काठमाडौं । निर्वाचन आयोगले अन्ततः राष्ट्रिय स्वतन्त्र पार्टीको विवरण अद्यावधिक गरेको छ । पूर्वमहामन्त्री मुकुल ढकालले सर्वोच्च अदालतमा हालेको रिट खारेज भएलगत्तै आयोगले रास्वपाको विवरण अद्यावधिक गरेको हो ।
ढकाललाई कारवाहीलगत्तै गत वर्ष असारमा नै रास्वपाले विवरण अद्यावधिक गर्न निवेदन दिएको थियो । तर, विभिन्न बहानामा आयोगले झुलाइरहेकोमा रास्वपा सन्तुष्ट थिए । आज आयोगले राजनीतिक दलसम्वन्धी ऐन २०७३ को दफा ५१ र राजनीतिक दल सम्वन्धी नियमावली २०७४ को नियम २५ बमोजिम रास्वपाका केन्द्रीय समिति पदाधिकारी तथा सदस्यहरुको हेरफेर भएको अद्यावधिक विवरण अभिलेखिकरण गर्ने र सोको जानकारी पार्टीलाई उपलब्ध गराउने निर्णय गरेको छ ।
अद्यावधिक विवरण अनुसार रास्वपाको केन्द्रीय समितिमा ६२ जना रहेका छ । रास्वपाले उपलब्ध गराएको सुचीअनुसार महामन्त्री डा. मुकुल ढकाललाई कारवाही गरेर हटाइएपश्चात कविन्द्र बुर्लाकोटी महामन्त्री बनेको विवरण पहिल्यै अद्यावधिक भइसकेको देखिन्छ । मनिष झालाई सह प्रवक्ताबाट प्रवक्तामा गरिएको पदोन्नति भने भर्खर अद्यावधिक भएको छ ।
अर्को महत्वपूर्ण परिवर्तन भनेको सहकोषाध्यक्षमा दिपक बोहोराको नाम नयाँ विवरणमा छैन । रास्वपामा बसुमाया तामाङ र बोहोरा दुई सहकोषाध्यक्ष थिए । तर, पार्टीले हालै मात्र एकजना मात्रै सहकोषाध्यक्ष राख्ने निर्णय लिएपछि बाेहाेराले राजीनामा दिएका थिए । हाल बसुमायामात्रै सहकाेषाध्यक्ष छिन् । अद्यावधिक विवरणमा बोहोरा केन्द्रीय सदस्यको हैसियतमा छन् ।
उनको नाम रास्वपामा सहमहामन्त्रीका लागि प्रस्तावित भएको छ । सुमना श्रेष्ठले छोडेपछि खाली रहेको पदमा बोहोरालाई प्रस्ताव गरिएको हो । यसमा निर्णय भइसकेको छैन । यस्तै, सुमना श्रेष्ठको नाम सहमहामन्त्रीबाट भर्खरै मात्र हटेको छ ।


Leave a Reply