काठमाडाैं । ‘रिमै’को टिजर र पोस्टर सेयर नगरेका मुख्य अभिनेता दयाहाङ राईले अन्ततः आज गीत शेयर गरेका छन् । आज सार्वजनिक भएको ‘रिमै’को शीर्ष गीत शेयर गर्दै उनले लेखेका छन्, ‘अहिलेलाई गीत हेरौं र प्रतिक्रिया पाउँ । चलचित्र चाहिँ भदौ २० मा है !’
चलचित्रको निर्माण टिमले भदौ १० गतेसम्ममा सबै प्राविधिक र कलाकारको बाँकी पारिश्रमिक तिरिसक्ने मौखिक वचन दिएपछि आफूले टिजर सेयर गरेको राईले नेपालप्रेसलाई बताए । उनले भने, १० गतेसम्ममा सबैको पारिश्रमिक तिरिसक्ने वचन दिनुभएको छ उहाँहरुले ।’
निर्माण टिमले प्राविधिक र कलाकारको पैसा तिर्न ढिलाइ गरेको थियो । यसपछि निर्माताहरुसँग राई रुष्ट भएका थिए । उनले आफ्नो पारिश्रमिकको कुरा अलग भएको तर, सबै प्राविधिक र डाइरेक्सन डिपार्टमेन्टको बाँकी पारिश्रमिक नतिरेसम्म चलचित्रको प्रचार सामाग्री सेयर नगर्ने अडान लिएका थिए । चलचित्रका निर्माता वीरबल घलेले पनि आफूले चाँडोभन्दा चाँडो सबैको पारिश्रमिक तिर्नलाई जोडबल गरिरहेको बताएका थिए । घलेले भने, ‘हाम्रो आन्तरिक रुपमा एक खालको सहमति भइसकेको छ ।’
चलचित्रको सुटिङकै क्रममा पनि प्राविधिक समस्याका कारण पैसाको व्यवस्था हुन नसकेपछि अभिनेता राई र सिनेम्याटोग्राफर शैलेन्द्र डी कार्कीले पैसा हालेर सुटिङ सकाउन सहयोग गरेका थिए । चलचित्रमा राईको अलवा अर्पन थापा, रिश्मा गुरुङ, गौमाया गुरुङ, माओत्से गुरुङ लगायत कलाकारको अभिनय रहेको छ । खिलबहादुर गुरुङले निर्देशन गरेको ‘रिमै’ आउँदो भदौ २० गतेबाट प्रदर्शनमा आउँदैछ ।

Leave a Reply