डा. रामेश कोइरालाप्रति रवीन्द्र मिश्रको टिप्पणी : मलाई तुच्छतापूर्वक खेदिरहन्थे, तर देश छाडेकोमा दु:खी छु

काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले शहीद गंगालाल अस्पतालका काडियोभास्कुलर विभाग प्रमुख डा. रामेश कोइरालाले देश छोडेकोप्रति सहानुभूति दर्शाएका छन् । आफूप्रति सँधै तुच्छतापूर्व टिप्पणी गरिरहे पनि कोइरालाको पलायनले दुखी बनेको उनको भनाइ छ ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै मिश्रले कोइरालासँग आफ्नो राजनीतिक कुरा कहिल्यै नमिलेको बताएका छन् ।

उनी भन्छन्, ‘डा रामेश कोइराला र मेरो खासगरी राजनीतिक कुरा कहिल्यै मिलेन। मार्ग परिवर्तनु गर्नुअघि पनि मिलेन। उनी मलाई अधिकांश स्थितिमा शुरूदेखि नै अति तुच्छतापूर्वक खेदिरहने थोरै बौद्धिक मध्येका एक थिए।’

आफूले वाध्य भएर कोइरालालाई ट्विटरमा ब्लक गरिदिएको र कोइरालाले पनि आफूलाई तत्कालै ब्लक गरेको मिश्रले सम्झेका छन् ।

‘तर आज उनले गङ्गालाल र देश छोडेर गएकोमा अत्यन्तै दुखी छु। हण्डर–ठक्कर सहेर, सरकारी अस्पतालमा सरकारी तलब खाएर, विदेश गएको भए महिनामैँ दशौँ लाख कमाउने अवसर छाडेर उनी जत्तिको मानिस जसरी नेपाल बसेका थिए र उनले जेजस्तो सेवा दिएका थिए, त्यसको जति प्रशंसा गरे पनि पुग्दैन। म तपाईँलाई नमन गर्छु’, मिश्रले लेखेका छन् ।

यो अवस्था आउनुमा कोइरालाजस्तै विद्वानको चरम राजनीतिक आग्रह उत्तिकै जिम्मेवार रहेको मिश्रको विश्लेषण छ ।

उनले शुभकामना दिँदै लेखेका छन्, ‘जहाँ रहनु हुन्छ, जे गर्नु हुन्छ खुशी र सुखी रहनोस्। धेरैधेरै शुभकामना व्यक्त गर्दछु। यस्तै हुने हो भने देश के होला ।’

अन्त्यमा मिश्रले भनेका छन्, ‘नमरी बाँचे कालले साँचे कुनै दिन तपाईँको तुच्छताका बारे बसेर गफ गर्दै हाँसौँला ।’

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *