सिन्धुपाल्चोक । बासी खाना खुवाएको भन्दै आफ्नै भान्छेलाई निर्घात कुटपिटपछि सेवाबाटै अवकाश दिएका जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा काजमा कार्यरत डीएसपी माधवराज खरेलको सिन्धुपाल्चोकमा नै सरुवा भएको छ ।
नेपाल प्रहरीको कार्यालय सहयोगीमा कार्यरत शंकर कार्कीलाई बासी खाना खुवाएको भन्दै डीएसपी खरेल र प्रहरी निरीक्षक रुपेश शाहाले साउन २२ गते निर्घात कुटपिट पछि तिन दिनसम्म हिरासतामा राखेर सेवाबाटै अवकाश दिएका थिए ।
प्रहरी प्रधान कार्यायले मंगलबार गरेको डीएसपीहरुको सरुवामा खरेल जिल्ला प्रहरी कार्यालयमा नै रहेका हुन् । उनी जिल्ला प्रहरी कार्यालयमा काजमा रहेका थिए । सिन्धुपाल्चोक दरबन्दी भएका नवराज ढुङगेललाई बागमती प्रहरी कार्यालयमा पठाएपछि उनको यही काज सदर भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
डीएसपी र इन्स्पेक्टरको मिलेमतोमा भान्छेलाई निर्घात कुटपिट पछि अवकाशसमेत दिएका खनाललाई पुरस्कार स्वरुप पुन: जिल्लामा नै राखेपछि सिन्धुपाल्चोकका नागरिक समाजका प्रतिनिधिहरु आश्चर्यमा परेका छन् ।
तीन माहिनामा फेर ५ भान्से
जिल्ला प्रहरी कार्यालयमा काजमा आएका डिएसपी माधवराज खरेल वैशाख २४ गते आएका थिए । उनी आए यता ५ भान्छे फेरिसकेका छन् । जिल्ला प्रहरी स्रोतका अनुसार डिएसपी खरेलसँग कोही पनि भान्छे टिक्नै सक्दैनन् । ३ महिनामा ५ भान्छे फेरिसकेका छन्,एकलाई त कुटेर सेवाबाटै बर्खास्तसम्म गरिदिए जिल्ला प्रहरी कार्यालयका एक जुनियर अधिकृत भन्छन्–‘उहाँसँग कोही बस्न नै सक्दैन ।’
यस अघि डिएसपीका लागि एकल भान्साको व्यवस्थापन हुँदै गएपनि जनशक्ति र ठाँउ अभावपछि डिएसपी र तीन प्रहरी निरीक्षकहरुका लागि सामुहिक भान्सा व्यवस्थापन हुँदै आएको छ । लसुन प्याज नखाने भएकाले डिएसीका लागि छुट्टै र प्रहरी निरीक्षकहरुको लागि एकै ठाउँ भएपनि फरक फरक भान्साको व्यवस्थापन गर्नु परेको छ ।
जिल्ला प्रहरी कार्यालयमा हाजिर हुन साथ त्यहाँ कार्यरत भान्छेलाई हटाएर अर्को भान्छे खरेलले राखेका थिए । डीएसपी साबलाई खानेकुरामा केही गर्दा पनि सन्तुष्टी बनाउन नै सकिएन,गाली मात्रै गर्ने भएपछि आफूहरुले छाडेका यस अघिका भान्सेले जानकारी दिए ।
तीन जना भान्छेबाट सन्तुष्ट हुन नसकेपछि इलाका प्रहरी कार्यालय हेलम्बुमा रहेका शंकर कार्की जिल्ला प्रहरी कार्यालयमा काजमा आएका थिए । साउन ८ गते हाजिर गरेर खान पकाउन सुरु गरेका कार्कीलाई १५ गतेबाट नै डीएसपीले अपशब्द बौल्दै गाली गर्न सुरु गरेको पीडित शंकर कार्कीले बताए । १५ गते हाजिर भए, २२ गते त कुटपिट नै गरे, २६ गते बर्खास्त नै गरिदिए’, कार्कीले भने, ‘आफू न्यायका लागि हेटौँडा जान लागेको छु ।’

Leave a Reply