कारागार सुधारका लागि सुहाङ नेम्वाङका ६ सुझाव

काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले कारागार सुधारका लागि ६ बुँदे सुझाव दिएका छन्। कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै कैलाली जिल्ला कारागारमा घटेको घटना आकस्मिक वा अप्रत्याशित घटना नभएको भन्दै सुधारको योजना अघि सारेका हुन्।

उनले भने, ‘यो लामो समयदेखि चेतावनी दिइरहेको व्यवस्थागत विफलताको चरम परिणाम हो। मानव अधिकार आयोगले २०८१ सालको माघ ४ गते र साउन १९ गते दुवै पटक स्पष्ट रूपमा भनेको थियो कि कैलाली कारागारको अवस्था मानव अधिकारमैत्री छैन, तुरुन्त सुधार आवश्यक छ। तर दुर्भाग्यवश, ती चेतावनीहरूलाई बेवास्ता गरियो।’

अघिल्ला वर्षहरूमा पनि कारागारमा मृत्यु, झडप र यातना सम्बन्धी गुनासाहरू आएको भन्दै सरकारले कुनै प्रभावकारी सुधारका कदम चाल्न नसकेको बताए।

उनले थपे, ‘यसले राज्यको उदासीनता र जिम्मेवारीप्रतिको कमजोरी प्रस्ट पार्दछ। हामी केवल घटना घटेपछि प्रतिक्रियात्मक रूपमा प्रतिक्रिया जनाउने परम्परालाई अन्त्य गर्नुपर्छ। हाम्रो संविधानले प्रत्येक व्यक्तिलाई मानव अधिकारको प्रत्याभूति दिएको छ, चाहे उनी कारागारभित्र किन नहोस्। कारागार सजाय दिने स्थान मात्र होइन, सुधार र पुनर्स्थापनाको थलो हुनुपर्छ।’

यी हुन् कारागार सुधारका लागि उनको ६ सुझाव

१. भीड घटाउने तत्काल पहल — वैकल्पिक सजाय, समुदाय सेवा, होम कन्फाइनमेन्ट जस्ता उपाय प्रयोग गरी कैदी सङ्ख्या कम गर्ने।

२. संरचना र क्षमता सुधार — कैलालीसहित जीर्ण कारागार भवनलाई पुनर्निर्माण, आवश्यक कोठा, स्वास्थ्य सुविधा, स्वच्छता र खाना व्यवस्थामा लगानी गर्ने।

३. मानव अधिकार आयोगका सिफारिसको पूर्ण कार्यान्वयन — नियमित स्वतन्त्र निरीक्षण, यातना र दुर्व्यवहारका घटनामा तत्काल अनुसन्धान र कारबाही।

४. सुरक्षा र प्रविधिको उपयोग — पर्याप्त प्रहरी र गार्डको नियुक्ति, डिजिटल प्रवेश नियन्त्रण र स्वास्थ्य निगरानी प्रणाली जडान गर्ने।

५. पुनर्स्थापना कार्यक्रम — कैदीलाई व्यावसायिक तालिम, परामर्श र पुनर्समावेशीकरणका कार्यक्रम सञ्चालन गर्ने।

६. नाइके भाइ नाइकेको प्रावधान विश्वभरी छैन तर तोकेर नै नियमावलीमा राखिएको चिज आश्चर्य लाग्दो विषय हो। होला नियमन र सहजीकरणको लागि यो व्यवस्था ल्याइएको तर यसले विकृति ल्याइरहेको छ कि सोच्न जरुरी छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *