यो । उद्योगसम्बन्धी कानून बन्यो । उद्योगमा लगानी गर्न नेपाल बैंक लिमिटेड खुल्यो । बैंकले लगानीको लागि वित्तीय व्यवस्था पनि गर्‍यो । त्यसपछि मात्रै हाम्रो देशमा पूँजीपति र मजदुर क्लासको जन्म भयो । आकार सानो वा ठूलो जेसुकै होला तर नेपालमा आफ्नै प्रकारका विशेषता भएका बिराट जुटमिल लगायतका उद्योगको उदय भयो । हिजोसम्म जोतिखाने किसान थियो भने अब कारखानामा आधुनिक मेसिन चलाउने नयाँ वर्ग देखा पर्‍यो । त्यसपछि मात्रै नेपालमा पूँजीवाद भित्रिएको भन्ने मलाई लाग्छ ।

विद्यार्थीको लामो व्याख्या सुनेपछि प्राध्यापक डा. मिश्र केहिबेर घोत्लिन बाध्य भए । तर, उनले कुनै जवाफ दिएनन् । २०८० सालमा भर्ना भएको त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र एमफिल ब्याचमा यस्तो तर्कवितर्क निरन्तर चलिरह्यो । यसैगरि क्लास अघि बढिरहे । अन्ततः प्राध्यापक मिश्रलाई हायलकाल बनाउने उमेरले ६५ वर्षीय विद्यार्थी नै एमफीलमा प्रथम भए । ती विद्यार्थी अरु कोही नभएर सुरेन्द्र पाण्डे थिए, जो सत्तारुढ पार्टी नेकपा एमालेका उपाध्यक्ष र नेपालका पूर्वअर्थमन्त्रीसमेत हुन् ।

०००

पाण्डे २०८० सालको एमफील ब्याचमा प्रथम भएर सिधै पीएचडी भर्ना भएको महिना बितिसकेको छ । तर, अहिलेसम्म यो सन्दर्भ गुपचुप नै थियो । पाण्डेले न सामाजिक सञ्जालमा लेखे, न निकट पत्रकारहरूमार्फत प्रचार प्रसार नै गराए । नेपाल प्रेसले पहिलोपटक अस्ति यो समाचार सार्वजनिक गरेपछि उनलाई बधाई र शुभकामनाको ओइरो लागिरहेको छ । पाण्डेले मात्र नभएर उनकी धर्मपत्नी पूर्णशोभा चित्रकारले समेत श्रीमानसँगै एमफील गरेर तेस्रो स्थानमा आइन् । यो झनै प्रेरणादायी छ ।

एमफीलमा प्रथम, दाेस्राे र तेस्राे भएका सुरेन्द्र पाण्डे, हेलिना राई र पूर्णशाेभा चित्रकार (दायाँबाट क्रमश:)

पाण्डेले नेपालमा एआईले ल्याएको विभाजन, त्यसको असर, समाधान गर्न राज्य अपनाउनुपर्ने नीति निर्माणमा केन्द्रित भएर समाजशास्त्रीय दृष्टिकोणबाट पीएचडी गर्दैछन् । अहिले पीएचडीको प्रस्तावना (प्रपोजल) निर्माणको तयारी जुटेका छन् उनी ।

पाण्डे पीएचडी ढोका खोल्ने एमफील भर्ना हुन जाँदाखेरि प्राध्यापकहरू आश्चर्यमा परेका थिए । उनलाई सहजै विश्वास गरिएन ।

प्राध्यापकले सोधेका थिए, ‘तपाईँ नियमित पढ्न आउनुहुन्छ त ?’

यो प्रश्न सोध्ने प्राध्यापक पनि डा. चैतन्य मिश्र नै थिए । उनको आशय पाण्डेजस्तो व्यस्त राजनीतिज्ञले पढ्ने समय कसरी व्यवस्थापन गलान् र भन्ने थियो ।

पाण्डे सम्झिन्छन्- उहाँले रेगुलर आउन सक्नुहुन्छ भन्दा मैले सकेसम्म कोसिस गर्छु भनेँ । त्यतिबेला नै ग्यारेन्टी गर्न त सकिएन ।

एमफीलका लागि छनोट भएपछि पाण्डेले आफूलाई एक अनुशासित विद्यार्थीको रूपमा ढाले । हप्तामा ४ दिन आइतबारदेखि बुधबारसम्म बिहान ४ घण्टा (६ देखि १० बजे) पढाइ हुन्थ्यो । उनले कुनै एक दिन पनि कक्षा छुटाएनन् । बरु शिक्षकहरूका कारण एक-दुई दिन पढाइ नभएर फर्किएको उनको सम्झनामा छ ।

पाण्डेले कुनै पनि दिन असाइनमेन्ट नबुझाएको भन्ने पनि भएन । यता गतिविधिहरूबाट पनि उनी टाढा रहेनन् । पार्टीका हरेक बैठकहरूमा सहभागी भए ।

‘असाइन्मेन्ट भएको दिन राति २/३ बजेसम्म पनि पढ्नुपर्थ्यो । क्लास हुँदै कहिले २० पेज, कहिले ६०/७० पेजको पढ्ने विषय हुन्थ्यो हामीलाई,’ उनले भने, ‘पढ्ने भएपछि मैले आफूलाई विद्यार्थीभन्दा माथि कहिल्यै ठानिनँ । म केबल विद्यार्थी भएर पढिरहेँ ।’

पाण्डेलाई डा. चैतन्य मिश्रले दिएको सूत्र नै काम लाग्यो । असाइन्मेन्ट तथा विषयमा पढ्ने कन्टेन्टहरू ६०/७० पेजसम्मको हुने हुँदा पढ्नेमात्रै होइन पढेर बुझ्ने । नबुझेका कुरालाई इन्टरनेट वा पुस्तकबाट समेत खोज्ने । त्यतिबेला उनले मिश्रको त्यही सुत्र सम्झिएर पढे- पढ्ने मात्रै होइन पढाइमा निथ्रुक्क भिज्न सक्नुपर्छ । त्यसैको परिणाम आयो- एमफील ब्याच २०८०, प्रथम । प्राप्ताङ्क ३.८७ जीपीए ।

०००

१५ वर्षको उमेरमा धादिङबाट एसएलसी दिएका पाण्डेले बाँकी पढाइ काठमाडौंबाट गरे । प्रवीणता प्रमाणपत्र तहमा आईकम पढेका उनले स्नातकमा अर्थशास्त्र पढे । स्नात्तकोतर भने अर्थशास्त्र र समाजशास्त्र दुवैबाट गरेको पाण्डेले नेपाल प्रेससँग बताए ।

२०६६ सालमा अर्थमन्त्री हुँदा उनको शैक्षिक योग्यता अर्थशास्त्रमा स्नातक र समाजशास्त्रमा स्नातकोत्तर थियो । त्यसबेला नेपालमा अर्थशास्त्रको विज्ञता भएकाहरूलाई मात्रै अर्थमन्त्री बनाउने प्रचलन थियो । पाण्डेले भने अर्थशास्त्रमा स्नातकोत्तर नगरेको भनेर आलोचना पनि सुन्नुपर्‍यो । अर्थमन्त्री हुँदा आफूले अर्थशास्त्रमा स्नातकोत्तरको पढाइ थालिसकेको भए पनि पास नभएकोले आलोचना खेप्नुपरेको उनी सम्झिन्छन् ।

पाण्डे भन्छन्, ‘मैले लगातार पढेर स्नातकोत्तर पास गर्न पार्टी जिम्मेवारीका कारण सम्भव भएन । पार्टीको बैठकमा काठमाडौं बाहिर जानुपर्ने कारणले परीक्षा छुट्यो । स्नातकोत्तर पढ्न भर्ना भए पनि रेगुलर हुन सकेको थिइनँ,’ उनले भने, ‘पहिलो वर्ष भर्ना भएर एउटा मात्रै परीक्षा दिएँ र अर्को वर्ष एकै पटक परीक्षा दिएर स्नातकोत्तर पास गरेँ ।’

विद्यार्थीको लामो व्याख्या सुनेपछि प्राध्यापक डा. मिश्र केहिबेर घोत्लिन बाध्य भए । तर, उनले कुनै जवाफ दिएनन् । २०८० सालमा भर्ना भएको त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र एमफिल ब्याचमा यस्तो तर्कवितर्क निरन्तर चलिरह्यो । यसैगरि क्लास अघि बढिरहे । अन्ततः प्राध्यापक मिश्रलाई हायलकाल बनाउने उमेरले ६५ वर्षीय विद्यार्थी नै एमफीलमा प्रथम भए ।

अर्थमन्त्री समेत भइसकेका पाण्डेको गृह जिल्ला चितवन हो । उनी चितवन क्षेत्र नम्बर १ बाट दुईपटकसम्म सांसद निर्वाचित भए । २०७९ सालको निर्वाचनमा भने चितवनबाटै हारे । उनलाई त्रिभुवन विश्वविद्यालयको समाजशास्त्रको एमफील विद्यार्थी बनाउने श्रेय पनि चितवनलाई नै जान्छ । पाण्डेकै अनुसार चितवनकै नेकपा एमालेका नेता कपिल पोखरेलको पीएचडी प्रसंगले उनलाई पनि अध्ययनमा तानेको हो ।

एक दिन कुराकानीका क्रममा पोखरेलले आफ्नो पीएचडीको प्रसंग सुनाउँदा पाण्डे पनि त्यसमा लोभिए । पत्नी पूर्णशोभा पनि पढ्न व्यग्र थिइन् । अनि दुवैजनाले भर्नाको आवेदन दिने दुई दिनअघि निर्णय लिएर एमफिलको एउटै कक्षामा भर्ना भए । सँगै छलफल गरेर मध्यरातसम्म सँगै पढे । पाण्डेसँगै चित्रकारले पनि आफूलाई अब्बल बनाइन् । पाण्डे प्रथम हुँदा उनी सोही कक्षाको तेस्रो हुने छात्रा हुन् । अब दुवैजनाले सँगसँगै पीएचडी यात्रा पनि तय गरिसकेका छन् ।

पाण्डेले विद्यार्थी हुँदा कयौँ पटक राज्यको अर्थप्रणालीको कमजोर बिम्ब विश्वविद्यालयभित्र पाए । यतिसम्म कि आफू नेता बनेर ज्ञान बढाउन विश्वविद्यालय छिरिरहँदा आफैँले हाँकेको राजनीतिक दलका भ्रातृ संगठनका कार्यकर्ता विश्वविद्यालयमा ताला लगाएर राजनीतिक करिअर निर्माणमा हिँडिरहेको समेत अनुभव लिए उनले ।

‘म नेता पढ्न गइरहँदा मेरै कार्यकर्ता विश्वविद्यालय ताला लगाएर राजनीतिक करिअर बनाउन हिँडेको पनि पाएँ,’ उनले भने, ‘एमफील अध्ययन यात्रामा राज्य प्रणालीसँगै विश्वविद्यालयको सुधारमा थुप्रै काम गर्नुपर्ने बोध समेत गरेँ ।’

Comments

3 responses to “चैतन्य मिश्रका जेहेनदार विद्यार्थी : ३.८७ जीपीए”

  1. prem khatry, prof TU Avatar
    prem khatry, prof TU

    मानवशास्त्रमा पीएच डी गरेर युएसबाट अाएपछि दरबारिया अाशीर्वादले प्रा डाेर ब. बिस्ट र मेराे प्लान अनुसार मैले यहाँ फिरेपछि समाशास्त्र विभागमा सरूवा हुन पाइन न प्राेमाेशन नै समयमा भाे । फेरि पनि अा्र्केा दरवारियाले फ्याँकयाे , दुख्नैसमम दुख्याे तर कस्लेदेखने दरबार नै लागेपछि। तर त्यस खत्रीलाइजसरी पनि फाल्ने कुकर्ममा लागेका धेरै माथिकाे अादेशबाट भगवानका प्रिय भए । राजनीतिमा लागेका उच्च तहका नेताकाे पढाइबाट वास्तवमै खुसी लाग्याे। त्याे विभागकाे स्थापना गर्न प्रा मिश्रकाे याेगदान छ। २०८० काे दशकमा हाेला पाठ्रय बनाउने काम भाे अनि कक्षा अाए । नयाँ भर्नामा म डीनले अहाेरात्र काम गरेँ । राति कीतिपुरमा नै सुतियाे । थालनीमा खटेकाे विभाग अहिले उच्च रेटिंगमा छ ।

  2. हलुवाकाका Avatar
    हलुवाकाका

    अर्थमन्त्री भएका वखत वहाँको समीप पुगेको थिएँ । करीव १ मीटर दुरी सम्म तर हात मिलाउन पाइन । वहाँले हातमिलाउन चाहानुभएन ।वहाँमा बढी वडप्पन देखिन्छ । राजा महाराजा को छोरा नाति जस्तो स्वभाव !!

  3. Manoj Jargha Avatar

    होईन यिनले गर्या चाँही के हो र यत्रो मिडिया चाकारी ? देश मा बस्त दर्जनी फेलो छन जśले पहिलो पटक गरेर रेकर्ड राखेका छन कसैले देश कै नाम राखेका छन ।यो ले गरेको चाही के हो र मती धेरै मिडिया स्पेस ? टन्न पैसाअ छन्, रेउ गर्नु केहि छैन देश र राज्य को ढुकुटी बाट कुम्ल्याएर बसेका हरु ले न निकाले के गर्ने त ?
    आईन्स्टाइ नै भयो कि आर्किमिडिज बन्यो कि सेक्स पियार भयो कि सुर्य ग्रह मा बस्ने भयो कि ? तातो ना छारो ? बहियात

Leave a Reply

Your email address will not be published. Required fields are marked *