काठमाडौं । अभिनेत्री बेनिशा हमालले डेढ दशकको अभिनय करियरमा वर्षमा सरदर एउटाको हिसाबले चलचित्र खेलिन् । ‘कालो पोथी’ अन्तर्राष्ट्रिय फेस्टिभलहरुमा गयो । ‘छक्का पन्जा ४’ बक्स अफिसमा सफल भयो । बाँकी कतिपय चलचित्रले औसत व्यापार गरे । कतिपय चलचित्रले लगानी उठाउनै सकेनन्, डुबे ।
चलचित्र असफल भए पनि बेनिशा अभिनय कर्ममै लागिरहिन् । काम पनि पाइरहिन् । त्यही नियमितताले दिएको प्रतिफलको अनुभव यसपटक गरिरहेकी छन् । गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘मोहर’ र ‘सिटामोल’ले दर्शकको मन जितिरहेको छ । दर्शकको आँखामा खुसीको आँसु देखेर बेनिशाको मन पनि प्रफुल्ल भइरहेको छ ।
त्यसैले त उनले नेपालप्रेसँग कुरा गर्दै भनिन्, ‘मैले दर्शकसँगको यस्तो सामिप्यता महसुस गरेकी रैनछु, ‘मोहर’ र ‘सिटामोल’बाट दर्शकको त्यो माया अनुभूत गरिरहेकी छु ।’
उसो त ‘छक्का पन्जा ४’मै सफलताको स्वाद चाखिसकेकी थिइन् । तर, त्यो चलचित्र एउटा ब्राण्ड थियो । सीधा भन्दा फ्रेन्चाइज नै थियो । यही कारण ‘मोहर’ र ‘सिटामोल’ले दिएको खुसी अलग्गै खालको भएको बेनिशाको भनाइ छ ।
‘सिटामोल’ले थोरै सुस्त व्यापार गरे पनि ‘मोहर’ले तीन दिनमै एक करोड बढी ग्रस कलेक्सन गरिसकेको थियो । दुवै चलचित्र हेरेर दर्शकहरु भावुक बनेको क्लिपहरु सामाजिक सामाजिक संजालहरुमा प्रशस्तै भेटिन्छन् । बेनिशा स्वयंले पनि दर्शकहरु भावनात्मक भएर रोएको प्रत्यक्ष देखेकी छन् ।
‘चलचित्र हेरेर उहाँहरु रुनुभएको मैले प्रत्यक्ष देखेँ । त्यस्तो देख्दा मलाई पनि गाह्रो भयो,’ बेनिशा सुनाउँछिन्, ‘सिके सिनेमा, सितापाइलामा स्कुलका नानीहरु ‘सिटामोल’ हेरेर धरधरी रुनुभयो । उहाँहरुको आँसु देखेर मलाई पनि कस्तो कस्तो भयो । बनेपाको हलमा पनि त्यस्तै भयो ।’
चलचित्र प्रदर्शन भएको दिनदेखि नै बेनिशा हल भिजिटमा सक्रिय छिन् । ‘सिटामोल’को हल भिजिट हुँदा सौगात मल्ल उनको साथमा हुन्छन्, ‘मोहर’को बेल पल शाह । हलमा भेट हुँदा दर्शकहरुले बेनिशासँग फोटो खिच्छन् सेल्फी लिन्छन् । भेट हुन नसकेका दर्शकहरुले सामाजिक संजालमा म्यासेजहरुको ओइरो लगाउँछन् ।
‘अहिले उहाँहरुको म्यासेजहरु आइरहेको छ, सबैले हाम्रो काम राम्रो भयो भनिरहनुभएको छ । दर्शकहरुको यस्तो मायाको ओइरो पहिलोपटक महसुस गरेकी हुँ,’ बेनिशाले बताइन् ।
बेनिशाको दुखेसो भने आजबाट दुवै चलचित्रलाई बाँडफाँड गरिएको शो संख्यामा छ । आजबाट प्रदर्शनमा आएको बलिउड चलचित्र ‘वार २’ले २३९ शो पाएको छ । ‘कुल्ली’ले १८५ शो पाएको छ । तर, ‘मोहर’लाई जम्मा १३१ शो मात्रै दिइएको छ भने ‘सिटामोल’लाई स्वाट्टै घटाएर ३९ शो मात्रै दिइएको छ । राम्रो माउथ पब्लिसिटी भइरहेको, दर्शकहरुले रुचाइरहेको चलचित्रको शो अचानक घटाइँदा व्यापार प्रभावित हुने देखिन्छ ।
बेनिशालाई पनि वितरकहरु र हल संचालकहरुले गरेको यस्तो खाले विभेद राम्रो लागिरहेको छैन । उनले भनिन्, ‘कम शो दिइएको भन्दै कलाकारहरुले विरोध गर्नुहुन्थ्यो । त्यो पीडा मैले आजबाट महसुस गरेकी छु । चलचित्रको व्यापार राम्रै भइरहेको थियो, दर्शकको साथ पाइरहेकै थियो । तर, अचानक ठूलो मात्रामा शो कटौती गरिँदा पीडा महसुस हुने रहेछ ।’
दुवै चलचित्रले कति व्यापार गर्यो भनेर निर्माताले सार्वजनिक गरेका छैनन् । तर, ‘मोहर’ले भने ग्रस कलेक्सनबाटै लगानी उठाउने आँकलन गरिएको छ । सँगै प्रदर्शन भएका दुई चलचित्रले दर्शकको मन जितेपछि अभिनेत्री हमाललाई पनि राहत मिलेको छ ।

Leave a Reply